भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा कलेजमा नयाँ नियुक्ति हुनु भएका विभाग र शाखाका प्रमुखहरुको नियुक्तिपत्र हस्तान्तरण कार्यक्रम तथा पदस्थापना कार्यक्रम एक समारोहका बीच कलेजमा सम्पन्न भयो । उक्त कार्यक्रममा कलेज संचालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिले पूँजीवादी पजातन्त्रमा जुनसुकै पार्टी सरकारमा गएपनि जनताको हित नगर्ने, जनताको हितको वितरितका संविधान च्यातिने भएको हुँदा जनताको हितको निम्ति संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।
अमेरिका र बेलायती प्रजातन्त्रको चर्चा गर्दै अहिले देशमा बनेको सरकार संसदीय मूल्य र मान्यता विपरित भएको बताउनुभयो । पटक पटक प्रधानमन्त्री तथा मुख्य मन्त्री परिवर्तन भई रहने, विश्वासको मत बारम्बार लिनु पर्ने अनि कसरी स्थायीत्व हुन्छ भन्नु हुँदै सरकारको स्थायित्वको नित्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था हुनुपर्ने, स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने तथा भक्तपुर नगरपालिकाजस्ता सक्षम स्थानीय तहलाई विश्वविद्यालय संचालनको अधिकार दिनुपर्ने बताउनुभयो ।
नव नियुक्त विभाग एवं शाखा प्रमुखहरुलाई बधाई दिनु हुँदै प्रमुख अतिथि प्रजापतिले भौतिक संरचनाले मात्र कलेजको गुणस्तर मापन नहुने भएकोले आ आफ्नो जिम्मेवारी अनुसार दत्तचित्त भएर लाग्नु आव्हान गर्नुभयो । भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्यमा अगाडि बढिरहेको साथै मेडिकल कलेजसहित ख्वप विश्वविद्यालयको तयारीमा रहेको बताउनु हुँदै जागिरे मानसिकताले भन्दा पनि भावनात्मक रुपमा एक भई लक्ष्य प्राप्तिमा लाग्न अनुरोध गर्नुभयो । २०५६ सालमा ख्वप उमावि स्थापना गर्दा थोरै मात्र विद्यावारिधि गर्नुभएका शिक्षक भएको स्मरण गर्नुहुँदै शुरुवात सानैबाट हुने विस्तारै प्रगति हुँदै जाने बताउनुभयो । भक्तपुर नगरपालिकाले अनुसन्धान केन्द्र स्थापना गरी कलेजहरुसँग समन्वय गरेर अनुसन्धान कार्य अगाडि बढाउने भक्तपुर नगरपालिकाको नीति रहेको पनि उहाँ बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरङ कलेजका प्राचार्य ई. सुजन माकले उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीहरु विदेश जानुले देशको शैक्षिक क्षेत्रमा समस्या उत्पन्न भएको चर्चा गर्दै नगरपालिकाद्वारा संचालित कलेजहरुले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो । कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्रँचार्य ई. सुनिल दुवालले कलेजका हरेक निर्णय एवं कार्यहरु प्रजातान्त्रिक केन्द्रियता अनुसार समूहगत निर्णयबाट हुँदै आएको बताउनुहुँदै विभाग र शाखामा जिम्मेवारी दिनु एउटा नियमित प्रक्रिया भएको बताउन्ुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका उप प्राचार्य डा. सुवेगमान बिजुक्छें, ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य ई. रत्नशोभा प्रजापति, ई. रमेश बाला र सन्जय मानन्धरले नव नियुक्त विभागीय प्रमुखहरुलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिनुभएको उक्त कार्यक्रममा नव नियुक्त विभागीय प्रमुख प्रा.डा. राजु भाइ त्यात, प्रा.डा. चन्दकिरण कवां, ई. आनन्द कुमार मिश्र, श्री भेष बहादुर थापा, ई. चन्द्रकृष्ण प्रजापति, ई. अनिल कासुलाले आफूहरुलाई दिइएको जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

