आवास योजाहरुको सञ्चालनको जिम्मा स्थानीय तहलाई दिनुपर्ने
भक्तपुर । २०८१ असार ११, मंगलबार
काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गत गठित काठमाडौं उपत्यका भौतिक विकास समितिको १८ औं बैठक समितिका अध्यक्ष माननीय शहरी विकास मन्त्री धनबहादुर बुढाको अध्यक्षतामा मंगलबार सम्पन्न भयो ।
उक्त बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा ५.१ बमोजिम तयार गरेको ताथली चलाबु जग्गा एकीकरण आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) सहितको भौतिक विकास योजना सोही ऐनको दफा ५.२ बमोजिम स्वीकृतिको लागि नेपाल सरकारसमक्ष पेश गर्ने निर्णय गरेको छ । साथै सोही बैठकले ताथली चलाबु जग्गा एकीकरण आयोजना सञ्चालन गर्नको लागि आवश्यक पर्ने जग्गा प्राप्ति ऐन २०३४ बमोजिम प्राप्त गरी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा ११ बमोजिम प्राधिकरणलाई जग्गा उपलब्ध गराइदिन नेपाल सरकार (मन्त्रिपरिषद) समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै मन्त्री बुढाले नगरलाई व्यवस्थित गराउने उद्देश्यले काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका विभिन्न ठाउँहरुमा जग्गा एकीकरणको अवधारणालाई अगाडि बढाउँदै आएको बताउनुभयो । प्राधिकरणले भक्तपुर जिल्लाको भक्तपुर नपा वडा नं. ९ र चाँगुनारायण नपा वडा नं. ९ ताथलीमा जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव तयार गरेको बताउँदै आयोजना सञ्चालनले उक्त क्षेत्रको व्यवस्थित रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यकामा जनसंख्या वृद्धिले उपत्यका विश्वमै प्रदूषित सहर, अपराध संख्या वृद्धि, ट्राफिक जाम, खानेपानी हाहाकार भइरहेको हुँदा ठूल्ठूला योजनाहरु सञ्चालन नगरी आवश्यकताअनुसार स—साना आवास योजनाहरु सञ्चालन गर्न स्थानीय तहलाई जिम्मेवारी दिनुपर्ने बताउनुभयो ।
उहाँले काठमाडौं केन्द्रित विकासले उपत्यकाको मौलिकता समाप्त हुने बताउँदै उपत्यका बाहिर स—साना आवास योजनाहरु सञ्चालन गरी बस्ती विकासलाई विकेन्द्रित गरी उपत्यकालाई सांस्कृतिक केन्द्रको रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
आवास योजना सञ्चालन गर्दा परम्परागत खानेपानीको मुहान, सम्पदाहरुको संरक्षणमा ध्यान दिनुपर्ने बताउँदै उहाँले विदेशी ऋण लिएर देश विकास गर्ने सोचले देश अरुको ऋण पासोमा फस्दै जाने विचार राख्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनामा गुठी जग्गा कमाउने मोहीहरुको समस्याबारे सम्बन्धित मन्त्रीलगायत प्राधिकरणका पदाधिकारीहरुको ध्यानाकर्षण गर्नुभएकोमा सहरी विकास मन्त्रालयका सचिवले मन्त्रालयकै पहलमा उक्त समस्या समाधान गर्ने वचन दिनुभयो ।
बागमती प्रदेश भौतिक तथा पूर्वाधार मन्त्री युवराज दुलालले व्यवस्थित बस्ती विकासको निम्ति आफ्नो तर्फबाट सकदो सहयोग गर्नुपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणका पदाधिकारीहरुले मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएपछि स्थानीय तहले गर्न चाहेको अवस्थामा सम्पूर्ण अधिकार प्रत्यायोजन गरी प्राधिकरणले सहजीकरण मात्र गर्ने बताउनुभयो थियो ।
कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरण भौतिक विकास समितिका सदस्य सचिव जानुका ढकालले ताथली चलाबु जग्गा एकीकरण आयोजनाको भौतिक विकास योजना स्वीकृतिलगायतका विषयमा प्रस्तुतीकरण देखाउनुभएको थियो ।
उक्त बैठकमा ललितपुरका प्रतिनिधिसभा सदस्य उदयशमशेर राणा, काठमाडौंका प्रतिनिधिसभा सदस्य गणेश पराजुली, उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नवराज प्याकुरेल, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, नपा प्रमुखहरु तथा विभिन्न मन्त्रालयका सचिवहरुलगायतले आयोजनाबारे आआफ्नो धारणा राख्नुभएको थियो ।
