Explore news and happenings at Bhaktapur

विभिन्न देशका युवाहरुको प्रतिनिधिमण्डलद्वारा भक्तपुरको भ्रमण

भक्तपुर । २०८१ जेष्ठ १५ गते, मंगलबार

0
विभिन्न देशका युवाहरुको प्रतिनिधिमण्डलद्वारा मंगलबार सांस्कृतिक नगरी भक्तपुरको अवलोकन भ्रमण गरेको छ ।
भ्रमण टोलीलाई भक्तपुरमा स्वागत गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको भविष्य युवाहरुको हातमा हुने बताउँदै युवाहरु अध्ययनशील, ऊर्जाशील भएमा देशको भविष्य उज्ज्वल हुने बताउनुभयो ।
युवा भनेको उमेरले होइन उसको विचार र नयाँ नयाँ परिवर्तनका लागि चिन्तन गर्ने र संघर्षले उसलाई युवा बनाउने बताउँदै उहाँले पतनशील वा परिवर्तनविरोधी विचारको वकालत गर्नेहरु युवा हुन नसक्ने बताउनुभयो ।
नेपाल अहिले गणतन्त्रात्मक राज्य व्यवस्थामा भएको उल्लेख गर्दै राजतन्त्र पुनःस्थापनाका लागि आवाज उठाउनु प्रतिगामी कदम भएको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा गरिरहेको जनमुखी कामहरुको बारे प्रष्ट पार्दै प्रमुख प्रजापतिले भक्तपुर देशको सानो नगरपालिका भएर पनि ऐतिहासिक र सांस्कृतिक तथा पुरातात्विक महत्वको दृष्टिले अत्यन्त महत्वपूर्ण नगर भएको बताउनुभयो ।
सोही क्रममा उपप्रमुख रजनी जोशीले भक्तपुरको संक्षिप्त परिचय र नगरपालिकाले सम्पदा संरक्षणमा खेलिरहेको भूमिकाबारे आफ्नो प्रस्तुतीकरण देखाउनुभयो ।
प्रतिनिधिमण्डलको तर्फबाट डा. छिरिङ लामाले भक्तपुरको न्यानो र सौहार्दपूर्ण स्वागतको लागि धन्यवादज्ञापन गर्दै भक्तपुर नपाले गरेको कला, संस्कृति र सम्पदा पुनःनिर्माण कार्यले उल्लेखनीय भएको बताउनुभयो ।
प्रतिनिधिमण्डलको नेतृत्व जेम्स रोजरले गर्नुभएको थियो भने बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री निमा लामाको पनि सहभागी थिए । भ्रमणमा अमेरिका, अष्ट्रिया, सिंगापुर, इरान, स्पेन, टर्की, जर्जिया, जर्मनी, कोलम्बिया, चीन, इजिप्ट, भियतनाम, पेरु, बेलायत, स्वीटजरल्याण्ड, स्लोभाकिया र नेपालका युवाहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.