Explore news and happenings at Bhaktapur

भक्तपुर बहिरा संघको २५ औं वार्षिक साधारणसभा सम्पन्न

२०७८ भदौ १२ गते, शनिबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर बहिरा संघको २५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । सोही अवसरमा प्रमुख प्रजापतिले संघका संस्थापक पदाधिकारीहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले योग्यता र क्षमता भएका व्यक्तिहरुले जुनसुकै क्षेत्रमा पनि सफलता प्राप्त गर्ने बताउनुहुँदै भक्तपुर नगरपालिकाले नगरबासी युवाहरुलाई लक्षित गरी विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले १ महिने सांकेतिक भाषा तालिम सञ्चालन गरिसकेको अवगत गराउनुहुँदै उहाँले नगरपालिकाले अपांगता भएका व्यक्तिहरुको लागि अपांगमैत्री सामाग्री वितरण तथा अपांगमैत्री खेलकुद प्रतियोगिताहरुलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाभित्र बनेका सरकारी कार्यालय, सम्पदा क्षेत्र, पोखरीहरु अपांगमैत्री ढंगले निर्माण गरेको बताउनुहुँदै प्रमुख प्रजापतिले सांकेतिक भाषाको तालिमको आवश्यकताबारे प्रष्ट पार्नुभयो ।

राष्ट्रिय अपांग महासंघ नेपालका केन्द्रीय सदस्य सत्यदेवी वाग्लेले नगरपालिकाहरुले सांकेतिक भाषाका दोभाषेहरुको लागि आवश्यक बजेट छुट्याउन माग गर्नुहुँदै अपांगता भएकाहरुलाई रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका सचिव शर्मिला मानन्धर, बहिरा महासंघ नेपालका निवर्तमान महासचिव सूर्यबहादुर बुढाथोकी, सांकेतिक भाषा दोभाषे संघ नेपालका अध्यक्ष दिनेश श्रेष्ठ, गैसस महासंघ भक्तपुरका रमेश गिरी, सल्लाहकार एवम् दोभाषे टीकाराम लामिछाने, संस्थापक अध्यक्ष नकुलप्रसाद अधिकारी, बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छा, भक्तपुर बहिरा संघका अन्य पदाधिकारीहरुले शुभकामना दिनुभएको थियो ।

भक्तपुर बहिरा संघका अध्यक्ष एवम् सभाका सभापति जयराम पकादेवारले संघलेसञ्चालन गर्दै आएको गतिविधिबारे प्रष्ट पार्दै संघको भवन निर्माणमा भक्तपुरका चारैवटा नगरपालिकाको तर्फबाट आवश्यक सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुर बहिरा संघका सचिव राजकुमार दुलालले सभाको औचित्यबारे प्रकाश पार्नुभयो भने अनिा बोहजूले स्वागत मन्तव्य दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.