Explore news and happenings at Bhaktapur

भनपा नं. –९ को आयोजनामा पाठेघरको मुखको परीक्षण (पापस्मेयर जाँच) तथा स्तन परीक्षणसम्बन्धि स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर, चैत्र १७ गते ।

0
भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा शनिबार पाठेघरको मुखको परीक्षण (पापस्मेयर जाँच) तथा स्तन परीक्षणसम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भयो । नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल र भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरको नगर प्रमुख सुनिल प्रजापतिले एक कार्यक्रमबीच सम्मुद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले निर्वाचनको बेला स्वास्थ्यसंग सम्बन्धित जनतासंग गरेका ५ वटै प्रतिवद्धताहरु पूरा भएको चर्चा गर्दै शिक्षा र स्वास्थ्य उपचार सेवालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले ख्वप अस्पताललाई जनताको अस्पतालको रुपमा विकास गर्ने क्रममा सुविधाहरु थप्दै जनताको नजिक पुर्याउने क्रममा वडा वडामा शहरी स्वाथ्य केन्द्रहरु स्थापना तथा घरदैलो नर्सिङ सेवा संचालन गरिरहेको बताउनुभयो ।
सरकारी अस्पतालहरु स्तरीय र सुविधासम्पन्न भएमा निजी क्लिनिकहरु आफै बन्द हुने उल्लेख गर्दै प्रमुख प्रजापतिले नागरिकको स्वास्थ्य सेवा राज्यको दायित्व हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टी जनताबीच हुर्केको र जनताको हितमा निरन्तर लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीकै समाजवादी आदर्श बमोजिम नगरपालिकामा जनप्रतिनिधिहरुले इमान्दारिपूर्वक जनताको सेवा गरिरहेका छौं ।’
कार्यक्रममा भक्तपुर नगरपालिका ९ नं. वडाका वडाध्यक्ष रविन्द्र ज्याख्वले स्वस्थ नगरवासीले उत्पादनमूलक गतिविधिमा सक्रिय हुने र समाजको आर्थिक सामाजिक परिवर्तनमा भूमिक खेल्ने चर्चा गर्दै नगरपालिकाले नागरिकहरुको निरन्तर स्वास्थ्य परीक्षण शिविरहरु संचालन गरिरहेको बताउनुभयो ।
कार्यपालिका सदस्य छोरीमैया सुजखूले महिलाहरुमा रोग लुकाउने बानी हटाउनुपर्ने चर्चा गर्दै समयमा परीक्षण गराएमा लामो समयसम्म स्वस्थ रहन सक्ने बताउनुभयो । उहाँले महिला स्वस्थ भएमा परिवार र समाज नै स्वस्थ हुने उल्लेख गर्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक डा. त्रिसला बसीले पाठेघरको मुखको क्सान्सरको उपचार विधिबारे जानकारी दिँदै समयमै उपचार गराएमा निको हुने प्रष्ट पार्नुभयो ।
वडा नर्स दिव्या सुवालले पापस्मेयर जाँचको तरिकाबारे जानकारी दिनुभयो ।
शिविर स्थानीय दत्तात्रय आधारभूत विद्यालयको प्राङ्णमा विहान ८ बजेदेखि नै संचालन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.