खेलाडीहरुमा राजनैतिक, सांस्कृतिक र नैतिक संस्कार आवश्यक
भक्तपुर । चैत ८, भक्तपुर
भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २९ देखि चैत ३ सम्म भएको अन्तरनगर महिला कबड्डी प्रतियोगिता–२०८० भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्नुभएका सबैमा आज एक कार्यक्रमबीच धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अन्तर नगर महिला कबड्डी प्रतियोगिता सम्पन्न गर्न प्रत्यक्ष र परोक्ष सहयोग गर्ने सबैमा धन्यवादज्ञापन गर्नुभयो ।
प्रत्येक व्यक्तिमा राजनैतिक, सांस्कृतिक र नैतिक संस्कार आवश्यक भएको बताउँदै खेलाडीहरुमा ती संस्कार भएन भने अघि बढ्न नसक्ने धारणा राख्नुभयो ।
पुँजीवादी व्यवस्थामा जालझेल, षड्यन्त्र र छलछाम हुने हुँदा सबै नागरिकहरु त्यसबाट सचेत हुनुपर्ने बताउँदै उहाँले खेलकुद प्रतियोगिता खेलाडी, प्रशिक्षक र सिंगो भक्तपुरको सबै पक्षको परीक्षा पनि भएको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले महिला कबड्डी खेलले महिलालाई अगाडि बढाउन उत्साह मिलेको बताउँदै विभिन्न नपाका जनप्रतिनिधिहरुसँगको भेटघाटले अनुभव आदानप्रदानको अवसर मिलेको बताउनुभयो ।
भलिवल संघका अध्यक्ष विनोदचरण रायले भक्तपुर नपाले आयोजना गरेको कबड्डी खेल खेलाडीहरुको लागि उपयुक्त निर्णय भएको बताउँदै भक्तपुर नपाले खेलकुदमार्फत खेलाडीहरुलाई संस्कार सिकाउने काम भएको बताउनुभयो ।
उहाँले प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी खेलाडी र प्रशिक्षकहरुले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल, कलेजहरु तथा विकास निर्माण अवलोकनपछि नगरपालिकाले त्यस्तो संरचना बनाउने कल्पना नगरेको प्रतिक्रिया व्यक्त गरेको बताउनुभयो ।
एसियन कबड्डी फेडेरेसनका उपाध्यक्ष विनोद प्रजापतिले कबड्डी खेल कभर्ड हलमा खेलाउनुपर्नेमा सहिदस्मृति खेलमैदानमा खुल्ला रुपमा गरे पनि कुनै राष्ट्रिय स्तरको प्रतियोगिताभन्दा कम नभएको विचार राख्नुभयो । भक्तपुर नपाको आयोजनामा अन्तर नगर कबड्डी प्रतियोगिताले अन्तर्राष्ट्रिय प्रतियोगिताको झल्को दिएको राय व्यक्त गर्नुभयो ।
कार्यक्रममा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले मुल समितिमा रहेर काम गर्र्ने सबैमा बधाई तथा धन्यवादज्ञापन गर्दै भक्तपुर नपाले पहिलोपटक खेलाडीको लागि स्वास्थ्य बीमा लागू र लाइजन अफिसर बन्दोबस्त गरेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित सहभागीहरुले सहभागी नपालाई मायाको चिन्ह दिन नपाएको, खेलकुदको समाचार राष्ट्रिय दैनिकमा प्रकाशन नभएको, सबै उपसमितिहरुले समान ढंगले काम गर्न नसकेकोलगायत केही कमीकमजोरीहरु रहेको औंल्याउनुभयो ।