Explore news and happenings at Bhaktapur

अन्तरनगर महिला कबड्डी प्रतियोगिता मूल समितिको बैठक सम्पन्न

भक्तपुर । २०८० फागुन १० गते, बिहीबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको आयोजना २०८० फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने अन्तरनगर महिला कबड्डी प्रतियोगिता २०८० मूल समितिको बैठक आज सम्पन्न भयो ।
बैठकमा बोल्दै प्रमुख प्रजापतिले खेलकुद प्रतियोगिताहरु आन्तरिक पर्यटन प्रवद्र्धन र आकर्षण गर्ने माध्यम पनि भएको बताउँदै खेलकुद क्षेत्र विकासको लागि सरकारले भौतिक पूर्वाधार निर्माणतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
प्रतियोगिता सञ्चालनले विभिन्न जिल्लाबाट आउने खेलाडीहरुसँग अनुभव आदान हुने बताउँदै उहाँले आयोजकले प्रतियोगिता अवधिभर सहभागी खेलाडीहरुलाई सबै पक्षमा सहजता प्रदान गर्न संवेदनशील भएर लाग्नुपर्ने बताउनुभयो ।
राज्यले जुन क्षेत्रलाई प्राथमिकता दिन्छ त्यो क्षेत्र अरु भन्दा तुलनात्मक रुपमा अगाडि बढेको हुन्छ भन्दै उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य सँगसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखी काम गरेको कारण आज राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादनमा टेवा पुगिरहेको छ भन्नुभयो ।
एसियन कबड्डी संघका उपाध्यक्ष विनोद प्रजापतिले भक्तपुरमा कबड्डी खेल संस्थागत गर्न भक्तपुर नपाको उल्लेखनीय योगदान रहेको चर्चा गर्दै प्रतियोगिता अवधिभर खेलाडीहरुको सुरक्षामा विशेष ध्यान दिनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर महिला कबड्डी प्रतियोगिता सञ्चालनको लागि १५१ जनाको मूल समिति, ११ वटा उपसमिति गठन गरेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले कुशल व्यवस्थापनमा अन्तर नगर कबड्डी प्रतियोगिता सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.