Explore news and happenings at Bhaktapur

चुनावमा भाग लिएर जनताको सेवा गर्नु पनि एक राजनैतिक आन्दोलन हो: प्रमुख सुनिल प्रजापति

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अवलम्बन गर्दै आएको नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि सामन्तवाद, पुँजीवाद, उपनिवेशवाद र साम्राज्यवादविरुद्ध अविचलित रुपमा संघर्षरत रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीको ५० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रतिक्रियावादी संघ संस्थाभित्र गएर जनताको सेवा गर्ने नीतिअनुसार नेमकिपा (तत्कालीन संगठन)ले पंचायती चुनावलाई पनि उपयोग गर्दै आएको बताउनुभयो । उहाँले चुनावमा भाग लिएर जनताको सेवा गर्नु पनि एक राजनैतिक आन्दोलन भएको विचार व्यक्त गर्नुभयो ।
सशस्त्र क्रान्तिबाट मात्र समाजवादी क्रान्ति सम्भव हुन्छ । तर शान्तिपूर्ण अवस्थामा जनताको राजनैतिक चेतनास्तर उठाउन र संगठित गर्न निर्वाचनमा भाग लिएर जनताको सेवा गर्नु समाजवाद स्थापनाको लागि आवश्यक छ — उहाँले भन्नुभयो ।
प्रमुख प्रजापतिले एमाले र माओवादी कम्युनिष्ट विचारधाराबाट बिमुख भएका नक्कली कम्युनिष्टहरु हुन् भन्दै कम्युनिष्ट पार्टीको नाउँमा पुँजीवादी सरकारमा सहभागी भई पुँजीवादको जगलाई बलियो बनाउने शासकहरुको विरुद्ध नेमकिपाले सैद्धान्तिक संघर्ष जारी राखेको बताउनुभयो ।
नेमकिपाले स्थापनाकालदेखि देश र जनताको हितमा काम गर्दै आइरहेको बताउँदै उहाँले युवा जनशक्तिहरु विदेश पलायन हुँदा देश आर्थिक र राजनैतिक रुपले पछाडि पर्दै गएको बताउनुभयो ।
भक्तपुर नपाले समाजवादउन्मुख कार्य गर्दै आइरहेको बताउँदै उहाँले नेमकिपाले ‘अध्यारो रातमा चम्किलो तारा’ को रुपमा काम गरिरहेको बताउनुभयो ।
त्यस्तै उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले नेमकिपाको नीति र निर्देशनअनुरुप काम गर्दै आइरहेको बताउँदै निर्वाचन घोषणापत्रमार्फत जनतालाई दिएको बचनअनुसार भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले निःस्वार्थ रुपमा जनताको सेवा गरिरहेको बताउनुभयो ।
उहाँले राजनीतिक रुपमा महिलाहरुलाई सचेत र संगठित बनाउनु आवश्यक भएको बताउँदै नेमकिपा पद र पैसाको लागि नभई जनताको सेवाको लागि स्थापना भएको कम्युनिष्ट पार्टी हो भन्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नेपाल मजदुर किसान पार्टीले पार्टीले पार्टी स्थापनाकालदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएका खोटा विचारहरुको खण्डन गर्दै आएको बताउँदै नेमकिपाले सैद्धान्तिक, वैचारिक र राजनीतिक संघर्षमार्फत देशलाई सही दिशानिर्देश गर्न प्रयासरत रहेको बताउनुभयो ।
कामदार वर्गलाई शासक वर्गको रुपमा उठाउने उद्देश्यका साथ नेमकिपाले जनताको सेवामा समर्पित भएर इमानदारीपूर्वक काम गरिरहेको बताउँदै उहाँले नेमकिपा विचार र सिद्धान्तको आधारमा स्थापना भएको नेपालको सच्चा कम्युनिष्ट पार्टी भएको स्पष्ट पार्नुभयो ।
कर्मचारी समाज नेपालका अध्यक्ष गौतमप्रसाद लासिवाले विदेशी पुँजीको हित गर्ने, देशका गुहय् विषय विदेशीलाई बताउने र दोहोरो तलब खाने राजनीतिक दल, तिनका नेता र सरकारी कर्मचारीहरु जनताका शत्रु भएको बताउँदै त्यस्ता शत्रुहरुलाई निर्मुल गर्न नेमकिपा सँधै क्रियाशील भइरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पार्टी स्थापनाका सैद्धान्तिक आधारबारे प्रस्तुतीकरण दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.