Explore news and happenings at Bhaktapur

बाल विकास सेकेन्डरी स्कूलको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

0
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुरको शिक्षा क्षेत्रमा गरेको लगानी देश र समाजको लागि उपलब्धीपूर्ण भएको बताउँदै भक्तपुरको शिक्षा मोडल अन्य स्थानीय तहका लागि अनुकरणीय र चर्चाको विषय भएको बताउनुभयो ।
बाल विकास सेकेन्डरी स्कूलको वार्षिक भेटघाट कार्यक्रममा सम्बोधनका क्रममा उहाँले बालविकास सेकेन्डरी स्कूलले विद्यार्थी र अभिभावकको मन जितेर गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउँदै विद्यालयमा कार्यरत शिक्षक शिक्षिका, कर्मचारी, आया दिदीहरुलाई पनि राजनैतिक र सामाजिक रुपमा प्रशिक्षित गर्नुपर्ने धारणा राख्नुभयो ।
कामदार वर्गलाई सेवासुविधा दिने विषयमा विद्यालय सजग हुनुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले विद्यालय जीवनदेखि नै विश्व इतिहास र भूगोल राम्रोसँग अध्यापन गराउन सके ती विद्यार्थीहरु तुलनात्मक रुपमा अगाडि बढ्ने बताउनुभयो ।
सरकारले विश्व व्यापार संगठनको सदस्यता लिएसँगै नेपालमा शिक्षा क्षेत्रमा व्यापारीकरण र निजीकरणको नीति अगाडि बढेको बताउँदै उहाँले सरकारले ख्वप विश्वविद्यालय सञ्चालनको अनुमति दिएको खण्डमा १५ लाखमै एमबीबीएस पढाउन सम्भव भएको बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरुमा विद्यार्थीको अनुशासन र शैक्षिक गुणस्तरका कारण देशभरका विद्यार्थीहरुको शैक्षिक आकर्षणको केन्द्रको रुपमा विकास भइरहेको बताउँदै उहाँले विद्यालयहरुले तालिम, शिविर र अध्ययन गोष्ठीहरु औपचारिकताको लागि नभई समग्र विद्यार्थी र शिक्षकहरुको चेतनास्तर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अग्रजहरुको दूरदर्शी सोच र चिन्तनले बालविकास स्कूलले आजको प्रगति र सफलता हासिल गरेको बताउँदै बाल विकास स्कूलले शिक्षाको माध्यमबाट समाजमा सुधार ल्याउने र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य क्रमशः पूरा हुने क्रममा रहेको बताउनुभयो ।
उहाँले २०४५ सालको भक्तपुर काण्डले विद्यालयको अस्तित्व नै संकटग्रस्त अवस्थामा पुगेको स्मरण गर्दै विद्यालयलाई आजको अवस्थामा ल्याइपुर्याउने सबैको स्मरण र सम्मान व्यक्त गर्नुभयो ।
प्रतिस्पर्धाको युगमा एक अर्कासँग प्रतिस्पर्धामा बाँच्न नसक्नेहरुको अस्तित्व क्रमशः घट्दै जाने बताउँदै उहाँले शिक्षामा निजीको बोलवाला रहेकै कारण शासक दलले शिक्षालाई सेवा भन्दा पनि उद्योगको रुपमा विकास गर्न खोजिरहेको बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले जनताका छोराछोरीलाई राम्रो वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले २०४४ सालबाट सुरु भएको बाल विकास स्कूलले धेरै दक्ष जनशक्ति उत्पादन गरिसकेको अवगत गराउनुभयो ।
सांसद गोसाईले विद्यालय परिवारको एकमनको एकताले विद्यालय आजको अवस्थामा आइपुगेको बताउँदै विद्यालयलाई सकारात्मक रुपमा मार्गनिर्देशन गर्ने अग्रजहरुको भूमिका स्मरणीय रहेको बताउनुभयो ।
शिक्षामा भक्तपुरलाई नमुना बनाउने अग्रजको सपना पूरा भएको बताउँदै उहाँले समाज परिवर्तन गर्ने उत्कट अभिलाषाका साथ बाल विकास स्कूल जनताको मन जितेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले शैक्षिक संस्थाहरु समाज र देशको भविष्य निर्माण गर्ने थलोको रुपमा रहेको बताउँदै बाल विकास शिक्षकहरुलाई पनि राजनैतिक रुपमा शिक्ष्ँित गर्ने दबुको रुपमा अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, इसानका अध्यक्ष प्रेमजन थापा, कोषाध्यक्ष उकेश कवांले पनि बोल्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रजापतिले धन्यवादज्ञापन मन्तव्य,, विद्यालयका शिक्षिका सीता प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षिका सुलोचना छ्वाजुले पनि बोल्नुभएको थियो । उक्त कार्यक्रममा शिक्षक जयराम कोजुले बाल बिकास स्कूलको शैक्षिक अवस्था, विद्यार्थी र शिक्षकहरुको तथ्यांक, विभिन्न गतिविधि र विद्यालयको भावी कार्यक्रमबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.