Explore news and happenings at Bhaktapur

“कम्युनिस्ट पार्टीको सरकारले कामदारवर्गको सेवा गर्नुपर्छ”

0
“कम्युनिस्ट पार्टीको सरकारले कामदारवर्गको सेवा गर्छ; उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्छ; योग्यताअनुसार काम र कामअनुसारको ज्याला देशभित्रै बन्दोबस्त गर्छ ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले मङ्गलबार कीर्तिपुरमा आयोजित दसौँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उक्त सम्मेलनमा सचिव सुवालले पार्टीको नाउँ कम्युनिस्ट भए पनि कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम नगर्ने पार्टी पुँजीवादी पार्टी हुने विचार व्यक्त गर्दै उहाँले कम्युनिस्ट सरकारले शोषणको अन्त्य गर्ने बताउनुभयो ।
भ्रष्टाचारको नाउँमा सार्वजनिक संस्थान निजीकरण गर्ने या समर्थन गर्ने दल कम्युनिस्ट नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “कम्युनिस्टले भ्रष्टाचारीहरूलाई जेलमा कोचेको हुन्छ । अतः भ्रष्टाचारीहरूले कम्युनिस्टको विरोध गर्छन् ।”
जनताका लेखक, कलाकार, साहित्यकारहरू जनतालाई शिक्षित गरी आमूल परिवर्तनको निम्ति अघि बढ्ने विश्वास व्यक्त गर्दै सांसद सुवालले भन्नुभयो, “इजरायली फासीवादले प्यालेस्टिनका लेखक, कवि, कलाकार, साहित्यकार, सङ्गीतकारलाई मार्दै छ, नेपालका लेखक, कवि, कलाकारले त्यसको विरोध गर्नु जरुरी छ ।”
सांसद सुवालले भन्नुभयो, “प्यालेस्टिनमा अस्पताल, स्कूल, कलेजको भवनमुनि हमासले सुरुङ बनायो भनेर इजरायली सरकारले बमबारी गर्नु जातीय नरसंहारकै सिलसिला हो । शत्रु अस्पतालभित्र पसे पनि बमबारी गर्न नपाउने अन्तर्राष्ट्रिय कानुनी व्यवस्था हो ।”
देशका प्रधानमन्त्री र मन्त्रीहरूसँग देश र जनताको सेवा गर्ने खाका नै नभएको स्पष्ट पार्दै सचिव सुवालले जनताले चुनावमा प्रम र मन्त्री बनेका पार्टीसँग पैसा र सामान लिने होइन, भोज खाने होइन, देश विकासको खाका सोध्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पटक पटक सिंहदरबारमा गएर देश र जनतालाई दुःख दिने सत्तासीन दललाई जनताले विश्वास गर्न नहुने उल्लेख गर्दै उहाँले नेपालका नदीनाला र बिजुली भारतलाई दिएर सिंहदरबार कब्जा गर्ने दललाई नेपाली जनताले उदाङ्ग्याउनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालको ऋण २३ खर्बभन्दा बढी पु¥याउने र वर्षको ३ खर्बभन्दा बढी ब्याज तिर्नुपर्ने स्थिति ल्याएको सरकारलाई अब जनताले विश्वास गर्नु हुँदैन ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपाका प्रमुख सुनिल प्रजापतिले संविधानले समाजवादउन्मुख राज्यको कल्पना गरे पनि शासक दलहरूले पुँजीवादी विचारअनुसार काम गरिरहेको बताउनुभयो ।
शिक्षा र स्वास्थ्योपचार निजी क्षेत्रलाई जिम्मेवारी दिँदा सामुदादिक क्षेत्र कमजोर हुँदै गएको उल्लेख गर्दै उहाँले शिक्षा र स्वास्थ्य व्यापारीकरण भएकोले विद्यार्थीहरू विदेश पलायन भइरहेको बताउनुभयो ।
रोजगारीको अभावमा वर्षको लाखौँ युवाहरू विदेसिनुमा शासक दलहरूले कलकारखाना निजीकरण गर्दाको परिणाम भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “कृषिप्रधान देशमा कृषिजन्य वस्तु वर्षको खर्बाैँ रुपैयाँको आयात गर्ने परिस्थिति आउनु सरकारमा जाने दलहरूको असफलता हो ।”
उहाँले भन्नुभयो, “हाम्रो भाषा र संस्कृति हाम्रो पहिचान हो† यसको संरक्षण गर्नुपर्छ ।”
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले साहित्यले बहुमत जनताको सेवा गर्नुपर्ने चर्चा गर्दै जनताका साहित्यकारहरूले देशको समसामयिक विषयमा कथा, कविता लेखेर जनतालाई सुसूचित पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्थानीय ज्येष्ठ नागरिक एवम् समाजसेवी बेखालाल महर्जनले उद्घाटन गर्नुभएको सो सम्मेलनमा प्रा.डा. धर्मराज डंगोल, प्रा.डा. रामकृष्ण महर्जन, प्रा.डा. चन्द्रमान महर्जन, सम्पदाविद् कर्ण महर्जन, लोककवि राजभाइ नकर्मी, मानव अधिकारवादी बाबुराम महर्जनलगायतले बोल्नुभएको थियो ।
आयोजक समितिका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा सचिव नारायण महर्जनले सम्मेलनको महत्वबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा अतिथि सुवालले सांस्कृतिक गुरुहरूलाई सम्मान गर्नुभएको थियो ।
साहित्य सम्मेलनमा कवितामा रमेशमान महर्जन प्रथम, सुवर्ण महर्जन द्वितीय, सुवर्णलक्ष्मी महर्जन तृतीय र रामचन्द्र महर्जन सान्त्वनामा पर्नुभएको थियो ।
त्यस्तै कथामा रामेश्वर जलन सान्त्वनामा पर्नुभएको थियो ।
कार्यक्रम नेपालभाषा साहित्य तःमुज्या कीर्तिपुरको आयोजनामा नगाउँमा भएको थियो ।
साहित्य सम्मेलनपछि सांस्कृतिक कार्यक्रम भएको थियो ।

Leave A Reply

Your email address will not be published.