Explore news and happenings at Bhaktapur

मातातीर्थ औंसी र देवाली पूजाबारे नगर प्रमुख सुनिल प्रजापतिको सन्देश

२०७८ वैशाख २७ गते, सोमबार

0

आदरणीय नगरबासी दाजुभाई तथा दिदी बहिनीहरु,
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबारे धेरै थोरै हामी सबै जानकार छौं । कोरोनाका कारण आज हाम्रो सिंगो देश आक्रान्त छ । कोरोनाको सहज उपचार अझै उपलब्ध छैन । भक्तपुर नगरपालिकाभित्र पनि केही दिन यता दैनिक सयौंको संख्यामा संक्रमितहरु थपिंदै छन् । देशभर दैनिक ८ हजारदेखि १० हजार संक्रमितहरु थपिएको, र ४०।५० जनाको मृत्यु भएका समाचारहरु आइरहेका छन् । भक्तपुर नगरबासी र नगरमा बसोबास गरिरहनुभएका तमाम नागरिकहरुको सुरक्षाको निम्ति हामी जनप्रतिनिधिहरु निरन्तर लागिरहेका छौं । कोरोना संक्रमण हुनबाट जोगिन भक्तपुर नगरपालिकाले दैनिक माइकिंङ गर्ने, सूचना प्रकाशित गर्ने, टोल टोलमा क्लोरिन र चुन छर्कने तथा अति आवश्यक काममा घरबाट निस्कन परेमा स्वास्थ्य मापदण्ड कायम गरी मात्रै निस्कन निरन्तर अनुरोध गर्दै आएकोबारे यहाँहरु सबै जानकार नै हुनुहुन्छ ।
अहिले भक्तपुर नगरपालिकाभित्र दिनदिनै कोरोना संक्रमितहरुको संख्या वृद्धि भइरहेको छ । घरमा एकान्तबास बस्न नमिलेका संक्रमितहरुको लागि नगरपालिकाले ५० शैय्याको आइसोलेसन र २५ शैय्याको एचडीयु(आइसियुभन्दा कम र साधारणभन्दा उच्च) सञ्चालनमा ल्याएको छ । हाल भक्तपुर नपाबाट सञ्चालित आइसोलेसन केन्द्रमा जम्मा ४७ जनाले स्वास्थ्य लाभ गरिरहनुभएको छ भने आ आफ्नै घरमा एकान्तवास बस्नेको हालसम्मको संख्या ५०० भन्दा बढि रहेको जानकारी गराउन चाहन्छांै ।
सामान्य उपचार गर्नुपर्ने र अक्सिजन दिनुपर्ने संक्रमितहरुको लागि भनपाले नै आवश्यक चिकित्सक र नर्सहरु राखी व्यवस्थापन गर्दै आएको छ । ख्वप अस्पताल कोभिड युनिट गठन गरी कामलाई अगाडि बढाइएको छ । अत्यन्त जटिल प्रकारका बिरामीहरुका लागि भक्तपुर अस्पताल र अन्य अस्पतालमा पठाई स्वास्थ्य उपचारको व्यवस्था मिलाउँदै आएका छौं । यस कार्यमा जिल्ला प्रशासन कार्यालय, भक्तपुर अस्पताल, भक्तपुर उद्योग वाणिज्य संघ, साना तथा घरेलु उद्योग, संघ, सहकारी, रेडक्रस, स्काउटलगायत सम्बन्धित सबै संघ संस्थासित समन्वय गरी काम गरिरहेका छौं ।
आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरु,
आमाको मुख हेर्ने औंसी आउँदै छ । देवालीको दिन नजिकिँदै छ । भक्तपुर नगरपालिकाले कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखी यो वर्ष घर बाहिर आउने र जाने गर्नु पर्ने आमाको मुख हेर्ने र देवाली जस्ता चाडहरु हाललाई नगर्न सूचना र माइकिंमार्फत आग्रह गरिरहेको छ । यो रोगलाई बेवास्ता गर्नु आफ्नै निम्ति घातक हुनेछ । हालसम्म राम्रो औषधि पत्ता नलागेको र कोरोनाविरुद्धको खोप पनि पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित हुनु नै एक मात्रै कोरोनाबाट बच्ने उपाय हो ।
कोरोनाको दोस्रो लहर अत्यन्तै घातक सिद्ध भएको छ । अस्पतालहरुमा आवश्यक मात्रामा अक्सिजन उपलब्ध छैन । भेन्टिलेटर र आइसीयुको अभावमा बिरामीहरु बीचबाटोमै मर्न थालेका थुप्रै घटनाहरु सार्वजनिक भएको छ । यसर्थ रोग लागेपछि चिन्तित भएर उपचारको लागि दौदिनुभन्दा रोग लाग्नबाट बच्न आआफैले सुरक्षाका मापदण्ड पालना गरी हिड्न आग्रह गर्दछौं ।
आमाको मुख हेर्ने औंसी र देवालीलगायत हाम्रो टोलहरुमा हुने कुनै पनि किसिमको जात्रा, पर्व मेला नगरी स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न ुहुन तमाम नगरबासी तथा नगरभित्र बसिरहनुभएका दाजुभाइ दिदीबहिनीहरुमा विनम्रतापूर्वक आग्रह गर्दछौं । स्वास्थ्य राम्रो भएमात्र जात्रा पर्व मनाउन पाउँछौं । रोगको संक्रमण कम भएपछि वा अनुकुल समयमा देवाली पूज ागर्ने गरी अहिले कोही कसैले पनि नगर्न अनुरोध गर्दछौं ।
हाम्रो आग्रहलाई बेवास्ता गरी जथाभावी भोजभतेर गरी मानिसहरु जम्मा भई रोग संक्रमण फैलाउन कसैले सहयोग गरेको पाइएमा प्रशासनको तर्फबाट कानुनबमोजिमको कारबाही हुने पनि यही सन्देशमार्फत जानकारी गराउन चाहन्छौं ।
अन्त्यमा, रोगबाट निधन भएका सम्पूर्णमा श्रद्धाञ्जलीका साथै परिवारजनमा समवेदना दिन चाहन्छौं र संक्रमित सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । कोरोनाबाट आफू बचौं र समाजलाई बचाऔं । धन्यवाद ।

Leave A Reply

Your email address will not be published.