Explore news and happenings at Bhaktapur

वाकुपति चाँगुनारायण मन्दिर परिसरमा विशेष कार्यक्रम

भक्तपुर,२०७५ मंसीर १५ गते शनिबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कला, संस्कृति र सम्पदाले भरिएको भक्तपुर नगरलाई इटालीको रोम जस्तै मानिन थालेको बताउनुभयो । भनपा वडा नंं ९ स्थित वाकुपति चाँगुनारायण मन्दिर परिसरमा शनिबार आयोजित विशेष कार्यक्रममा प्रमुख प्रजापतिले पुर्खाले सिर्जना गरी छोडेर गएका सम्पदाहरु संरक्षण मात्र गर्न सके पनि संसारसामू नेपाललाई चिनाउने महत्त्वपूर्ण क्षेत्र भक्तपुर बन्ने विश्वास व्यक्त गर्नुभयो ।
वाकुपति नारायण मन्दिर परिसरमा चतुर्मास कथा वाचन कार्यक्रमको समापनको क्रममा उपस्थित ज्येष्ठ नागरिक, महिला एवं स्थानीय जनताको भेलामा बोल्दै उहाँले भन्नुभयो– “अग्रज पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाको संयोजनले कठिन कार्य पनि सफलतापूर्वक टुंगिन्छ ।”
प्रमुख प्रजापतिले उमेरले साठी कटे पनि मन्दिर परिसर संरक्षण कार्य तथा सुनको छाना छाउन उपभोक्ता समितिमा बसी उत्साहपूर्वक लागिरहनु हुने ज्येष्ठ नागरिकहरुप्रति सम्मान व्यक्त गर्दै समाजको हितमा अहिले गरेको योगदान भविष्यमा स्वर्णाक्षरको इतिहाससरह हुने धारणा राख्नुभयो ।
उहाँले सम्पदा संरक्षणमा अग्रज पुस्ताले गरेको मेहनत र त्यागको भावना नयाँ पुस्तामा पनि हस्तान्तरण गर्न सके समाज निकै अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा–९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले भक्तपुरमा जनस्तरबाट नै सम्पदा संरक्षण कार्यहरु तीब्रताका साथ भइरहेको उल्लेख गर्दै उपभोक्ता समितिमार्फत कार्य हुँदा दिगो, बलियो र आत्मीय हुने चर्चा गर्नुभयो । वडाध्यक्ष ज्याख्वले आधुनिक प्रविधिको विकाससँगै नयाँ पुस्तामा नागरिक भावना र सामाजिक उत्तरदायित्वबोधको भावनामा कमी आएको उल्लेख गर्दै अग्रज पुस्ता र नयाँ पुस्ताबीच अनुभव साटासाट गर्ने कार्यक्रम हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।


भक्तपुर ईटा व्यवसायी संघका अध्यक्ष नातीभाइ ह्योम्बा र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले वाकुपति नारायण मन्दिरमा सुनको छाना छाउने कार्य प्रशंसनीय भएको चर्चा गर्दै त्यस कार्यमा आपूmहरुबाट सहयोग प्रदान गर्ने वाचा व्यक्त गर्नुभयो ।
संस्कृतिविद् ओम धौभडेलले वाकुपति नारायण मन्दिरको ऐतिहासिक तथा साँस्कृतिक पक्षबारे जानकारी दिँदै उपत्यकाका नेवारहरुमा साँस्कृतिक तथा धार्मिक उदारता रहेको बताउनुभयो । हरेक धर्मलाई सकारात्मक रुपमा स्वीकार गर्ने र प्रकृति एवं आफूले प्रयोग गर्ने हरेक चिजको सम्मान गर्ने सनातन धर्मलाई निरन्तरता दिने नेवार समुदायमा धर्मको नाममा विदेशीहरुले चलखेल गरिरहेकोमा सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
उपभोक्ता समितिका अध्यक्ष आशाकाजी प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कथा वाचक जीवनराज राजोपाध्याय, लक्ष्मीप्रसाद प्रजापति र रविन्द्रप्रसाद कुसीले पनि बोल्नुभयो ।
२०७२ सालको विनाशकारी भूकम्पमा क्षति पुगेको मन्दिरमा झिंगटीको छानामा पानी चुहिन थालेपछि मर्मतको क्रममा हाल तामाको छाना छाइसकेको छ भने अब मन्दिरमा सुनको छाना छाउन उपभोक्ता समितिमार्फत् सर्वसाधारणहरुमा आर्थिक सहयोग लिने क्रम जारी छ । यस अवधिमा हालसम्म नगद रु ५५ लाख र तामाको छानाबापत् रु ७ लाख गरी कूल ६२ लाख रुपैयाँ जनस्तरबाट आर्थिक सहयोग प्राप्त भइसकेको र छाना छाउन अझै पनि सहयोगको आवश्यकता रहेको समितिका सचिव कुसीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.