Explore news and happenings at Bhaktapur

अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

भक्तपुर । २०७७ चैत्र ३ गते, मंगलबार

0

सहिद दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म सम्पन्न अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंगलबार महेश्वरी बैङ्क्वेटमा सम्पन्न भयो । समापन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै सांसद सुवालले प्रतियोगितामा सहभागी र विजयी खेलाडीहरुलाई बधाई ज्ञापन गर्नुहुँदै पुरस्कार जित्नको लागि मात्र प्रतियोगितामा भाग लिने भन्दा पनि विद्यार्थीहरुले शारीरिक र मानसिक विकासका निम्ति खेललाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
विद्यार्थी जीवनबाट खेलाडी हुनेहरु अरुको तुलनामा अनुशासित र मर्यादित हुने बताउनुहुँदै उहाँले सभ्य र सुसँस्कृति नयाँ पुस्ता निर्माणमा सबैले जोड दिनुपर्ने बनाउनुभयो ।
खेलाडीहरुले देश विदेशको राजनीतिक अवस्थाबारे जानकारी लिनुपर्ने आवश्यकता बोध गराउनुहँुदै साँसद सुवालले खेलकुद क्षेत्रलाई अगाडि बढाउन मद्दत गर्नुपर्ने र समाजमा उदाहरणीय खेलाडीको रुपमा अघि बढ्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा सातवटै प्रदेशबाट खेलाडीहरुको सहभागिता रहेको बताउनुहुँदै विद्यार्थीहरुलाई शिक्षा र खेलकुद क्षेत्रमा सँगसँगै अगाडि बढाउने भावनाको विकास गर्ने उद्देश्य नगरपालिकाको रहेको बताउनुभयो ।
चार दिने प्रतियोगिता सफल रुपमा सम्पन्न भएकोमा सहभागी सबैमा धन्यवाद ज्ञापन गर्नुहुँदै उहाँले नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र उद्देश्य अनुरुप भक्तपुर नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
स्थानीय तहको निर्वाचन २०७४ मा नेमकिपाले भक्तपुर नगरपालिकाको लागि प्रस्तुत गरेको घोषणापत्र अक्षरस पालनामा जोड दिइरहेको छ भन्नुहुँदै उहाँले भक्तपुरको सर्वाङ्गीण विकास नै भक्तपुर नपाको चाहना हो भन्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले पूँजीवादी बेथिति विरुद्ध लड्नु भनेको नदिको विपरित धारमा हिड्नु सरह भएको बताउनुहुँदै व्यापक जनताको हितको निम्ति भक्तपुर नपा त्यही दिशामा हिंडिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले गरिरहेको कामबाट देशभरका स्थानीय तहले सिक्न जरुरी रहेको औल्याउनुहुँदै उहाँले शासक दलको अकर्मन्यता र अदूरदर्शिताका कारण देश शैक्षिक, आर्थिक र सामाजिक रुपमा पछाडि परिरहेको बताउनुभयो ।
शैक्षिक रुपले अब्बल समाजले देश विकासमा टेवा पु¥याउने र खेलकुद जगतलाई जीवन पद्धतिसँग जोडेर यस क्षेत्रबाट देशको अखण्डता विरुद्ध लड्ने नयाँ पुस्ता तयार गर्ने अभियानमा अगाडि बढिरहेका छौं – उहाँले भन्नुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले आयोजना गरेको खेलकुद प्रतियोगिताले खेलाडीहरुलाई पुनर्ताजगी प्रदान गरेको बताउनुहुँदै अबको नयाँ पुस्ता शिक्षा सँगसँगै खेलकुदको माध्यमबाट पनि अगाडि बढ्ने अवसर पाएको बताउनुभयो ।
उहाँले सैद्धान्तिक शिक्षालाई व्यवहारिकतामा उतार्नु आजको आवश्यकता भएको बताउनुहुँदै कोभिडको कहर पछि नपाद्वारा आयोजित विद्यालयस्तरीय प्रतियोगिताले खेलाडीहरुलाई उत्साहित बनाएको बताउनुभयो ।
भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले भक्तपुर नपा शिक्षामा अगाडि बढेको देशकै उत्कृष्ट नपामा दरिन सफल भएको बताउनुहुँदै खेलकुदले विद्यार्थी जीवनदेखिनै अनुशासन, सफलता असफलता, हार जितको पाठ सिकाउँछ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ५५ वटा विद्यालयबाट १८६९ जना खेलाडीहरुले सहभागिता जनाएको अवगत गराउनुहुँदै सबै वडामा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यालय र उत्कृष्ट खेलाडीहरु घोषणा गर्नुभएको थियो ।
हेटौडा उपमहानगरपालिकाका खेलाडी एवं बर्तमान बुद्धिचाल च्याम्पियन पुरुषोत्तत चौलागाईंले कोभिडको जोखिमबीच पनि भक्तपुर नगरपालिकाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोका खुशी व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा प्रमुख अतिथि सुवालले अन्तर नगर बुद्धिचाल प्रतियोगिताका विजयी नगरपालिका र च्याम्पियन खेलाडीहरुलाई नगद पुरस्कार पुरस्कार प्रदान गर्नुभयो भने विशिष्ट अतिथि तथा अतिथिहरुले विद्यालयस्तरीय प्रतियोगितामा विजयी विद्यालयहरु र उत्कृष्ट खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रेम सुवालले प्रतियोगितामा प्रथम हुने हेटौडा उपमहानगरपालिकाको टिमलाई रु. १,५०,०००।–, दोस्रो हुने ललितपुर महानगरपालिकाको टीमलाई रु. १,००,०००।–, तेस्रो स्थान हासिल गर्ने काठमाण्डौ महानगरपालिकाको टीमलाई रु. ५०,०००।– नगद पुरस्कार, ट्रोफी, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले च्याम्पियन खेलाडीहरु बोर्ड १ बाट टोखा नपाका मिलन लामा, बोर्ड २ बाट भक्तपुर नपा “बी”का निकेन कुसाथा, बोर्ड ३ बाट दमक नपाका प्रकाश चन्द्र नेपाल, बोर्ड ४ बाट हेटौडा उपमहानगरपालिकाका रुपेश जैसवाल र बोर्ड ५ बाट भक्तपुर नपा “बी” का केशव मानन्धरलाई प्रति खेलाडी रु. ५,०००।– नगद पुरस्कार सहित ट्रोफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो । साथै उहाँले अन्तर नगर बुद्धिचाल प्रतियोगितामा सहभागि नगरपालिकाहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रमममा भक्तपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष निरन्जन प्रजापतिले ५ वटै वोर्डका च्याम्पियन खेलाडीहरु घोषणा गर्नुभएको थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो र भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।
भक्तपुर नपाको आयोजनामा ४ दिनसम्म सञ्चालित अन्तर नगर बुद्धिचाल प्रतियोगितामा मध्यपुर थिमी नगरपालिका, बनेपा नगरपालिका, भक्तपुर नगरपालिका ‘ए’ र ‘बी’, भिमेश्वर नगरपालिका, बुटवल उपमहानगरपालिका, चाँगुनारायण नगरपालिका, दैलेख नगरपालिका, दमक नगरपालिका, धरान उपमहानगरपालिका, हेटौडा उपमहानगरपालिका, कैलाली नगरपालिका, काठमाडौं महानगरपालिका, किर्तिपुर नगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, नागार्जुन नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, पोखरा महानगरपालिका, राजबिराज नगरपालिका, रुकुम नगरपालिका, सूर्यविनायक नगरपालिका र टोखा नगरपालिका गरी २२ वटा नगरपालिकाले सहभागिता जनाएको थियो ।

Leave A Reply

Your email address will not be published.