Explore news and happenings at Bhaktapur

भक्तपुर नपाको ७१ औं स्थापना दिवसमा नगर प्रमुख सुनिल प्रजापतिको मन्तव्य

सुनिल प्रजापति, प्रमुख, भक्तपुर नगरपालिका

0

भक्तपुर नगरपालिका स्थापना भएको आज ७१ वर्ष पूरा भयो । २००६ सालमा स्थापना भएको नगरपालिका विभिन्न उतारचढाबबीच आजको स्थितिमा आइपुगेको छ । सांस्कृतिक नगरको पहिचान बोकेको भक्तपुर नगरपालिकाको विकास र प्रगति तथा यहाँका जनताको जीवनस्तर उठाउने जिम्मेवारी आज हाम्रो काँधमा आएको छ । निर्वाचित भएको साढे तीन वर्षको अवधिमा हामी जनप्रतिनिधिहरुले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्दै आयौं । निर्वाचन घोषणापत्रमार्फत जनतालाई दिएको वचन पूरा गर्न हामी कोसिस गर्दैछौं । कामको सिलसिलामा भएका कमी कमजोरीहरुको आत्मसमीक्षा गर्दै अझ बढी जनताको सेवा गर्ने भावनाले काम गर्दैछौं ।

२०७७ सालको विगत ८ महिना कोरोना महामारीबीच नै बित्यो । हामी अत्यन्तै जटिल, कठिन र प्रतिकूल अवस्थामा काम गर्दैछौं । कोरोनाबाट जनतालाई बचाउनु अहिलेको हाम्रो पहिलो प्राथमिकता हो । भक्तपुर नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणको लागि जनतामा जनचेतना जगाउने, संक्रमण हुन नदिन विभिन्न उपायहरुबारे जानकारी दिने र संक्रमण भइहालेको अवस्थामा उपचार गर्नेसम्मको काममा जनतालाई सहयोग गर्दै आएको छ ।

विदेशबाट आएकाहरुका लागि क्वारेन्टाइनको व्यवस्था, नगरपालिकाकै ७५ शैøयाको आइसोलेसन केन्द्र स्थापना, घर घरमा एकान्तवास बसेकाहरुका लागि उचित व्यवस्थापनलगायतका काममा भक्तपुर नगरपालिकाले सक्दो सेवा प्रदान गर्दै आएको छ । नगरपालिकाले विदेशबाट आएका १५६ जना र आइसोलेसन केन्द्रमा बसेका ९६ जनाको सेवा गरिसकेको छ भने आगामी दिनहरुमा पनि आवश्यकता अनुसार सहयोग गरिरहनेछ । नेपाल सरकारको स्वीकृतिमा हाल भक्तपुर नगरपालिकाले अस्पतालको वार्डभन्दा माथिल्लो र आइसियुभन्दा कम तहको २५ शैøयाको एचडीयु(हाइ डिपेन्डेन्सी युनिट) सञ्चालनको तयारी गरिरहेको छ ।
यस चूनौतिपूर्ण घडीमा हामीले अत्यन्तै सचेततापूर्वक काम गर्दैछौं । हालसम्म भक्तपुर नगरपालिका क्षेत्रभित्र कूल संक्रमितहरु १७५५ भयो भने १६५० जना निको भइसकेका छन् र हाल सक्रिय संक्रमितहरु ६१ मात्र छ । हालसम्म जम्मा ४४ को मृत्यु भइसकेको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि जनस्तरबाट सहयोगको आह्वान गरिएकोमा आ. व. २०७७/७८ को साउनदेखि मंसिरसम्मको चार महिनामा विभिन्न संघ—संस्थाबाट प्रकोप व्यवस्थापन कोषमा रु. ४० लाख ८० हजार ७ सय ५५ रुपैयाँ ४२ पैसा रकम जम्मा भएको छ । नगरपालिकाको आह्वानलाई स्वीकार गरी सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्था र महानुभावहरुलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । कोभिड १९ रोग समुदाय स्तरमा फैलन नदिन एवं संक्रमितहरुको उपचार, कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसन व्यवस्थापनको लागि हालसम्म भक्तपुर नगरपालिकाले रु. २ करोड ३१ लाख ४३ हजार ९ सय ५१ रुपैयाँ खर्च गरिसकेको छ ।

जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवा, नगरका ठाउँ–ठाउँमा जनस्वास्थ्य केन्द्रहरु सञ्चालन गर्दै आएको छ । क्यान्सर अस्पताल, सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र र भक्तपुर अस्पताल जस्ता संघ र प्रदेशअन्तर्गतका अस्पतालहरु पनि भक्तपुर नगरपालिका क्षेत्रभित्रै छन् । ती सबै अस्पतालहरुले जनताको सेवा गर्दै आएका छन् । भक्तपुर नगरपालिकाले रु. ७६ करोडको लागतमा ख्वप अस्पताल भवन निर्माण गर्दैछ हाम्रै कार्यकालमा एक व्यवस्थित अस्पताल सञ्चालन गर्ने उद्देश्यकासाथ निर्माण कार्य तीब्र गतिमा अगाडि बढ्दैछ । हाल जनस्वास्थ्य केन्द्रहरुले दैनिक तीन चार सय बिरामीहरुको सेवा गर्दै आएकोमा अस्पताल सञ्चालनमा आएपछि अहिलेभन्दा धेरै बिरामीहरुको सेवा गर्न पाउनेछौं ।

भक्तपुर क्यान्सर अस्पताल देशकै एक महत्वपूर्ण अस्पताल हो । नगरपालिकाले प्रदान गरेको जग्गामा एउटा गैरसरकारी संस्थाले आफ्नो निजी सम्पतिसरह प्रयोग गर्दै वर्षमा करोडौंको भ्रष्टाचार गरिरहेको समाचार सार्वजनिक भयो । स्थानीय जनप्रतिनिधिको हैसियतले समाचारमा आएको बिषयमा सत्यतथ्य बुझ्ने कोसिस ग¥यौं तर तत्कालीन व्यवस्थापन समितिका कोही पनि पदाधिकारी नगरपालिकासँग छलफल गर्न चाहेनन् । अस्पतालका अधिकांश स्वास्थ्यकर्मी र कर्मचारीहरुले नगरपालिकाले अस्पतालको संरक्षण गर्न आग्रह गरेपछि २०७६ साउन ३० गते नगरपालिकाका प्रमुखको संयोजकत्वमा समिति गठन गरी कार्य अगाडि बढाइयो । सर्वोच्च अदालतले नगरपालिकाद्वारा गठित समितिलाई काम नगर्न अन्तरिम आदेश दिएपछि हाम्रा औपचारिक बाटाहरु बन्द भए । जनताको सम्पति संरक्षण गर्ने कार्यमा नगरपालिका चुप लागेर बसेन । २०७७ कार्तिकको अन्तिम साता नेपाल सरकार मन्त्रिपरिषद्ले भक्तपुर क्यान्सर अस्पताल गठन आदेश जारी गरी संघीय सरकारअन्तर्गत सञ्चालन गर्ने निर्णय ग¥यो । क्यान्सर अस्पतालको अरबौंको सम्पत्ति गैरसरकारी संस्था (एनजीओ) को हातबाट सार्वजनिक सम्पत्ति बनाउन सफल भयौं । त्यस काममा स्थानीय जनताले निरन्तर साथ र सहयोग गर्नुभयो । सरकारको त्यस कदमलाई सकारात्मक रुपमा लिँदै अबका दिनमा जनताले सस्तो र गुणस्तरीय उपचार सेवाको निम्ति हामी निरन्तर लागि रहनेछौं ।

भक्तपुर नगरपालिकाले संचालन गरिने श्वासप्रश्वास पुनस्थापना केन्द्र र आयुर्वेदिक स्वास्थ्य सेवा केन्द्र पनि अन्तिम तयारीमा छन् । श्वासप्रश्वास केन्द्र कोभिडकै कारण उद्घाटन हुन सकिरहेको छैन भने आयुर्वेदिक स्वास्थ्य उपचार केन्द्र छिटै नै सञ्चालनमा ल्याइनेछ ।

शिक्षा ः
शिक्षा मन्त्रालयले विद्यालयहरु संचालनको जिम्मा स्थानीय तहलाई दिएपछि कोरोनाको कारण नौ महिनाअघि बन्द भएका विद्यालय र कलेजहरु चरणबद्ध सञ्चालनको तयारी गर्दैछौं । लामो समय विद्यालय र कलेजहरु बन्द हुँदा लाखौं विद्यार्थीहरुलाई नकारात्मक असर पर्ने सम्भावनालाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले वैकल्पिक शिक्षण विधिलाई पनि निरन्तरता दिँदै विद्यालय सञ्चालन गर्दै लाने नीति लिएको हो । तर संघ सरकारका दुईवटा मन्त्रालय शिक्षा र स्वास्थ्य मन्त्रालयको बेग्लाबेग्लै निर्णयले स्थानीय तहहरुलाई अन्योल बनाइदिएको छ ।
स्वास्थ्य मापदण्डलाई पालना गरी विद्यालयहरु सञ्चालन गर्न शिक्षा मन्त्रालयबाट सबै स्थानीय तहको नाउँमा पत्र जारी गरेपछि धेरै स्थानीय तहहरुले कक्षा सञ्चालनको तयारी गर्दैछन् । मंसिर २६ गते स्वास्थ्य मन्त्रालयका प्रवक्ताले कक्षा सञ्चालनमा आपत्ति जनाउँदै पठनपाठन सुरु गर्दा संक्रमण भए जिम्मेवारी कसले लिन्छ ? भनी अप्रत्यक्ष रुपमा कक्षा बन्द गर्न दबाब दिए । एउटै सरकारमा दुई मन्त्रालयको परस्पर विपरीत निर्णयले लाखौं विद्यार्थीहरु प्रभावित हुनेछन् । संघ सरकारले अन्योलको स्थितिको तत्काल सुधार गर्न आवश्यक छ ।

भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण
भक्तपुर नपा वडा नं. २ ब्यासीस्थित साना औद्योगिक क्षेत्रमा सञ्चालित केही उद्योगपतिहरुसँग नगरपालिकाको विवाद कायमै छ । उक्त औद्योगिक क्षेत्र २०३६ सालमा परम्परागत सीपमा आधारित हस्तकला उद्योग स्थापना गर्न जग्गा अधिग्रहण गरेको थियो । पछि ध्वनी, धुँवा र रसायन प्रदूषण फाल्ने उद्योगहरु स्थापना गरियो । जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने टेक्सटायल, डाइङ, प्लाष्टिक र रङ्रोगन उद्योग हटाउन स्थानीय जनताले बारम्बार माग गरे । त्यहाँ स्थापित उद्योगहरुले वर्षौंदेखि नगरपालिकालाई कानुनबमोजिम तिर्नुपर्ने कर समेत तिरेका छैनन् । नगरपालिकालाई तिर्नुपर्ने झण्डै एक करोड रुपैयाँ कर समेत तिरेका छैनन् ।
नेपाल सरकारले २०७३÷७४ को बजेटमा समेत उद्योगहरु काठमाडौं उपत्यकाबाहिर स्थानान्तरण गर्ने उल्लेख गरेको थियो । स्थानीय जनताको मागअनुसार उद्योगहरु स्थानान्तरणको लागि हामीले उद्योग राज्यमन्त्री, उद्योग क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीसित पटक–पटक अनुरोध ग¥यौं । माननीय प्रेम सुवालज्यूले यसबारे निरन्तर पहल गरिरहनुभएको छ भने संसदीय समितिमा पनि उहाँले यस विषयमा कुरा उठाउनुभएको छ । उद्योग मन्त्रालयको तर्फबाट मन्त्रालयका सहसचिवको संयोजकत्वमा एउटा अनुगमन समिति गठन गरिएको छ भने संसदीय समितिको तर्फबाट पनि अर्को समिति गठन गरिएको जानकारी प्राप्त भएको छ । समिति गठन गरेर जनताको भवनालाई पन्छाउने काम नहोस्, समितिले जनताकै पक्षमा प्रतिवेदन दिने र त्यसको कार्यान्वयन हुनेमा हामी आशावादी छौं ।

रासायनिक मल अभाव ः
कृषिप्रधान देशमा खेतीको समयमा रासायनिक मल छैन भन्नुपर्दा सरकारमा बसेका मन्त्रीहरुलाई लाज लाग्नुपर्ने हो । मलको हाहाकार भएर जनता नगरपालिकामा डेलिगेसन आउन थालेपछि जनताको समस्याबारे कृषिमन्त्री घनश्याम भूषाल, साल्ट ट्रेडिङ कर्पोरेसन प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ र कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्धक सञ्चालक नेत्रबहादुर भण्डारीलाई भेटी यथाशक्य चाँडो मल आपूर्तिको लागि ध्यानाकर्षण ग¥यौं । तापनि हालसम्म सहज रुपमा मल उपलब्ध गराइएको छैन । समयमा रासायनिक मल दिन नसकेमा त्यसले राष्ट्रिय उत्पादनमा समेत प्रत्यक्ष असर पार्नेछ । यसबारे भक्तपुर नगरपालिकाले बारम्बार सम्बन्धित पदाधिकारीहरुको ध्यानाकर्षण गर्दै आएको छ ।

ङातापोल्हँ जीर्णोद्धार कार्य ः
धेरै सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धारसँगै यो वर्ष प्रसिद्ध ङातापोल्हं(पाँचतले) मन्दिरको जीर्णोद्धार सम्पन्न भयो । २०७६ साल कार्तिकबाट सुरु भएको जीर्णोद्धार कार्य २०७७ असार मसान्तमा सम्पन्न भयो । उक्त मन्दिर जीर्णोद्धारमा उल्लेख्य जनश्रमदान र आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको थियो । रु.६५लाख १३ हजारको लगत इष्टमेटमा मन्दिर जीर्णोद्धार कार्य शुरु गरिएकोमा रु. १५ लाख ४७ हजार आर्थिक सहयोग, ५ लाख ६३ हजारको भौतिक सामग्री सहयोग प्राप्त भयो भने ४१८७ जना नगरबासीहरुले श्रमदान गर्नु भएको थियो । सम्पदा पुनःनिर्माण वा जीर्णोद्धारमा भक्तपुर नगरबासीहरुमा स्वयम्स्फूर्त रुपमा श्रमदान गर्ने भावना छ । यो भावनालाई निरन्तर जीवन्त राख्न प्रयास जारी राख्न आवश्यक छ । मन्दिर जीर्णोद्धारसम्बन्धी सम्पूर्ण विवरणसहितको पुस्तक निकाल्ने तयारी पनि गर्दैछौं ।

संघीयताबारे ः
संघीयताको अर्थ अधिकार बाँडफाट हो । नेपालको संविधानले नै संघ, प्रदेश र स्थानीयको अधिकार विभाजन गरिएको छ । तर संघ र प्रदेश सरकार योजना छनोटदेखि कर्मचारी नियुक्तिसम्म सम्पूर्ण क्षेत्रमा हात हाल्दैछन् । विशेष र सःशर्त अनुदानको नाउँमा स्थानीय तहले गर्ने विकास निर्माणका योजनाहरुको छनौट संघ र प्रदेशले गर्दैछन् । योजना छनोटको अधिकार समेत संघ र प्रदेशको नियन्त्रणमा राख्नु एकात्मक राज्य प्रणालीकै पुनरावृत्ति हो र त्यो संघीयताको मर्मविपरीत कार्य हो । राज्यको अधिकांश बजेट स्थानीय तहलाई पठाउनु पर्ने र आवश्यकताको आधारमा योजना छनोट गर्ने अधिकार स्थानीय तहलाई हुनुपर्दछ ।
स्थानीय तहहरुले केन्द्रले पठाएका कर्मचारीहरुलाई हाजिर नगराएको भन्दै सरकारले पठाउने अनुदानसमेत कटौती गरेको छ । स्थानीय आवश्यकताअनुसार स्थानीय तहले नै कर्मचारी राख्न पाउनुपर्ने माग हामीले गर्दै आएका छौं । संघ र प्रदेशले पठाएका कर्मचारीलाई स्वीकार गर्नुपर्ने बाध्यकारी बनाउनु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप हो । स्थानीय तहले तलब खुवाउँदै आएका शिक्षकहरु स्थानीय तहप्रति नै उत्तरदायी बनाउनु पर्ने हो । जसले तलब खुवाउँछ, नियन्त्रण उसको हुनु पर्ने नियन्त्रणको सामान्य नियम हो । तर शिक्षकहरु सरुवा वा कुनै काम गर्दासमेत जिल्ला शिक्षा समन्वय एकाइको अनुमति लिनुपर्ने व्यवस्था मन्त्रालयको हस्तक्षेपको अर्को नमूना हो ।
प्रदेश सरकारले कर्मचारीसम्बन्धी कानुन निर्माण गरी नदिँदा लामो समयसम्म सेवामा कार्यरत कर्मचारीहरुको वृत्तिविकासमा बाधा पुगिरहेको छ । यसतर्फ प्रदेश सरकारको ध्यान जाने आशा गर्दछौं ।
भक्तपुर नगरपालिकाले सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार मौलिक शैलीमै गरिरहेको छ । पुनःनिर्माण प्राधिकरणले भक्तपुरमा सम्पदाहरुको पुनःनिर्माणका लागि बजेट विनियोजन गर्ने पटक–पटक आश्वासन दिए पनि हालसम्म कुनै रकम प्राप्त भएको छैन । अर्बौ रुपैयाँ बैंकमा राखेर सम्पदा आफैं निर्माण हुँदैन भन्ने कुरा सम्बन्धित पदाधिकारीहरुले बुझ्नु पर्ने हो ।
हरेक कुरा ठेक्कामै गराउने, संरचनाको गुणस्तरमा भन्दा कमिसनमा लोभ गर्ने पदाधिकारीहरुले देशको मौलिक प्रविधिलाई बचाइराख्न सक्दैनन् । हरेक कामको लागि जनप्रतिनिधिहरु सिंहदरबार धाउने प्रवृत्तिले संघीयताको उपहास गरिरहेको छ ।
स—साना विकास निर्माणको लागि समेत विदेशीसामू हात थाप्ने बानीले हामीलाई कहिल्यै आत्मनिर्भर र स्वाभिमानी बन्न दिनेछैन । सहयोगको नाउँमा आउने विदेशीको स्वार्थसँग भक्तपुर नगरपालिका अत्यन्त सचेत छ । भक्तपुर नगरपालिका ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ को नारालाई सार्थक बनाउन स्थानीय जनताकै सहयोगमा यहाँका सम्पदाहरु उठाउन प्रयत्नशील छ । भक्तपुरको पुरानो बस्तीको पहिचानलाई बचाइराख्न मौलिक शैलीमा घर निर्माण गर्नेहरुलाई नगरपालिकाले आर्थिक सहयोग पनि गर्दै आएको छ ।

उपस्थित साथीहरु,
भक्तपुर नगरपालिका जनताको जीनवप्रति जति जिम्मेवार भएर काम गर्दैछ र त्यति नै आफ्नो काम, कर्तव्य र अधिकारप्रति सचेत पनि छ । खानेपानीको व्यवस्था, ट्राफिक व्यवस्थापन, सहकारीलाई जनताप्रति बढी जिम्मेवार बनाउने लगायतका कार्यमा भक्तपुर नगरपालिका निरन्तर लागिरहेको छ ।

जनसंख्या वृद्धिसँगै पूर्वाधारहरुको आवश्यकतालाई ध्यानमा राखी तुमचो दुगुरे चोखा जग्गा एकीकरण आवास योजना हालै सम्पन्न भएको छ भने देको मिवा इटापाके आवास योजना सञ्चालनमा छ ।

भक्तपुर नगरपालिकाले युवा, महिलालक्षित विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएकोमा यो वर्ष कोभिडको कारण रोकिएको छ र परिस्थिति सामान्य भएपछि ती कामहरुलाई पनि निरन्तरता दिइनेछ ।

सार्वजनिक, सरकारी तथा पर्ति जग्गा संरक्षणलाई निरन्तरता दिंदै आएका छौं । ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी आदर निकेतन सञ्चालनको तयारी गर्दैछौं । साथै शहरको सुन्दरता बढाउन सरसफाइ, हरियाली प्रवद्र्धन र जथाभावी छरिएर रहेका तारहरु व्यवस्थित रुपमा भूमिगत बनाउने प्रक्रिया पनि सुरु भएको छ ।
अन्त्यमा, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै जनताको जीवनस्तर उठाउन पनि हामी जनप्रतिनिधिहरु निरन्तर लागिरहेका छौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. रोहितले कल्पना गर्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ हाम्रो सपना हो । हामी त्यसैलाई मार्गदर्शनको रुपमा लिँदै काम गर्दैछौं । सांस्कृतिक प्रशिक्षण, सम्पदाहरुको संरक्षण, सांस्कृतिक गतिविधिहरु र मौलिकता संरक्षण यसैको सिलसिला हो । ढिलो या चाँडो हामी आफ्नो गन्तव्यमा पुग्न सफल हुनेमा आशावादी छौं । धन्यवाद

(भक्तपुर नगरपालिकाको ७१ औं स्थापना दिवसको अवसरमा पुस २ गते आयोजित कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

Leave A Reply

Your email address will not be published.