Explore news and happenings at Bhaktapur

भक्तपुर नपामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

२०७७ मंसिर २६ गते, शुक्रबार

0

देशभर प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । ‘लैंगिक हिंसा अन्त्यको प्रतिद्धबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार सचेतनामूलक कार्यक्रम जुममार्फत सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लैंगिक हिंसाको स्रोतको पहिचान गर्नु आजको आवश्यकता भएको बताउनुहुँदै उहाँले छाउपडी, दाइजो प्रथा लगायतका अन्धविश्वासका कारण नेपाली समाजमा लैंगिक हिंसा दिन प्रतिदिन बढिरहेको छ भन्नुभयो ।

भक्तपुर नपाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई जनताको सांस्कृतिक स्तर उठाउन र जनचेतना जगाउने अभियानको रुपमा लिएको बताउनुहुँदै एनजीओ आइएनजीओले लैंगिक समानताको नाममा लाखौं रकम अनावश्यक रुपमा खर्च गरिरहेको उहाँले बताउनुभयो ।

गरिबीका कारण धेरै मानिसहरु समाजमा हेपिनुपर्ने यथार्थ प्रस्तुत गर्नुहुँदै नगर प्रमुख प्रजापतिले समाजलाई माथि उठाउन युवा—विद्यार्थीहरूलाई समानस्तरको शिक्षा र रोजगारीको बन्दोबस्त अपरिहार्य भएको बताउनुभयो ।

सिंगो समाजलाई बदल्नको निम्ति भक्तपुर नपाले शैक्षिक संस्थाहरु सञ्चालन गरी देशभरिका विद्यार्थीहरुलाई समानस्तरको शिक्षा प्रदान गरिरहेको बताउनुहुँदै महिलाहरुलाई आरक्षणको बन्दोबस्तले गर्दा अगाडि बढ्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । महिलाहरु राजनीतिक रुपले अगाडि बढ्नुपर्ने आवश्यकताबोध गराउनुहुँदै उहाँले समाजवादी देशमा आर्थिक समानता हुने हुँदा महिला र पुरुषबीच कुनै भेदभाव नरहने बताउनुभयो ।

इमानदारीपूर्वक देश र जनताको सेवा गर्नु नै राजनीति भएको बताउनुहुँदै उहाँले भक्तपुर नपाले नेमकिपाको नीतिअनुरुप समाजलाई बदल्न जनप्रतिनिधिहरु प्रतिबद्ध भई नगरको सन्तुलित विकासको लागि समर्पित भएर काम गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले न्यायिक समितिमार्फत स्थानीय पीडित जनताहरुको पक्षमा कार्य गर्दै आइरहेको बताउनुहुँदै मानवमाथिको हिंसा निर्मूल गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभयो । लैंगिक हिंसाबाट सबै जनता सचेत हुनुपर्ने बताउनुहुँदै उपप्रमुख जोशीले नागरिक भावना र सुसंस्कृत समाज निर्माणको निम्ति भक्तपुर नपा प्रतिबद्ध भएर अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

भक्तपुर नपा कर्मचारी एशोसियसनका अध्यक्ष गौतमप्रसाद लासिवाले नेपालमा हिंसासम्बन्धी ऐन कानुनको फितलो कार्यान्वयनका कारण लैंगिक हिंसाका घटना दिनप्रतिदिन बढिरहेको बताउनुहुँदै पुँजीवादी बन्दोबस्तमा तुलनात्मक रुपमा लैंगिक हिंसाका घटनाहरु बढी हुने गरेको बताउनुभयो ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुमित्रा गौतमले भक्तपुर अस्पतालमा लैंगिक हिंसामा परेका व्यक्तिहरु पनि उपचार हुँदै आइरहेको बताउनुहुँदै लिंगको आधारमा कसैलाई हिंसा गर्नु अपराध हो भन्नुभयो ।

कार्यक्रममा भक्तपुर महानगरीय प्रहरी परिसरका सई सानुमैयाँ श्रेष्ठले भक्तपुरमा घरेलु हिंसा र महिला हिंसाको तथ्यांक प्रस्तुत गर्दै आफन्तबाटै यौनजन्य हिंसा हुनेतर्फ सबैजना सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्यद्वय रोशनमैँया सुवाल र सरिना द्योलाले लैंगिक हिंसाका विभिन्न पक्षबारे प्रष्ट पार्नुहुँदै हरेक क्षेत्रमा महिलाहरुको संलग्नता र सहभागिताले घरेलु हिंसाहरुमा कमी आएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.