नेपालभाषा लिपि, चिनियाँ भाषा र बगैंचा हेरचाह तालिम सम्पन्न
भक्तपुर,२०७५ कार्तिक २५ गते अाइतबार ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित नेपालभाषा रञ्जना लिपि तथा प्रचलित लिपिसम्बन्धी प्रशिक्षण, चिनियाँ भाषा कक्षा तथा नर्सरी व्यवस्थापन एवं बगैँचा हेरचाहसम्बन्धी तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा एड्भान्स सिलाइको उद्घाटन आइतबार एक कार्यक्रमबीच सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरवासीहरूलाई आत्मनिर्भर बनाउने तथा समाजको प्रगतिमा योगदान गर्ने हेतुले नगरपालिकाले विभिन्न तालिमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
नेपाली युवाहरूमा विदेश मोह बढेकोमा चिन्ता व्यक्त गर्दै प्रमुख प्रजापतिले ज्ञान र सीप जहाँ गएर पनि सिक्न सकिन्छ तर आफूले सिकेको सीप र ज्ञान देश र समाजको हितमा उपयोग गर्नुपर्छ भन्नुभयो ।
उहाँले देशको राजनैतिक व्यवस्था पुँजीवादी भएकोले युवाहरूमा भविष्यप्रति निराशा उत्पन्न भएको उल्लेख गर्दै निराशाको अन्तिम परिणाम आत्महत्या हुने भएकोले सङ्घर्षशील भावनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उपप्रमुख रजनी जोशीले काठमाडौं उपत्यकाको कला, संस्कृति र रीतिरिवाज विशिष्ट भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवद्र्धनका लागि युवाहरू सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
वडा अध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिका सबै नगरवासीहरूको साझा संस्था भएकोले नगरको विकास तथा नगरवासीहरूको हितमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष राजकृष्ण गोरा, लक्ष्मीप्रसाद ह्यौँमिखा र कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले नगरपालिकाले सञ्चालन गर्दै आएका विविध तालिमहरूबारे जानकारी दिनुभयो ।
प्रशिक्षकहरू आशाकुमार चिकंबञ्जार, राजेन्द्र चवाल र रमीन्द्र सुवालले पनि कार्यक्रममा बोल्नुभएको थियो ।