Explore news and happenings at Bhaktapur

सहरी कृषि र खाद्य सुरक्षा

0

देशको अर्थतन्त्रबारे विश्लेषण गर्ने बेला कृषि मुख्य विषयमा आउँछ । नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषिले ३५ प्रतिशत ओगटेको छ । वि.सं. २०६८ को जनगणनाअनुसार कृषिमा निर्भर जनसङ्ख्या ६५.५ प्रतिशत छ । कृषि प्रधान देशको रूपमा गलत व्याख्या भइरहेको पाइन्छ । ६५.५ प्रतिशतले बाँकी ३४.५ प्रतिशत जनतालाई पुग्ने उत्पादन गर्न नसक्नुको अर्थ नेपालको कृषि निर्वाहमुखी अवस्था रहेको दर्साउँछ ।

अनुसन्धान केन्द्रहरू राजनीति र भागवन्डा गर्ने थलोको रूपमा विकसित भएको कारण ठोस प्रगति हुन नसकेको हो ।

सरकारले अनुदान र सहयोगका विभिन्न परियोजनाहरू ल्याए तर कुनै सफल हुन सकेनन् । भ्रष्टाचार, कमजोर प्रशासन संयन्त्र र अव्यवहारिक कृषि योजनाहरूका कारण सरकारको मेहेनत बालुवामा पानी खनाएको सरह छ । अन्तर्राष्ट्रिय व्यापारमा सधैं घाटाको प्रतिवेदन चिन्ताको विषय हो । कृषि उत्पादन र उत्पादकत्व अन्य देशको तुलनामा बढाउन सकेको छैन । अनुसन्धान केन्द्रहरू राजनीति र भागवन्डा गर्ने थलोको रूपमा विकसित भएको कारण ठोस प्रगति हुन नसकेको हो ।
कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउनु र मूल्य श्रृंखलामा काम गर्नु उत्तम विकल्प मानिन्छ । करेसा बारी, कौसी, टनेल खेती, वरपरका खेत–बारीमा गरिने सबै खेती सहरी कृषिअन्तर्गत पर्दछ । प्रयोगमा नआएका सरकारी जग्गा, व्यक्तिगत जग्गा, भवनलगायतका सबै स्थानहरूमा खेती गर्न सकिन्छ ।
यो लेख सहरी क्षेत्रको कृषि उत्पादनको माग आपूर्तिको लागि सहर र वरपरका क्षेत्रमा कृषिलाई व्यवस्थित र आधुनिक गर्ने विकल्पमा केन्द्रित छ ।

माछापालन
दैनिक भोजनमा स्वास्थ्यको हिसाबले माछाको स्थान महत्वपूर्ण छ । अन्य मासुको तुलनामा माछालाई सामान्य मानिसदेखि लिएर बिरामीहरूको लागि अत्यन्त राम्रो मासु भएकाले बजारमा माछाको माग अत्यधिक छ । केही जानकारी, सिप र ज्ञान भएका व्यक्तिका लागि माछापालन एक सजिलो व्यवसाय हो ।
प्राकृतिक पोखरी, नदी, खोला र मानवनिर्मित पोखरीहरूमा माछापालनको सम्भाव्यताको प्राविधिक अध्ययन र अनुसन्धान गर्नुपर्दछ । प्रयोगमा नआएका तर प्रयोग गर्न सकिने ती स्रोतसाधनहरूलाई व्यवस्थित बनाउन माछापालन गर्नुपर्दछ । परम्परागत रूपमा गरिएका माछापालनमा आधुनिकता ल्याउन अहिले धेरै प्रविधिहरू बजारमा आइसकेका छन् । पोखरी सरसफाइ, पानीको गुणस्तर जाँच्ने र सुधार गर्ने काममा नियमितता चाहिन्छ । सार्वजनिक पोखरीहरूमा गरिने माछापालनको लागि आवश्यक तालिम र सीप दिन सके मनग्गे आम्दानी आर्जन गर्न सकिनेछ । रसायन र चिस्यानमा राखिएका माछालाई धेरै मात्रामा भए पनि विस्थापन गर्न सके स्वस्थ र ताजा माछाका परिकार उपलब्ध हुनसक्छ ।

कौसी खेती
विकसित देशका सहरहरूमा कौसी खेती सफल र प्रचलित प्रविधिभित्र पर्दछ । सहरी क्षेत्रमा खुल्ला खेतीयोग्य जमिनको अभाव भएसँगै घरका छत, बरन्डालगायतलाई कौैसी बारीमा परिणत गर्न सकिन्छ । होनोलुलु भन्ने सानो सहरमा मात्रै ३,१०० रोपनी क्षेत्रफल कौसी खेतीले ओगटेको छ । ५ जनाको एक परिवारको लागि ताजा तरकारी पु¥याउन एक वर्षको लागि ४० वटा गमला वा २० वटा काठको बाकस वा ३० गोटा खाली जुटको बोरा आवश्यक हुन्छ ।
कौसी खेतीको लागि कौसीमा हल्का सामग्रीको प्रयोेग अर्थात प्रति वर्ग फिट एक किलो वजनभन्दा नबढाई माटो तयार गर्नुुपर्दछ । कौसी खेतीको लागि होचा तरकारी, मसलाबाली, कलमी गरिएका फलफूलका बोटहरू छनोट गरिनु उपयुक्त हुन्छ । कौसी खेती गर्दा घरको ढलानमा असर नपुग्ने र पानी नचुहिने गरी व्यवस्था गर्नुपर्दछ । कौसी खेतीबाट उत्पादित तरकारी तथा फलफूलहरू तुलनात्मक रूपमा ताजा र स्वस्थ हुने गर्दछ । कौसी खेतीमा भान्छामा खेर गएका पानी र आकासे पानीको प्रयोग गर्न सकिन्छ साथै भान्छाबाट निस्किने कुहिने वस्तुहरूबाट प्राङ्गारिक मल बनाउन सकिन्छ । साथै घरेलु प्रविधिबाट बन्ने जैविक विषादी गिटी मल’ उत्पादन गर्न सकिन्छ ।
घरको दायाँ–बायाँमा रहेको खाली जग्गालाई खेतीयोग्य जमिनको रूपमा परिणत गर्दै बाली गर्ने विधिलाई करेसाबारी भनिन्छ । फलफूल, तरकारी र मसलाबाली उत्पादन गर्न सकेमा घरेलु खर्चमा कटौती हुन्छ र घरकै कौसीमा फलेको तरकारी सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ ।

बेमौसमी तथा सघन खेती
केही बाहेक सम्पूर्ण कृषकहरूले अन्नबाली, तरकारीबाली, फलफूल बाली मौसमअनुसार खेती गरिरहेका छन् । आकासे पानीमा निर्भर खेती प्रणालीमा बालीको उत्पादनमा जोखिम बढी रहन्छ । सापेक्षित आद्रता, तापक्रम, माटोको पि.एच्. आदि बदलेर गरिने खेतीलाई बेमौसमी खेती भनिन्छ । बेर्ना उत्पादन र खेती प्लास्टिक टनेलभित्र गर्ने तरिकामा वृद्धि भइरहेको छ । यसको आकार आफ्नो जग्गाको क्षेत्रअनुसार गर्न सकिन्छ । मौसमी उत्पादनको तरकारी बजारमा नआएको समयमा बेमौसमीबाट उपलब्ध गराउन सके राम्रो मूल्य प्राप्त गर्न सकिन्छ । यसबाट बा¥है महिना तरकारीको उपलब्धता रहन्छ । बाँसबाट निर्मित टनेलभन्दा फलामबाट निर्माण गरिएका टनेलहरू टिकाउ हुने र काम गर्न सजिलो र फाइदा हुने गर्दछ । बेमौसमी खेतीमा आधुनिक औजार–मेसिन, उन्नत बीउबिजन, विषादी, मल, थोपा सिंचाईलगायतका प्रविधिहरूको प्रयोगको आधार पनि निर्माण हुन जान्छ ।
परम्परागत खेतीको विकल्प व्यवसायिक खेती हो । प्रति एकाइ लागत र प्रतिफल दुवै बढी हुने कारणले यस खेतीलाई सघन खेती भनिन्छ । परम्परागत प्राणालीमा भन्दा सघन खेतीमा खेतलाई बाँझो राख्ने समय निकै छोटो हुन्छ र उत्पादन निरन्तर भइरहन्छ । सहरी क्षेत्रमा बारी र खेत नजिक हुने र यातायातको पहुँच भएको कारण यो प्रविधिलाई प्रोत्साहन गर्नु राम्रो हुन्छ । एक वर्षमा धेरै पटक बाली लिन मल, विषादी र मेसिनरी सामग्रीको पनि अत्यधिक प्रयोग गरिन्छ । मौसम, पानी, माटो, झारपात र रोग–किराबारे विस्तृत अध्ययन र व्यवस्थापन गरिन्छ । यो प्रणालीको प्रयोग कृषि र पशु दुवैमा गर्न सकिन्छ । यो क्षेत्रमा काम गर्न थाल्ने बेला उत्पादित कृषि उपजहरूको भण्डारीकरण र बजारीकरणमा विशेष ध्यान प-याउनु आवश्यक पर्छ । यसले यो व्यवसायमा दिगोपना प्रदान गर्दछ ।

पशुपालन
मानिसको आहारामा नछुटिने परिकारमा मासु पर्दछ । राँगा, बंगुर, बाख्रा, भेंडा, कुखुरा, हाँसलगायतका पशुहरूको मासु मानिस रुचाउँछन् । मानिसहरू स्वास्थ्यमा निकै सचेत हुन थालेसंगै बजारी क्षेत्रमा मासुको माग बढ्दो छ । मानिसको शरिरको लागि दैनिक ५० ग्राम प्रोटिन आवश्यक पर्छ ।
सहरको वरपर गरिएका कुखुरापालन, बाख्रापालन, गाई–भैंसीपालन, बंगुरपालनलगायतका व्यवसायको स्तरउन्नति गर्ने र आकार तथा सङ्ख्यामा वृद्धि गर्न सके सहरको मात्र पुरा गर्न सकिन्छ । सहर वरपरका क्षेत्रमा जग्गा, घाँस, पानीलगायतको उपलब्धतालाई सदुपयोग गर्ने प्रशस्त आधारहरू छन् । परम्परागत तवरले थोरै सङ्ख्यामा यी वस्तु पाल्नाले उत्पादनमा कमि हुने र आर्थिक रूपमा घाटामा जाने हँुदा यसलार्ई व्यवसायिकता प्रदान गर्न सङ्ख्यामा वृद्धि गर्नु राम्रो हो ।
ताजा र स्वस्थ मासु र दुधको उत्पादनले सहरी क्षेत्र आत्मनिर्भर बन्न सक्दछ । स्थानीय स्तरमा गर्न सकिने यो कामलाई प्रोत्साहनको जरुरी छ । तालिम र सहयोगले सहरी क्षेत्रको मासु उत्पादनमा मद्दत पुग्दछ ।

मौरीपालन
मह मानिसको शरीरलाई स्वस्थ राख्न र विभिन्न रोगहरू निराकरण गर्न प्रयोग गरिन्छ । विभिन्न जातका मौरीहरूबाट उत्पादित महमा औषधिको गुण हुने गर्दछ । यसकारण पनि सहर बजारमा महको माग अत्यधिक छ ।
आयात गरिएका महको गुणस्तरमा विश्वास गर्न नसकेको अवस्थामा स्थानीय रूपमा नै उत्पादन गर्न सकिन्छ । सहरको वरपर रहेका वनजंगल, खेती–बारी, कौशीलगायतका स्थानहरूको खेर गइरहेको स्रोतसाधनलाई प्रयोगमा ल्याउने अर्को विधि मौरीपालन हो । जडिबुटी र फलफूल चरनबाट उत्पादित मह स्वस्थवर्धक हुन्छ । पुष्पखेतीसँग मौरीपालन प्रत्यक्ष रूपमा संलग्न छ ।
मौरीपालन सजिलो आम्दानी गर्न सकिने व्यवसायको रूपमा विकसित देशहरूमा अगाडि बढेको देखिन्छ । लन्डनमा सन् १९९९ बाट सन् २०१२ सम्ममा मौरीपालक २२० प्रतिशतले बढेको थियो । न्युयोर्कमा मानिसलाई आक्रमण नगर्ने मौसी एपिस मेलिफेरा जस्ता जातको मात्र पालन गर्ने अनुमति छ । सहरी क्षेत्रमा मौरीपालक कृषकलाई विशेष तालिमको आवश्यकता पर्दछ ।

च्याउ खेती
च्याउ एक प्रकारको खानयोग्य ढुसी हो । शाकाहारी मानिसले मासुको स्थानमा च्याउलाई राख्ने गर्दछ । मासुबाट पाउने अत्यधिक एमिनो एसिड लगायतका पौस्टिक तत्व च्याउबाट उपलब्ध हुन्छ । नेपालमा च्याउको माग धेरै भए पनि सो अनुसारको उत्पादन हुन सकेको छैन ।
कन्ये च्याउ, गोब्रे च्याउ, सिताके च्याउ, गानोडर्मा च्याउ अहिले कृषकहरूले गरिरहेका विभिन्न जातका च्याउ हुन् । स्थानीय रूपमा उपलब्ध हुने पराल, काठ आदिको प्रयोगबाट च्याउको उत्पादन गरिन्छ । च्याउको लागि शुरुमा काम अलि वढी भए पनि पछाडिका समयमा काम हल्का हुन्छ । पानी, रोगकीरा, तापक्रम र सापेक्षित आद्रताको व्यवस्थापन गर्न सके उत्पादनमा आउने समस्या निराकरण गर्न सकिन्छ । घरको कोठा र टहराहरूमा सजिलै गर्न सकिने यो खेती सहरी भेगमा प्राथमिकतामा राखिनुपर्दछ । च्याउको उत्पादन गरी व्यवस्थित बजारीकरण गर्न सके रोजगारीको राम्रो अवसर हो ।

पुष्प खेती
फूलको माग विवाह, भोज, होटल, रेष्टुरेन्ट, चाडवाडलगायतका कामकाजको लागि आवश्यक हुन्छ । गुलाव, सयपत्री, मखमली, गादावरी, धुपीलगायतका फूलको माग अत्यधिक छ । सहरी क्षेत्रको माग आपूर्ति गर्न यसको उत्पादन वृद्धि गर्नुपर्ने देखिन्छ । मौसमी र बेमौसमी दुबै तरिकाबाट गर्न सकिने र आम्दानी गर्ने राम्रो सम्भावना बोकेकोयो व्यवसायप्रति मानिसहरू आकर्षित छन् ।
प्रयोगमा नआएका जग्गाहरूलाई प्रयोगमा ल्याउन यस खेती उपयोगीछ । तरकारी बाली वरपर पनि यसको खेतीको सम्भावना छ । चाडवाडलाई विशेष ध्यान प-याएर बजारको माग अनुसारका प्रकार र जात छनौट गरी उत्पादन गर्दा राम्रो आम्दानी हुन सक्छ । होटल, रेष्टुरेण्ट, सडक, घरहरूको विकाससंगै यसको मागमा अत्याधिक वृद्धि भएको हो ।

प्रशोधन कारखाना
कृषि उपजलाई सिधै बजारमा बेच्दा आम्दानी कम मात्र हुने हँुदा यी उपजहरूलाई प्रशोधन गर्न सकेमा मूल्य अभिवृद्धि गर्न सकिन्छ । कृषि वस्तुलाई प्रशोधन गर्ने थुप्रै उपायहरू छन् जस्तैः–
माछापालन ः माछाको पाउडर, अचार, औषधिमा प्रयोग ।
पशुपालन ः मासु, दुग्ध खाद्य वस्तु (पाउडर, चिज, घिउ, पनिर, दही) आदि ।
च्याउ ः पौष्टिक पाउडर
मौरीपालन ः मह, मैन आदि ।

निष्कर्ष
कृषिलाई व्यवसायको रूपमा विकास गरिनुपर्दछ । परम्परागत खेती प्रणालीमा आधुनिकता र व्यवसायिकता ल्याउन जरुरी छ । सघन खेती, बेमौसमी खेती, नगदे बाली, मौरीपालन, माछापालन, पशुपालनलगायतमा प्रोत्साहन दिनुपर्दछ । चिस्यान केन्द्र र प्रशोधन कारखानाहरू स्थापना व्यवसायिक कृषिको सूचक हो । यसैबाट रोजगारीको सृजना गर्नु बुद्धिमानी हो । लगानीको वातावरण बनाउनुका साथै सरकारी सहयोगले कृषकहरू प्रोत्साहित बन्ने गर्दछ ।

सहरी क्षेत्रमा आवश्यक खाद्यवस्तु सधैं विदेश र ग्रामीण भेगमा निर्भर रहनुभन्दा सहरी क्षेत्रको उत्पादनले अन्तर्राष्ट्रिय व्यापारमा कृषि वस्तु निर्यात गर्न मद्दत गर्दछ । विदेशी आयातमा केही कटौती गर्न सकेमात्र पनि राम्रो हुन्छ । नेपालीको खाद्य संकट र गरिबी हटाउने कृषि क्षेत्रलाई महत्वपूर्ण स्थान दिनुका साथै उत्पादनमा काम गरे आर्थिक उननतिमा अगाडि बढ्न सक्दछौं । रसायनिक र प्राङ्गारिक मल, विषादी, उन्नत जातको बीउ, उन्नत नश्लको पशु, सिंचाई, मेसिनरी सामग्रीको उपलब्धता गर्न ती स्थानीय निकायहरू सजग हुनुपर्छ । उत्पादित वस्तुहरूको भण्डारण, बजारीकरण, प्रशोधनमा विशेष कार्यक्रमहरू आवशयक छ । सरकार र स्थानीय निकायका कृषि फाँटका जिम्मेवार पक्षले यसमा प्रभावकारी भूमिका निभाउन सके खाद्य सुरक्षा र अर्थतन्त्र दुवैमा योगदान पुग्नेछ ।

Leave A Reply

Your email address will not be published.