Explore news and happenings at Bhaktapur

‘देश र समाजको सेवाको भावनाले उच्च शिक्षा हासिल गर्नु पर्छ’

सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका

0

बागीश्वरी मा.वि.लाई आफ्नो भविष्य निर्माण गर्ने थलो सम्झेर भर्ना भएका नव आगन्तुक सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरु तथा अभिभावकहरुलाई हार्दिक स्वागत गर्दछौं । नयाँ भर्ना भएका सबै विद्यार्थीहरु आजैबाट यस विद्यालयको सदस्य भइसकेको हुँदा विद्यालयको अनुशासन पालना गर्नु सबैको कर्तव्य हुनेछ । कार्यबmम चलिरहन्दा केही विद्यार्थीहरुले अनुशासन बाहिर गएर गतिविधि गरेको पाइएको छ । विद्यार्थीहरुले गलत कामहरुलाई नियन्त्रण गर्दै लानुपर्छ । पहिले जस्तोसुकै बानी व्यहोरा भए पनि अबदेखि त्यसमा सुधार गर्नु आवश्यक छ । नभए विद्यालयको नियम अनुसार कारबाहीको भागी बन्नुपर्नेछ । त्यो जीवनको लागि निकै महँगो पर्न सक्छ ।

अहिले कोरोनाको महामारी छ । भौतिक उपस्थितिमा कार्यक्रम संचालन सम्भव नभएकोले वैकल्पिक विधिमार्फत यो अभिमुखीकरण कार्यक्रम गर्दैछौं । सर्वप्रथम सम्पूर्ण भाइ–बहिनीहरूको उज्ज्वल भविष्यको कामना गर्दछौं ।
विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र जुनसुकै विषयमा भर्ना भए पनि ती कुनै पनि विषय कम महत्वको छैन । जुनसुकै विषयमा पनि उच्च शिक्षा हासिल गरी विशेषज्ञ बनेर देश र समाजकोसेवा गर्न सकून् । तपाईंहरूलाई शुभकामना ∕
समाजलाई डाक्टर र इन्जिनियर मात्रै भएर पुग्दैन, समाजशास्त्री, कानुनविज्ञ, अर्थशास्त्री, इतिहासविद्, पुरातत्वविद्, सीमाविद्लगायत विभिन्न विषयका विज्ञहरु देशको निम्ति उत्तिकै आवश्यक छ । त्यसैले राम्रा राम्रा विद्यार्थीहरूले विज्ञानको साथै अन्य विषयहरूलाई पनि उत्तिकै महत्व दिएर अध्ययन गर्नुपर्ने हामी ठान्छौं ।

भक्तपुर कला र संस्कृतिले भरिएको नगर हो । यहाँका हराएका वा लोप भएका सम्पदा, कला र संस्कृतिहरूको, अध्ययन, अनुसंधान र उत्खनन् गरेर पुनःस्थापना गर्न संस्कृतिविद्हरू, पुरातत्वविद्हरूको आवश्यकता छ । विज्ञानमात्रै पढेर त्यो आवश्यकता पूरा हुन सक्दैन । भोलि पुरातत्व विभाग र संस्कृति मन्त्रालय सम्हाल्न धेरै जना संस्कृतिविद् र पुरातत्वविद्हरू आवश्यकता पर्नेछन् । त्यो आवश्यकता पूर्ति गर्ने व्यक्तित्वहरुको बिम्ब आज हामी मानविकी पढ्ने तपाईंहरूमा देख्दैछौं ।
भारतले नेपालको ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी सीमा मिचेको छ । हाम्रो भूमि फिर्ता लिन देशको सेवा गर्नु भावना भएका र भारतसँग कानूनी लडाइ लड्न सक्ने क्षमतावान राम्रा राम्रा भूगोल बेत्ताहरू, अन्तर्राष्ट्रिय कानुनविज्ञ र इतिहासकारहरू यो देशको लागि आवश्यकता छ । त्रिभुवन विश्वविद्यालयमा इतिहास पढ्ने विद्यार्थीहरू शून्य, भूगोल र राजनीति शास्त्र पढ्नेहरू थोरै जना मात्रै भएका समाचारहरू आइरहेका छन् । त्यो भोलिको हाम्रो देशको चित्र हो । अध्ययन आजको लागि होइन र आफ्नो व्यक्तिगत इच्छाको लागि हुनु हुँदैन । भोलिको देशको आवश्यकतालाई ध्यानमा राखेर बढी भन्दा बढी जनताको सेवा गर्ने भावनाले अध्ययन गर्नु बुद्धीमानी हुनेछ ।

कृषिप्रधान देशमा अहिलेसम्म मल कारखाना छैन । कृषि उत्पादन घट्दो अवस्थामा छ । किसानले समयमा मल नपाउँदा मल विना धान रोप्न परेको स्थिति छ । नयाँ नयाँ बीउ बिजन, किट्नाषक औषधि, सिंचाइको राम्रो बन्दोबस्त छैन । त्यसले देशको राष्ट्रिय उत्पादनमा प्रत्यक्ष असर पार्ने छ । यो सबैको कारण देशको राजनीतिक बन्दोबस्त हो ।

देश र समाजको हितमा केन्द्रित राजनीति भएको भए जनताको हितमा कामहरू हुने थिए । आज राजनीति व्यक्तिगत फाइदाका लागि भइरहेको छ । मन्त्री को को बनाउने भन्ने विषयमा सरकारको नेतृत्व गरिरहेको नेकपाले महिनौंदेखि छलफलमै समय खेर फालिरहेको छ । राज्यको लागि हरेक दिन त्यतिकै महत्वपूर्ण हुन्छ । आफ्नो पक्षलाई भाग पु¥याउन यसतो आर्थिक संकटको बेला ३ वटा मन्त्रालय फुटाउने चर्चा चल्दैछ । एउटा मन्त्रालय थप्नासाथ झण्डै १ अर्ब रुपैयाँ बराबर राज्यको व्ययभार थपिने समाचार सार्वजनिक भएको छ । स्थानीय तहमा पीसीआर परिक्षण मेसिन नभएर हजारौं जनताले दुःख पाइरहेका बेला सरकारले त्यो रकम कोरोना संक्रमितहरुको लागि राख्ने आइसोलेसन केन्द्र निर्माण वा पीसीआर मेसिन खरिदमा खर्च गरेको भए धेरै जनतालाई फाइदा हुने थियो । आफ्नो स्वार्थको निम्ति जनताको जीवनलाई शासक दलहरुले मूल्यहीन बनाएका छन् । यही हो पुँजीवाद भनेको । पुँजीवादी व्यवस्था भएसम्म देशका बहुसंख्यक जनताले सुख र शान्तिले जिउन पाउने छैनन् । केही धनी व्यक्तिहरूले मात्रै राज्यकोषमा रजाइँ गरिरहनेछन् । प्रजातन्त्र तिनै धनीहरुको निम्ति मात्रै हुनेछ भन्ने कुरा बुझ्न आवश्यक छ । मानव जीवनलाई नाफा र स्वार्थको निम्ति मात्रै प्रयोग गर्ने घृणित पूँजीवादी विचारको विरोध गर्न पनि विद्यार्थीहरुले आ–आफ्नो अध्ययनलाई निरन्तर चालु राख्नुपर्छ ।

आज हाम्रो देशका पचासौं लाख युवाहरू विदेशमा छन् । शासक दलहरु रेमिटेन्सले अर्थतन्त्र धानेको दाबी गर्छन् । परिस्थिति फेरिएकोे छ । विश्वव्यापी कोरोना महामारीपछि विभिन्न देशबाट युवाहरू कामबाट निकालिन थालिएपछि हजारौं युवाहरू नेपाल फर्कन खोजिरहेका छन् । नेपाल सरकारसँग हारगुहार गरिरहेका छन् । कति क्वारेनटाइनबाट चिच्याइरहेका छन् त कति सडकबाटै नेपालीहरूलाई साथ सहयोगको लागि आग्रह गरिरहेका छन् । सरकारको अव्यवस्थाको कारण यो सब भएको हो ।
देशको सबै क्षेत्र अस्तव्यस्त हुनुको मुख्य कारण पूँजीवादी राजनीति नै हो । राजनीति सेवाको लागि हुनु पर्ने हो तर राजनीतिलाई व्यापार ठान्ने व्यक्तिहरू अहिले सत्तामा छन् । निर्वाचनमा एकपटक लगानी गरी ५ वर्षसम्म जनतालाई शासनगरी अकुत सम्पत्ति कमाउने लाईसेन्स बनाएका छन् राजनीतिलाई । राजनीतिशास्त्र, कानुनविज्ञहरू बसेर विभिन्न देशको कानुनको अध्ययन गरेर देशको निम्ति नयाँ नयाँ कानुन निर्माण गर्नेतर्फ ध्यान दिनुपर्नेमा पूँजीवादी पार्टीका साँसदहरुको ध्यान कहाँबाट बढी पैसा आउँछ, के गर्दा फाइदा हुन्छ भन्नेतिर केन्द्रीत छ । त्यसको परिणाम जनताले भोग्दैछन् ।

पर्यटन पनि त्यत्तिकै महत्वपूर्ण विषय हो । भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने सोचका साथ भक्तपुर नगरपालिका काम गर्दैछ । देशभर करिब ११ लाख मानिसलाई रोजगारी दिएको अनुमान गरिएको यो क्षेत्र कोरोनाको कारण धरासाही हुँदैछ । देशको ग्राहस्थ उत्पादनमा ७.६ प्रतिशत ओगट्ने यो क्षेत्र प्रवद्र्धनको लागि पनि सरकारले ध्यान दिन सकेको छैन ।
शिक्षा अत्यन्त महँगो बनाइएको छ । हाम्रो संविधानले १२ कक्षासम्म निःशुल्कको व्यवस्था गरे पनि सरकारले शिक्षक व्यवस्था, भौतिक पूर्वाधार निर्माण गरी नदिएको कारण शुल्क लिएर पढाउन विद्यालयहरु बाध्य छन् । निजी र सामुदायिक गरी दुईथरिको शिक्षा प्रदान गर्ने नीतिले गरिबहरुलाई उच्च शिक्षाको पहुँचबाट टाढा पु¥याएको छ ।

शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो । निजी क्षेत्रलाई विद्यालय र कलेज खोल्ने र शुल्क निर्धारणको अधिकार दिएसम्म शिक्षा व्यापारिक वस्तु बनिरहने छ । पूँजीवादमा वस्तुको मूल्य सरकारले होइन व्यापारीले तोक्ने गरिन्छ ।

त्यस्तो अवस्थामा शिक्षा सामान्य जनताको पहुँचभन्दा बाहिर गएको छ । जसले राम्रो शिक्षा हासिल गर्छ उनीहरू नै भोलि हाम्रो देशको महत्वपूर्ण पदहरूमा पुग्नेछन् । त्यसैले वागीश्वरी कलेज र माविले देशको अन्य मावि तथा कलेजभन्दा कम नहुने गरी शिक्षा प्रदान गर्दै आएको छ । त्यसैले पनि बागीश्वरी मा.बि. बागमती प्रदेशकै नमुना विद्यालय घोषणा हुन सफल भएको छ ।

मानविकीअन्तर्गत राजनीतिशास्त्र अध्ययन गरी भोलि नीति निर्माण गर्ने तह वा जुनसुकै ठाउँमा पुगेर पनि देश र समाजको सेवा गर्नेतर्फ लाग्नु हुने आशा गर्छौ । व्यक्तिगत स्वार्थको निम्ति देश बेच्न समेत तयार हुने व्यक्तिहरूलाई बिस्थापित गर्न यहाँहरूले विभिन्न क्षेत्रमा उच्च शिक्षा अध्ययन गरी आफुलाई योग्य बनाउनेतर्फ ध्यान दिने आशा गर्दछौं ।

(बागीश्वरी मा.वि.को आयोजनामा २०७७।६।१५ गते नव आगन्तुक विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्त गर्नु भएको मन्तव्यको सार संक्षेप)

Leave A Reply

Your email address will not be published.