Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिलाई संयुक्त परीक्षा समिति भक्तपुरको ध्यानाकर्षण पत्र

२०७७ असोज ८ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष अम्बिका न्याइच्याइँले शुक्रबार ध्यानाकर्षण पत्र बुझाउनुभयो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ का कारण शिक्षा क्षेत्रमा परेको असरले गर्दा लामो समयदेखि ठप्प रहेको विद्यालयको पठनपाठनलाई सहज ढंगले अगाडि बढाउन समितिले ७ वटा बुँदासहितको ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख प्रजापतिले शिक्षण संस्था नियमित सञ्चालनप्रति नगरपालिका गम्भीर भएको र सहजताको लागि शिक्षक प्रतिनिधिहरूसँग छलफल गरिरहेको जानकारी दिनुभयो ।

नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै असहज अवस्थामा पनि वैकल्पिक विधिद्वारा कक्षा सञ्चालन गर्नु सराहनीय छ – उहाँले भन्नुभयो ।

ज्ञापन पत्रमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई नगरपालिकाले शिक्षक परिचय पत्रको व्यवस्थापन गरिदिन, नगरभित्रका प्रि—प्राएमरी र प्राथमिक विद्यार्थीहरूलाई वकसिट (गृहकार्य) बनाइ वितरण गरिदिन, अनलाइन कक्षाको लागि इन्टरनेटको पहुँच पु¥याउन आवश्यक स्थानहरूमा निःशुल्क वाइफाइको व्यवस्था गरिदिन, नेपाल सरकारले लागू गरिएको पाठ्यवस्तु समायोजनको विषयमा नगरपालिकाले संयोजन गरिदिन आग्रह गरिएको छ ।

साथै स्वास्थ्य मापदण्ड र भौतिक दुरी कायम गरी विद्यालय सञ्चालनको वातावरण तयार गरिदिन, कक्षा ८ को स्थानीय पाठ्यक्रम यथाशक्य चाँडै उपलब्ध गराउन र विद्यालयलाई स्वास्थ्य सामाग्रीहरू जस्तै थर्मल गन, मास्क, स्यानिटाइजर आदि उपलब्ध गराउन संयुक्त परीक्षा समितिको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्रमा बन्दाबन्दीको समयमा भक्तपुर नगरपालिकाभित्र सञ्चालित सार्वजनिक माध्यमिक विद्यालयहरूले वार्षिक परीक्षाफल प्रकाशन, विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण, वर्कसिट वितरण, शिक्षकहरूको लागि आईसीटी तालिम सञ्चालनलगायतका गतिविधिहरूलाई निरन्तरता दिइरहेको पनि उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.