Explore news and happenings at Bhaktapur

गाईजात्रा पर्वलाई औपचारिकतामा सीमित गर्न सर्वसाधारण जनता र सरोकारवाला पक्षहरुलाई आग्रह गर्ने निर्णय

२०७७ साल साउन १३ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गाईजात्रा २०७७ सञ्चालन र व्यवस्थापनबारे जात्रासँग सम्बन्धित सरोकारवालाहरूबीच बैठक मंगलबार नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।

बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोग हालका दिनमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानहरूमा समुदायस्तरमा संक्रमण देखि थालेको तथा नेपाल सरकारले वीरगञ्ज, राजविराज, विराटनगरलगायतका सहरहरूमा निषेधाज्ञा र काफ्र्यु समेत घोषणा गरिएको अवस्थामा रोग संक्रमणको संवेदनशील परिस्थितिलाई मध्यनजर गरी नजिकिंदै गएको गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न सर्वसाधारण जनता एवम् सरोकारवाला पक्षहरूलाई आग्रह गर्ने निर्णय ग¥यो ।

बैठकमा नगर प्रमुख प्रजापतिले जात्रा र पर्वहरू स्थगन गर्नु व्यक्तिगत र संस्थागत चाहना नभई विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण नियन्त्रणको लागि भएको बताउनुभयो ।

उहाँले समुदायका नागरिकहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउने अभिप्रायले यस वर्षको गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपर्ने बताउनुहुँदै क्षणिक मनोरञ्जनले पूरै समुदायलाई संक्रमणको खतराबाट जोगाउनु आजको आवश्यकता भएको बताउनुभयो ।

सर्वसाधारण जनताको जीवन थप कष्टकर नबनाउन नेपाल सरकारले लकडाउनको स्वरुप परिवर्तन गरी केही खुकुलो मात्र पारेको बताउनुहुँदै प्रमुख प्रजापतिले सबैले आ–आफ्नो क्षेत्रमा जात्रालाई औपचारिकतामा सीमित गर्नको लागि आग्रह गर्नुभयो ।

नपाका उपप्रमुख रजनी जोशीले कोभिड १९ को असहज परिस्थितिमा रोगको संक्रमणको रोक्न जात्रालाई सामान्य रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर जिल्लाका सहायक प्रजिअ दुर्गादत्त ढकालले भारतमा अहिले पनि कोरोनाको जोखिम बढिरहेको अवस्थामा लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्नेहरूका कारण संक्रमणको खतरा रहेको र यही समयमा धेरै भीड जम्मा हुने गरी जात्रा सञ्चालन गरिनु खतरनाक हुने बताउनुभयो ।

कार्यक्रममा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्द कर्माचार्यले जात्रालाई विधिवत रुपमा सीमित औपचारिकतामा सीमित गरी मनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले असहज परिस्थितिमा कोही एकजना संक्रमित देखिए छिटै समुदायस्तरमा कोभिड १९ को संक्रमण फैलिने खतरा हुने हुँदा सजग बन्नुपर्ने बताउनुभयो ।

बैठकमा भैरवनाथ जात्रा सहयोग समितिका न्हुछेराम भेले र शिवराम किजु, आकाशभैरव नौबाजा समूहका ज्ञानेन्द्रमान कायष्ठले भक्तपुर नगर भौगोलिक रुपले सानो नगर भएको हुँदा जात्राको समयमा रोगको संक्रमण फैलिने खतरा भएको हुँदा जात्रालाई औपचारिकतामा सीमित गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्यहरू, भैरवनाथ जात्रा सहयोग समिति, नौ दाफा भजन समूह, पुलां दाफा भजन, लाकोलाछेँ दाफा भजन, चपाल दाफा भजन, भैरवनाथ जात्रा सहयोग समिति, बाराही जात्रा संरक्षण समिति, दत्तात्रय मन्दिर संरक्षण समितिलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

Leave A Reply

Your email address will not be published.