Explore news and happenings at Bhaktapur

प्रमुख प्रजापतिद्वारा दुई दिने प्राथमिक उपचार तालिम उद्घाटन

२०७७ असार १८ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशु स्याहार तथा बालबालिका केन्द्रको आयोजनामा केन्द्रमा कार्यरत शिक्षिकाहरुको लागि दुईदिने प्राथमिक उपचारबारे तालिम सञ्चालन गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार उक्त तालिमको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले तालिम सफलताको कामना गर्नुहुँदै शिक्षालाई उच्च प्राथमिकतामा राख्दै सञ्चालित भक्तपुर भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुले अरु संस्थाको तुलनामा गुणस्तरीय र सस्तोमा शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो । असल गुरु बन्न असल शिष्य बन्नुपर्छ भन्नुहुँदै उहाँले प्राथमिक उपचार भनेको जीवनउपयोगी हुने हुँदा तालिमको व्यवहारिक प्रयोगको निम्ति जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाको हरेक गतिविधिहरुमा भक्तपुरबासीहरुको स्वतःस्फूर्त साथ र सहयोग रहँदै आएको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले शिक्षिकाहरुमा समयअनुसारको प्राविधिक ज्ञानको खाँचो आवश्यक हुने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाद्वारा सञ्चालित शिशु स्याहार केन्द्रहरुको स्तरोन्नति गर्दै बालबालिकाहरुलाई असल व्यवहार र भाषाहरु सिकाउन अभिप्रेरित गर्नुभयो । उहाँले भन्नुभयो ‘अभिभावकले आफ्ना कलिलो बालबालिकाहरु हुर्काउने जिम्मा शिक्षिकाहरु दिएको हुन्छ । त्यसैले अभिभावकमा सकारात्मक छाप छोड्ने राम्रो माध्यम शिशुस्याहार केन्द्रहरु हुनुपर्छ ।’

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले शिशु स्याहार केन्द्र बालबालिकाको सर्वाङ्गीन विकास गर्ने थलो भएको हुँदा अभिभावकलाई नजिक राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्रका डा. बालकृष्ण चाँगुभारीले प्राथमिक उपचारबारे जानकारी दिनुभयो भने शिशु स्याहार तथा बालबालिका केन्द्र प्रमुख दिपेन्द्र प्रजापतिले पनि आफ्नो धाराणा व्यक्त गर्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.