Explore news and happenings at Bhaktapur

भक्तपुर नपाले कोरोना संक्रमण नियन्त्रण गर्न गरेका महत्वपूर्ण निर्णयहरू

२०७६ चैत १७ गते, सोमबार

2

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण र विपद् व्यवस्थापन सम्बन्धमा भक्तपुर नगरपालिका नगर कार्यपालिकाको बैठक सोमबार बस्यो ।

बैठकले कोरोना संक्रमणबाट बच्न भक्तपुर नपाले गरेका प्रयास र आगामी दिनमा यस रोगको संक्रमणबाट जोगिनको लागि विभिन्न निर्णयहरु गरेको हो ।

भक्तपुर नगरपालिका नगर कार्यपालिकाको बैठकले गरेका महत्वपूर्ण निर्णयहरु ः

१) विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट नगरबासी जनतालाई सुरक्षित राख्न तथा सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न प्रत्येक वडामा वडाध्यक्ष वा निजले तोकेको जनप्रतिनिधिको संयोजकत्वमा स्थानीय अग्रजहरु सम्मिलित समन्वय समिति गठन गर्ने ।

२) नेपाल सरकारले देशव्यापी लकडाउन घोषणा गरेको अवस्थामा अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन र घरमै सुरक्षित रुपमा बस्न नगरबासीहरुलाई आग्रह गर्ने र यस अवधिमा रोगको जोखिमबाट जोगिन मन्दिर, मस्जिद, चर्च, बहा बही लगायतका धार्मिक स्थलहरुमा पूजा प्रार्थना नगर्न, मर्निङ वाक (प्रभातफेरी), योग र शारीरिक व्यायामको लागि घरबाट बाहिर ननिस्कन सबैमा अनुरोध गर्ने ।

३) लकडाउन घोषणा गरिएको समयावधिमा अत्यावश्यक कार्यका लागि मात्र एक घरबाट एक जना मात्र बाहिर निस्कन सकिने गरी वडा कार्यालयहरु मार्फत अनुमति पत्र वितरण गर्ने ।

४) लकडाउनको समयावधिमा कोरोना भाइरस रोगको सम्भावित जोखिमप्रति संवेदनशील भई यही २०७६ चैत्र १९ गतेदेखि लागू हुनेगरी दत्तात्रय चोकदेखि वंशगोपालसम्मको मूल सडक र चोकमा तरकारी बजार राख्न पूर्ण निषेध गर्ने र सोको सट्टा देहाय बमोजिम वडाका देहाय बमोजिमका स्थानहरुमा तरकारी बजारको व्यवस्था गर्ने,

वडा         तरकारी बजार राखिने स्थानहरु ः

१             वडा कार्यालय अगाडिको बसपार्क क्षेत्र
२             नःपुखुको उत्तरतर्फको खुला ठाउँ, ठूलो व्यासी, सानो व्यासी
३             तापालाछी, कोलाछेँ, देगमना, खौमा
४             तालाक्व, भुलाँचा
५             खलाँ ल्योसिँख्यो, त्रिपुरासुन्दरी
६             चोेछेँ, भोलाछेँ चौबाटो, देकोचा
७             वाँचु टोल, याता, जगाति चोक
८             लिवाली (ख्वप इन्जिनियरिङ कलेज जाने चोक), जेलाँ
९             याताछेँ, वाँचु हिटी
१०           लाँचा फल्चा, महालक्ष्मी मन्दिर वरपर, कमलविनायक पोखरीको दक्षिणतिर

५) कोरोना भाइरस रोग नियन्त्रण तथा रोकथामको व्यवस्थापनको लागि प्रदेश तथा संघीय सरकारबाट यसको लागि प्राप्त हुन आउने रकम समेत विपद व्यवस्थापन कोषमा जम्मा गर्ने र कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि विपद् व्यवस्थापन कोषबाट खर्च गर्दै जाने, साथै संघ—प्रदेश सरकारबाट प्राप्त रकम र विपद व्यवस्थापन कोषमा रहेको रकम नपुग हुने स्थिति भएमा अन्य कार्यक्रमहरुको बजेट रकमान्तर गरी व्यवस्था गर्ने । तत्काल विपद् व्यवस्थापन कार्यको लागि सबै वडाहरुलाई १ लाखको दरले निकासा गरी पठाउने ।

६) विपद्को समयमा कुनै गैरसरकारी संस्था वा व्यक्तिले राहत वा सहयोग वितरण गर्न चाहेमा यस नगरपालिकामा सहयोग रकम वा सामग्री जम्मा गरी वडा कार्यालयमार्फत मात्र वितरण गर्ने ।

2 Comments
  1. Kahani says

    Sarhaniya kadam haru chhan sarkar! Kamal binayak pokhari bhanda pani Khula chaurulachaur tira tarkari bikri gare kaso hola?

  2. Ranjan says

    Nagarpalika ko staff parichalan gari mathi ulekhita kuraharu karyanoyan garnu paryo. Natra bhaktapur ko janta ko bani thaha holani.

Reply To Ranjan
Cancel Reply

Your email address will not be published.