भक्तपुुर नगरपालिकाले आज साँझबाट नगरका विभिन्न स्थानका तरकारी बजार व्यवस्थित गर्ने भएको छ । तरकारी र अन्य दैनिक आवश्यकताका सामग्री खरिद गर्न आउने मानिस एक आपसमा निश्चित दुरी कायम नगरी किनमेल गर्दा भाइरस संक्रमणको सम्भावनालाई ध्यानमा राखी नगरपालिकाले तरकारी बजार लाग्ने स्थानहरूमा एक मिटरको दुरीमा बक्स कोरेको छ । तरकारी किन्न आउने उपभोक्ताले ती बक्सभित्र उभिएर लामबद्ध भई सामान खरिद गर्नुपर्ने छ ।
यस्तो गर्दा सामान खरिद गर्न आउने मानिस–मानिसबीच संक्रमणको सम्भावना कम हुनेछ । यसले बजार व्यवस्थित पनि हुनेछ ।

नगरपालिकाबाट प्राप्त जानकारीअनुसार टौमढी, गःहिटी, नासमना, दत्तात्रय, च्याम्हासिंह, कमलबिनायकमा यसरी बजार व्यवस्थित गरिनेछ ।
यसैबीच भक्तपुुर नगरपालिकाले कोभिड–१९ भाइरसको संक्रमणबाट सर्वसाधारणलाई सुरक्षित गर्न विभिन्न स्थानमा कीटानाशक झोल स्प्रे गरेको छ । बिहीबार भक्तपुरको च्याम्हासिंहमा कीटनाशक झोल स्पे्र गरिएको थियो । शुक्रबार बाराहीस्थान, गःपली, इचाडोल, डोक्छें, तालाक्व, बुलुचा, खौमा, इताछें, मिवाछें, कमलबिनायक आवास क्षेत्र, तुमचो दुगुरे आवास क्षेत्र, व्यासीदेखि कमलबिनायकसम्मको मूल सडक, लिवाली आवास क्षेत्र र च्याम्हासिंहदेखि जगातीसम्मको सडकमा कीटनाशक झोल स्प्रे गरेको नगरपालिका स्रोतले जनाएको छ । आगामी दिनमा कीटनाशक झोल स्प्रेको कामलाई निरन्तरता दिइने बताइएको छ ।


भक्तपुर नगरपालिकाले आजै एक वक्तव्य जारी गरी अत्यावश्यक सामान खरिदको लागि बाहिर निस्कँदा तोकिएको स्थानमा अर्को व्यक्तिसँग एक मिटरको दुरी कायम गरी लामबद्ध भई सामान खरिद गर्न आह्वान गरेको छ । नगरपालिकाले हरेक दिनको बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजेसम्म सामान खरिदको समय निर्धारण गरेको छ । सामान खरिदको लागि तोकिएको समयमा अत्यावश्यक परेको अवस्थामा मात्र घर बाहिर निस्कनु पर्छ । नगरपालिकाले तोकेको समय घरबाट सबै बाहिर निस्कने वा सडकमा हिंडडुल गर्न मिल्ने समय होइन, अत्यावश्यक सामान खरिदको लागि परिवारबाट एक्लै बाहिर आई आवश्यक सामान खरिद गर्ने समय हो । त्यो समयमा पनि परिवारका अरु सदस्य भने घरभित्रै बस्नुपर्छ ।