Explore news and happenings at Bhaktapur

नोवेल कोरोना भाइरस संक्रमणविरुद्धको अभियान सिर्जनशील र समाजलाई प्रगतिउन्मुख बनाउन आवश्यक

भक्तपुर । मिति २०७६।१२।१३ गते

0

यतिबेला विश्व नै नोवेल कोरोना भाइरसको महामारीको विरुद्ध जुभ्mदै छ । नेपालमा पनि भाइरसको सम्भावित संक्रमणको जोखिम न्यूनीकरण गर्ने उपायहरु अवलम्बन गरिँदैछ । नेपाल सरकारबाट यही चैत्र ११ गते विहान ६ बजेदेखि देशभरि नै लकडाउन गर्ने निर्णय गरिएको यसैको सिलसिला हो ।

हालसम्म विश्वका १९७ देशमा यो रोगको संक्रमण फैलिएको छ, जसमा ४ लाख १६ हजार ६८६ जनामा संक्रमण भएको पुष्टि भएको छ भने २१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । नेपाल सरकारले हालसम्म ३ जना नेपालीहरुमा यो रोगको संक्रमण देखिएको, जसमा १ जना पूर्ण निको भई आराम गरिरहेको र २ जनाको सघन उपचार भइरहेको जनाएको छ ।

कोरोना भाइरस आफैं कडा रोग नभएपनि मानिसको व्यवहारमा सामान्य कमजोरी देखिँदा अहिले यो रोगले विश्वव्यापी महामारीको रुप लिएको छ । संक्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा होसियारी नअपनाउँदा, संक्रमित व्यक्तिसंग भौतिक सम्पर्कमा रहँदा र भाइरस भएको सतहमा शरीरको कुनै अंगले स्पर्श गर्दा यो रोग सर्ने अध्ययनले बताएको छ । यो रोगको खोप वा औषधी अहिलेसम्म पत्ता लागिसकेको छैन । त्यसैले यो रोग लाग्नबाट जोगिने उपायहरु अवलम्बन गर्नु र यसबारे सर्वसाधारण जनतामा सचेतना जगाउनु नै कोरोनाविरुद्ध अभियानको उत्तम उपाय हो ।

भक्तपुर नगरपालिकाले छिमेकी देश चीनको उहानमा कोरोना भाइरस रोगको गम्भीर महामारी फैलिएको समयदेखि नै नेपालमा सतर्कता अपनाउनुपर्ने नेपाल सरकारसमक्ष आग्रह गरेको थियो । नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्रका इन्चार्ज डाक्टर र मेडिकल एवं पारामेडिकल जनशक्तिहरुलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिइएको थियो । कोरोना भाइरस रोगबारे सर्वसाधारण जनतालाई सचेतना जगाउन पर्चा प्रकाशन गरी जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेविकाहरुमार्फत जनताको घरदैलोमा पुग्ने कार्य शुरु गरिएको थियो ।

नेपाल सरकारले विद्यालय तहका सबै परीक्षाहरु चैत्र ५ गतेभित्र सम्पन्न गर्न आग्रह गरेबमोजिम नगरपालिकाले नगर शिक्षा कार्यालयमार्फत नगरमा रहेका ९२ वटै विद्यालयका परीक्षा समितिहरु एवं विद्यालय प्रतिनिधिहरुको सल्लाह सुझाव लिई फागुन २७ गतेदेखि विद्यालय तहको परीक्षा संचालन गर्न सबैलाई अनुरोध गरेको थियो । साथै नगर शिक्षामार्फत संचालन गरिने कक्षा ८ को नगरस्तरीय परीक्षाको तालिका संशोधन गरी चैत्र ५ गतेभित्र सौहार्दतापूर्वक सम्पन्न गरिएको थियो । सबै विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरुले नगरपालिकाको निर्णयलाई सहर्ष स्वीकार गरेका थिए ।

हरेक वर्ष चैत्रको अन्तिम साताबाट बैशाखको पहिलो सातासम्म हर्षोल्लासपूर्वक मनाइने प्रसिद्ध विस्केट जात्रा रोग संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी सरोकारवाला सबै सरकारी निकाय, जात्रा सहयोग समिति, भैल नायो, स्थानीय जनप्रतिनिधिलगायतको बैठक डाकियो । सबैको एकमतको राय अनुसार यो वर्षको विस्केट जात्रा र यस अवधिमा टोलटोलमा हुने विभिन्न जात्रा तथा पर्वहरुलाई औपचारिक पूजाआजामा मात्र सीमित गर्ने निर्णय गरिएको थियो । यससंगै नवदुर्गा जात्रा पनि हाललाई रोगको संवेदनशीलतालाई ध्यानमा राखेर स्थगित गर्न आग्रह गरिए अनुसार नवदुर्गा गणले जनअभिमतलाई स्वीकार गरेको छ ।

कारोनाको सम्भावित जोखिमको विषयमा तयारी अवस्थामा रहन नगरपालिका क्षेत्रभित्रका अस्पतालहरुको प्रमुखहरुको बैठक बसी प्रत्येक अस्पतालले विरामीको उपचारका लागि आइसोलेसन बेडको तयारी गर्ने निर्णय गरिएको थियो । सोही बमोजिम भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, इवामुरा अस्पताल, सिद्धि स्मृति अस्पताल लगायतले आप्mनो क्षमता अनुसार आइसोलेसन बेड र आइसोलेसन वार्डको व्यवस्था गरेका छन् ।

नगरपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट यस संवेदनशील घडीमा धेरै हुलहुज्जत हुने कुनै कार्यक्रम नगर्न, भोजभतेर तथा पिकनिक नगर्न आग्रह समेत गरिएको थियो ।

कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न नगरपालिकाको तर्फबाट घरदैलो सचेतना गर्ने क्रममा वडा कार्यालयमार्फत प्रत्येक घरमा साबुन वितरण गरी हात धुने तरिका सिकाइएको थियो । मुख्य चोक तथा सडकहरुमा साबुन पानीले हात धुन सचेतना पम्प्लेटसहित ट्यांकीको बन्दोबस्त गरियो । साथै सडक, गल्ली, चोक तथा सार्वजनिक स्थलहरुमा क्लोरिनयुक्त चुन र फिनोल छर्ने कार्य भइरहेको छ ।

सरकारको तर्फबाट चैत्र ११ गतेदेखि देशैभरि लकडाउन घोषणा गरेपछि नगरपालिकाले लकडाउनको अर्थ बुझाउन तथा घरमै सुरक्षित रहन आह्वानसहित माइकिङ गरिरहेको छ । साथै नगरपालिकाको फोहर संकलन गर्ने गाडी तथा ट्राइसाइकलहरुमार्फत दैनिक रुपमा कोरोना भाइरस रोगबारे नेपाल भाषा र नेपाली भाषा दुवैबाट सचेतना माइकिङ पनि भइरहेका छन् । प्रहरी प्रशासनसंगको सहयोग र सहकार्यमा कोरोना भाइरसको संक्रमणबारे सचेत हुन तर भयभीत नहुन आग्रह गर्दै पछिल्लो समयमा विभिन्न देशमा अध्ययन वा रोजगारीको सिलसिलामा गएका आफन्तहरु अहिले घर फर्केका छन् भने नगरपालिकाको आधिकारिक वेभसाइटमा रहेको अनलाइन फाराम भरी तिनीहरुको तथ्यांक संकलन गर्ने कार्य भइरहेको छ ।

जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्रलाई चौविसै घण्टा तयारी अवस्थामा राखिएको छ । सबै चिकित्सक, नर्स, प्राविधिक तथा कर्मचारीहरु दैनिक रुपमा विरामीको सेवामा खटिरहेका छन् । चिकित्सक एवं कर्मचारीहरुको स्वास्थ्यलाई समेत ध्यानमा राखेर चिकित्सकहरुलाई विशेष प्रकारको यूनिफर्म (पीपीई) र केन्द्रमै क्वारेन्टाइनको समेत व्यवस्था गरिएको छ । त्यस्तै केन्द्रको मूलमा सेवाग्राहीहरुको ज्वरो नाप्ने, स्यानिटाइजरको व्यवस्था गर्ने, केन्द्र वरपरको सरसफाइमा विशेष जोड दिने कार्यहरु भइरहेका छन् । नगरपालिकाद्वारा संचालित एम्बुलेन्स सेवा र शव वाहन सेवालाई एलर्ट अवस्थामा राखिएको छ । महानगरीय प्रहरी परिसरको सहयोगमा केन्द्रमा ५ हजार लिटर क्षमताको ट्यांकी राखी सर्वसाधारण सबैलाई हात धुने व्यवस्था गरिएको छ ।

नगरपालिकाका जनप्रतिनिधिहरु रातदिन जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर जनतासंग प्रत्यक्ष सम्पर्कमा छन् । टोलटोलमा भएका दैनिक गतिविधि, नयाँ व्यक्तिको प्रवेशसंगै उसको स्वास्थ्य अवस्थाबारे जानकारी लिई प्रशासन र प्रहरीलाई अद्यावधिक गर्ने कार्य गरिरहेका छन् । कसैको स्वास्थ्यमा केही समस्या आएको जानकारी आउनासाथ अस्पताल र प्रशासनको सहयोगमा उसको उपचारको बन्दोबस्तका लागि जनप्रतिनिधिहरु जुटिरहेका छन् ।

सचेत जनताको आग्रहमा नगरपालिकाले विहिबारदेखि नगरका चोक, गल्ली, सडक र सार्वजनिक स्थानहरुमा गाडीमार्फत क्लोरिन पानी छर्किने कार्य थालेको छ । सरसफाइको क्रममा नगरपालिकाले आप्mना कर्मचारीहरुको स्वास्थ्यको विशेष ख्याल राखेको छ । कर्मचारीहरुलाई माक्स, क्याप, बुट, स्यानिटाइजर र क्लोरिन छर्कने कर्मचारीहरुलाई एप्रोन, विशेष चस्मा, विशेष माक्सको समेत व्यवस्था गरिएको छ ।

विपद्को समयमा केही कालाबजारीयाहरुले दैनिक उपभोग्य तथा औषधीजन्य सामग्रीहरु लुकाउने, मूल्य बढाउने जस्ता सर्वसाधारण जनतामाथि ठगी गर्ने सम्भावनाप्रति नगरपालिका सजग छ । प्रहरी प्रशासनको सहयोगमा जनप्रतिनिधिहरुकै प्रत्यक्ष सहभागितामा बजार अनुगमन गरी कार्वाही प्रकृया थालिएको छ । बजार अनुगमन निरन्तर चलिरहने छ ।

नोवेल कोरोना भाइरसको संक्रमणबाट विश्व नै त्रसित भइरहेको अवस्थामा यसविरुद्धको अभियानमा सबै जनता एकजुट हुने, सुरक्षित रुपमा घरमा बस्ने, सिर्जनशील गतिविधि गरेर समय बिताउने र समाजलाई प्रगतिउन्मुख बनाउन रचनात्मक सल्लाह सुझाव प्राप्त हुने विश्वास भक्तपुर नगरपालिकाले लिएको छ ।

Leave A Reply

Your email address will not be published.