Explore news and happenings at Bhaktapur

कोभिड १९ बारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आकस्मिक बैठक

भक्तपुर, २०७६ चैत्र १० गते ।

0

कोभिड १९ सम्बन्धी नेपाल सरकारले गरेको काम र प्रयासहरुबारे जानकारी दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा सोमबार काठमाडौं उपत्यकाभित्रका महानगरपालिका तथा नगरपालिकाका प्रमुखहरुसँग छलफल कार्यक्रम सम्पन्न भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा सम्पन्न उक्त छलफल कार्यक्रममा उपत्यकाका प्रमुखहरुले कोभिड १९ को संक्रमणबाट बच्न आ–आफ्नो स्थानीय तहहरुले गरिरहेको कार्य विवरणबारे जानकारी दिनुभयो ।

छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमबाट बच्न आवश्यक व्यक्तिगत सुरक्षाका सामाग्री (पीपीई), मास्क, सेनिटाइजर, ग्लोभलगायतका वस्तुको अभावबारे मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुहुँदै विपदको समयमा काम गर्ने स्वास्थ्यकर्मी, ल्याब टेक्निसियनलगायतहरुलाई आवश्यक साधनसम्पन्न बनाउनेतर्फ सरकारले तयारी गरिरहेको बताउनुभयो ।

नेपाल सरकारले काठमाडौं उपत्यकाभन्दा बाहिरका जिल्लाहरुमा सवारीसाधन आवागमन निषेध, नेपाल–भारत नाका बन्द गरिरहेको बताउनुहुँदै तत्काल उपत्यकामा लकडाउन गरिए दैनिक ज्यालादारी गर्ने मजदुर र कामदारहरु प्रभावित हुने बताउनुभयो । उहाँले कृत्रिम अभाव सिर्जना गर्ने काला व्यापारीहरुलाई कारबाही गर्न निर्देशन दिनुहुँदै मन्त्री त्रिपाठीले केन्द्रीय सरकारसँग नजिक बसेर काम गर्न स्थानीय तहहरुलाई अपिल गर्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नोबेल कोरोना भाइरस रोगको संक्रमण रोक्न भक्तपुर नगरपालिकाले नेपाल भाषा र नेपाली भाषामा सार्वजनिक अपिल प्रकाशन, गल्ली, चोक तथा सडकहरुमा चुन फिनेल छर्कने कार्य गरिरहेको बताउनुहुँदै नगरपालिका र वडा–वडामा साबुन पानीले हात धुने बन्दोबस्त गरेको बताउनुभयो ।

भक्तपुर नपामा कार्यरत सफाई कर्मचारीहरु अरु समयमा भन्दा प्रभावकारी ढंगले सरसफाई कार्यहरुमा संलग्न भइरहेको उहाँले बताउनुभयो ।

काठमाडौं महानपाका प्रमुख विद्यासुन्दर शाक्यले सरसफाई कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिइ कार्य गराइरहेको, १० करोडको आकस्मिक कोषको व्यवस्थापन, मन्दिरहरुमा लकडाउन र धेरै मान्छे जम्मा हुने भोजभतेर नगर्न र सहभागी नहुन जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुलाई निर्देशन दिइसकेको बताउनुभयो ।

ललितपुर उपमहानपाका प्रमुख चिरिबाबु महर्जनले केन्द्रीय सरकारले नै व्यक्तिगत सुरक्षाका सामाग्री उपलब्ध गराउन माग गर्नुहुँदै नेपालमा कोरोनाको संक्रमणले इटालीमा भन्दा १० गुणा भयावह स्थिति ल्याउनेछ भन्नुभयो ।

मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले विदेशबाट आएको व्यक्तिको विशेष निगरानी गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै त्यस्ता व्यक्तिहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा राख्न र अस्पतालका आकस्मिक सेवा र एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न आह्वान गर्नुभयो ।

कार्यक्रममा उपस्थित उपत्यकाका प्रमुख÷उपप्रमुखहरुले मन्दिर, मस्जिद तथा गुम्बाहरुमा प्रवेश निषेध गर्नुपर्ने, सबै स्थानीय तहहरुले विपद् व्यवस्थापन समितिलाई क्रियाशील बनाउनुपर्ने, संक्रमित व्यक्तिलाई सरकारले सुरक्षित रुपमा निःशुल्क उपचारको बन्दोबस्त गर्नुपर्ने, स्वास्थ्यकर्मीहरु सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने, खरिद ऐन संशोधन हुनुपर्ने र कोरोना भाइरसबाट बच्न समर्पित एम्बुलेन्सको व्यवस्था गर्नुपर्नेलगायतका सुझावहरु प्रस्तुत गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.