Explore news and happenings at Bhaktapur

कोरोना भाइरस संक्रमणबारे सचेतना अभियान सञ्चालन गर्ने विषयमा छलफल

भक्तपुर । २०७६ फागुन २१ गते, बुधबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा नगरका विद्यालयका विभिन्न परीक्षा समितिका सरोकारवाला पक्ष तथा प्रधानाध्यापकहरूबीच बुधबार नपाको सभाकक्षमा छलफल कार्यक्रम सम्पन्न भयो ।

छलफलमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको विषयमा सचेतना अभियान सञ्चालन गर्ने विषयमा छलफल र राय सुझाव संकलन गरियो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले विश्वव्यापी रुपमा संक्रमण भइरहेको कोरोना भाइरस रोगबाट बच्न सम्बन्धित संघ–संस्थाहरूले आवश्यक सावधानी र सुरक्षा अपनाउनुपर्ने बताउनुभयो ।

विद्यार्थीमा भएको त्रासबाट मुक्त पार्न विद्यालयहरूले मनोचिकित्सक र स्वास्थ्यकर्मीको समन्वयमा मनोपरामर्शसम्बन्धी चेतनामूलक अभियान सञ्चालनमा जोड दिनुपर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका सम्बन्धित सरोकारवालाहरूको राय–सुझावअनुरुप अगाडि बढ्ने प्रस्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘रोग भएका कारण कोरोनाको त्रास दिन प्रति दिन बढ्दै गएको हुँदा संकटको समयमा आत्तिने र डराउनेभन्दा पनि त्यसबाट बच्ने उपायबारे सजग हुनु आजको आवश्यकता हो ।’

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले कोरोना भाइरस सरुवा रोग भएकैले पनि नागरिकहरू डराइरहेको बताउनुभयो । सीमा जोडिएको देशमा कोरोनाको संक्रमण व्यापक भएकै कारण समयमै आवश्यक सुरक्षा अपनाउनु उपयुक्त हुने बताउनुभयो ।

कार्यक्रममा उपस्थित भक्तपुर नगरका विद्यालयका विभिन्न परीक्षा समितिका सरोकार पक्ष तथा प्रधानाध्यापकले राय–सुझाव प्रस्तुत गर्ने क्रममा मेधा माविका प्रअ गंगाधर हाडाले हतारमा विद्यालयहरूले परीक्षा सञ्चालन गर्न विद्यार्थीहरूलाई परीक्षा तयारीको लागि समय अपुग हुने बताउनुहुँदै कोरोनाको त्रासलाई ध्यानमा राखेर समयमै परीक्षा सञ्चालन गर्नुपर्ने र केही कारणवश परीक्षा छुट्न गएका विद्यार्थीहरूलाई मौका परीक्षाको व्यवस्था पनि गर्नुपर्ने बताउनुभयो ।

इसान भक्तपुर जिल्ला अध्यक्ष पुरुषोत्तम ग्वाछाले परीक्षा तयारीको लागि समय निकै कम भएको औंल्याउनुहुँदै सम्भावित रोगको खतराबाट जोगिन सरकारको निर्देशनलाई पालन गरी निर्धारित समयमै परीक्षा गर्नु उपयुक्त हुने ।

एन प्याब्सन भक्तपुरका उपाध्यक्ष पुण्यराम कवांले विद्यार्थी र अभिभावकमा कोरोना भाइरसको त्रास धेरै देखिएको हुँदा विद्यालयहरूमा मनोसामाजिक परामर्शको खाँचो भएको र निर्धारित समयमै परीक्षा सकाउनु उचित हुने बताउनुभयो ।

सैनिक आवासीय महाविद्यालयका शिक्षक विष्णु अधिकारीले कोरोना भाइरस सबैको साझा समस्या भएको बताउनुहुँदै विद्यालयहरूमा हात मिलाउने भन्दा ‘नमस्कार’ गर्ने परम्परालाई जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष एवम् आधारभूत तह परीक्षा समितिका संयोजक प्रेमगोपाल कर्माचार्य, नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्य, संयुक्त परीक्षा समितिका अम्बिका न्याइच्याइँ, प्याब्सन भक्तपुरका रमेशचन्द्र श्रेष्ठ, इसानका कृष्णराम त्वानाबासुले पनि आ–आफ्नो राय प्रस्तुत गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.