Explore news and happenings at Bhaktapur

जनस्वास्थ्य केन्द्रमा कर्मचारी भेला

मिति २०७६ फागुन ६ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रका कर्मचारीहरूको भेला मंगलबार सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले अरुको सम्मान गर्न जान्ने व्यक्तिले अरुबाट पनि सम्मान पाउने बताउनुभयो । संस्थाभित्रका स–साना कुरा पनि आलोचनाको विषय बन्न सक्नेप्रति सचेत पार्नुहुँदै उहाँले आर्थिक गतिविधि आर्थिक अनुशासनमा रही गर्नुपर्ने बताउनुभयो ।

भक्तपुरको जनस्वास्थ्य केन्द्रले दैनिक ५०० भन्दा बढी बिरामी जाँच गरिरहेको अवगत गराउनुहुँदै प्रमुख प्रजापतिले जनताको गुनासो कम हुने गरी जनताको भावना जितेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

जनस्वास्थ्य केन्द्रको सेवामा भएको कमी–कमजोरी औंल्याउने अधिकार नागरिकहरूसँग भएको बताउनुहुँदै भक्तपुर नगरपालिकाले जनताबाट उठाएको करबाट कलेज, स्वास्थ्य संस्था तथा जनता केन्द्रित गतिविधि सञ्चालन गर्दै आइरहेको उहाँले बताउनुभयो ।

जनस्वास्थ्य केन्द्र प्रमुख रत्नसुन्दर लासिवाले संस्था राम्रो भए संस्थाले प्रवाह गर्ने सेवा सुविधा पनि राम्रो हुने बताउनुहुँदै बिरामीसँग सम्मानपूर्वक व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले अस्पताल संवेदनशील क्षेत्र भएको हुँदा कार्यालय समयमा उपस्थित हुनुपर्ने, बिरामीसँग नम्र भएर व्यवहार गर्नुपर्ने र सकेसम्म बिरामीले बोल्ने भाषामै बोल्न आग्रह गर्नुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.