Explore news and happenings at Bhaktapur

अन्तर नगर एथ्लेटिक्स प्रतियोगिताको मूल समिति २०७६ को बैठक सम्पन्न

भक्तपुर, २०७६ माघ २७ गते, सोमबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ८ देखि १२ गतेसम्म भक्तपुरको सहिद स्मृति खेल मैदानमा हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न सोमबार अन्तर नगर एथ्लेटिक्स प्रतियोगिताको मूल समिति २०७६ को बैठक बस्यो ।

भक्तपुर नपाका प्रमुख एवम् मूल समारोह समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा १२५ सदस्यीय मूल समारोह समितिका सदस्यहरू, १२ वटा उपसमितिका सदस्यहरू, भक्तपुर नपाका शाखा प्रमुखहरू र विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रह्यो ।

बैठकमा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले अन्तरनगर प्रतियोगिता नगरभित्र रहेका उत्कृष्ट खेलाडी चयन गर्ने राम्रो अवसर भएको बताउनुभयो ।

प्रतियोगितामा सहभागिताको लागि देशभरिका नगरपालिका तथा गाउँपालिकाहरूमा पत्रचार भइसकेको जानकारी गराउनुहुँदै उहाँले समय–समयमा हुने प्रतियोगिताहरूले खेलाडीहरूमा उत्साह थप्नुका साथै राष्ट्रिय—अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार गर्ने राम्रो अवसर पनि हो भन्नुभयो ।

युवाहरूलाई संस्कृति संरक्षण, खेलकुद क्षेत्र लगायतका अतिरिक्त क्रियाकलापमा सक्रिय बनाइराख्न भक्तपुर नपाले खेलकुद प्रतियोगिता, बाजा प्रतियोगिता, खेल प्रशिक्षण आदि नियमित रुपमा सञ्चालन गरिरहेको छ – उहाँले भन्नुभयो ।

स्थानीय तह निर्वाचन २०७४ मा नेपाल मजदुर किसान पार्टीले भक्तपुर नपाको लागि प्रस्तुत गरेको घोषणापत्रअनुरुप करिब ५० प्रतिशत कार्यहरू सम्पन्न गरिसकेको अवगत गराउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले नेमकिपाको निर्देशन पालना गर्दै जनताको सेवालाई प्राथमिकतामा राख्दै आफ्नो गतिविधि सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले देशको सार्वभौमिकता रक्षाका लागि युवाहरूको भूमिकाबारे चर्चा गर्नुहुँदै सुसंस्कृत र अनुशासित युवा पुस्ता तयार गर्ने लक्ष्य नगरपालिकाको रहेको बताउनुभयो । उहाँले महिला खेलाडीहरू उत्पादन गर्न भक्तपुर नपाले विभिन्न खेल प्रशिक्षण र महिलाहरूको सुरक्षाको निम्ति आत्मरक्षाको तालिम सञ्चालन गरिरहेको छ भन्नुभयो ।

एथ्लेटिक्स खेलाडी कान्छीमैया कोजुले भक्तपुर नपाले आयोजना गर्ने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता नेपालमै पहिलोपटक आयोजना हुँदैछ भन्नुहुँदै उहाँले यस प्रतियोगिताले एथ्लेटिक्स खेलाडीहरूमा उत्साह थपेको बताउनुभयो ।

बैठकमा भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले सहिद दिवसको अवसरमा भक्तपुर नपाले प्रत्येक वर्ष खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुहुँदै प्रतियोगिता भव्य र सभ्य बनाउन समिति र उपसमितिका पदाधिकारीहरूको क्रियाशीलता आवश्यक भएको बताउनुभयो ।

बैठकमा भक्तपुर नपा युवा तथा खेलकुद समिति सदस्य एवम् वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।

अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न सचिवालय उपसमिति, निर्णायक उपसमिति, जुरी कमिटि, स्वयम्सेवक उपसमिति, प्रचारप्रसार समिति, पुरस्कार व्यवस्थापन समिति, जलपान समिति, यातायात—बास व्यवस्थापन, ¥याली व्यवस्थापन, मञ्च तथा ग्राउण्ड व्यवस्थापन, खेलाडी निरीक्षण समिति र प्राथमिक उपचार समितिलगायत गठन गरेको छ ।

साथै प्रतियोगितामा फिल्ड इन्ट्स अन्तर्गत सटपुट, ल‌‌ङ जम्प, ज्याभलिङ थ्रो, डिसक्रस थ्रो, हाइजम्प, ट्रिपल जम्प र ट्रयाक इभेन्टस् अन्तर्गत १०० मिटर, २०० मि, ४०० मि, ८०० मि, १५०० मि, ५००० मि, १०००० मि, ४२.१९५ कि.मि, ४x१०० मि. रिले, ४x२०० मि. रिले खेलहरू हुँदैछ ।

 

Leave A Reply

Your email address will not be published.