Explore news and happenings at Bhaktapur

नेवारहरुको मौलिक संस्कृति – खेत खेतमा गई भ्यागुताहरुलाई भात खुवाउने चाड

0

तत्कालिन नेपाल मण्डल र वरपर बस्ने नेवारहरु आफ्नो मौलिक संस्कृतिले धनी जातिमा गनिन्छ । नेवारहरु संस्कृतिमा कति धनी रहेछन् भन्ने प्रमाण उनीहरुले गर्दै आएको मुख्य पेशा कृषिलाई मात्र लिए पुग्छ । यहाँ कृषि भन्नासाथ खेतीपाती भनिएतापनि विशेषगरी धानबालीलाई चलन छ ।

प्राचीन कालमै यहाँ जङ्गलमा जंगली धानबाली प्राकृतिक रुपमा लाग्दै आएकोमा समाजको विकाससगै खेतीमा ब्यवस्थित रुपमै धानबाली लगाउने कलाको विकास भयो । यसै सन्दर्भमा यहाँका नेवारहरुले धानबालीलाई आफ्नो मुख्य खाद्यान्न बनाउने काममा धानबाट उनीहरुको विहान बेलुकाका छाक मात्र तरेको छैन, यहाँको कला संस्कृति धर्म परम्परा देखि हरेक क्षेत्रलाई सुसंस्कृत गर्न समेत महत्वपूर्ण भुमिका निभाएको हुन्छ । त्यही भएर हाम्रा पुर्खाले धानलाई अन्नको रुपमा मात्रै नभई देवता तथा नगदको रुपमा समेत लिइएको हुन्छन । तत्कालिन समयमा धानलाई सबैभन्दा पवित्र अन्नको रुपमा लिएको देखिन्छ । अनि देव कार्य देखि पितृ कार्य सम्मका लागि अनिवार्य चाहिने गरेको छ ।

प्रत्येक बर्ष श्रावण शुक्ल पूर्णिमाको दिन नेवार समाजमा मनाउने एउटा संस्कृति अत्यन्त महत्वपूर्ण हुन्छ । उक्त दिन नेवार समाजमा खेत खेतमा गई भ्यागुताहरुलाई भात खुवाउने अथवा ब्यांजा नकेगु चाड मनाईन्छ ।

धान रोप्ने समय गृष्म ऋतु पछिको मनसुनलाई लिएको छ । अर्थात जेष्ठ असार ताका रोपाई गर्ने चलन छ । बर्षको रोपाई राम्रो होस् भन्ने हेतुले पर्याप्त बर्षा होस् हरेकको कामना रहेको हुन्छ । यसै सन्दर्भमा यही रोपाईको सेरोफेरोमा यहाँको आदिवासी किसानहरुले विभिन्न किसिमका पुजाआजा तथा जात्राहरु मनाउने गर्दछ । जुन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धानसँग सम्बन्धित हुन्छ । रोपाई ताका राम्रोसँग पानी नपरे रोपाई राम्रो नहुने र त्यसबाट धान बालीको उब्जनी कम हुदै जाने त्यसबाट आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, हरेक क्षेत्रमा असर पर्ने महसुस गरी त्यसबाट बच्न हाम्रा पुर्खाहरुले पानी पार्ने उपायहरुको ख्याल राखेको हुन्छ । यसै सन्दर्भमा प्रत्येक बर्ष श्रावण शुक्ल पूर्णिमाको दिन नेवार समाजमा मनाउने एउटा संस्कृति अत्यन्त महत्वपूर्ण हुन्छ । उक्त दिन नेवार समाजमा खेत खेतमा गई भ्यागुताहरुलाई भात खुवाउने अथवा ब्यांजा नकेगु चाड मनाईन्छ ।

त्यसो त नेवारहरुले आफ्नो खेतलाई एउटा पवित्र कर्मभूमि मानी समय समयमा विभिन्न संस्कार गर्ने चलन छ । सबै भन्दा पहिला त खेतमा बीउ राख्ने (प्वाःचा तय्गु) देवाली अगाडी नै देवाली पूजा गर्दाको प्रसाद तथा योसिद्योको प्रसाद राखी धर्ती मातालाई पुजा गरी प्वाः राखिन्छ । त्यसपछि रोपाईको समयमा जोशी कहाँबाट दिएको ठाउँमा घरकी जेठा छोरीबाट “द्धः स्वानेगु” भनी एक मुठा धानको बीउ रोपी त्यसमा एउटा ध्याक राखिन्छ । जहाँ द्धः को अर्थ हजारौ रुपैयाँ अनि स्वानेगुको अर्थ जोड्नु हुन्छ । यसबाट पनि नेवारहरुको धानलाई अन्नको रुपमा मात्र नभई नगदको रुप दिएको प्रष्ट हुन्छ ।        त्यस्तै धान रोप्ने क्रममा खेत खन्दा खेतमा रहेको असंख्य जीवजन्तुहरु भूलबश मार्न पुग्दा तिनीहरुप्रति सदाशयता राखी चोखिने कार्यको रुपमा “सिनाज्या ब्यंकेगु” कार्य गर्नु अर्काे एउटा संस्कारित क्रिया हुन आउँछ । मानिस मर्दा १३ औं दिनमा र ४५ औं दिनमा झै खेतका ती जीवजन्तुहरुको नाममा गरिने यो कृया असार महिना सकेपछि मात्र गर्ने चलन छ । यसै क्रममा धान रोपिएको समयमा मारिएका जीवजन्तुहरुको स्मरणमा श्रावण शुक्ल पूर्णिमा अर्थात गुन्हीपुन्हीको दिन “ब्यां जाः नकेगु ” गर्दछ । यस कार्यलाई यहाँ “पन्चा तःवानगे”ले पनि चिनिन्छ । जुन मौलिक पञ्चदानबाट पञ्जरा भै पन्चा शब्दमा परिणत भएको हो । यस दिन गर्ने कृयाकलापबाट यो पञ्चदानसँग सम्बन्धित भएको प्रष्ट देखिन्छ । विहानपख लोकेश्वर तथा भक्तपुरको पाँच ठाउँमा रहेको कुनै पनि अजाजु द्यः बाट पुजा गरी ल्याउने शुद्ध जलले घरको सबै भाग चोखो पार्दछ ।

त्यसपछि घरकी नकींले ब्यांचाजा नकेगु कार्यको लागि शुद्ध भई सर्वप्रथम ब्यांचामारी पकाउँछ । त्यसपछि भिजेको चिउरा वा सियाबजीबाट कोण आकारको गोजा तयार पर्दछ । मुलालाई गोलो पारि काटी सिन्कामा घोची त्यही गोजामा ठड्याउँछ । जसलाई ब्यांचायागु न्हायकं (भ्यागुताको ऐना) भनिन्छ । गोजामा कोखा (रातो कपडाको गाँठो भएको धागोको माला) लगाईन्छ । यसबाहेक ब्यांचा जा नकेगुको निम्ति ब्याँचा ग्वेय नामक फल अनिवार्य मानिन्छ । जुन फलको पहिचान फूलको व्यवसाय गर्ने बनमालाहरुबाट गर्न सकिन्छ । सर्वप्रथम ब्यांचा लप्तेमा गोजा ब्यांचा न्हेक, ब्यांचा मारी, ब्यांचा ग्वेय, समयबजी, क्वाँटी आदि राखी जहाँ द्धः स्वानेगु गरिएको ठाउँ छ । त्यहाँ लश्क द्यः तथा अजाजु द्यः कहाँबाट ल्याएको शुद्ध जल छर्किसकेपछि धर्तीमाता र धर्तीमा बस्ने प्राणी विशेषगरी भ्यागुतालाई सम्झी पूजा गरिन्छ र घरबाट लगिएको ती सम्पूर्ण सामान त्यही छोडिन्छ ।

बास्तवमा यहाँ नेवारहरुले रोपाईको क्रममा मारिएका विभिन्न जीवजन्तुहरुको लत्यायागु भनी पन्चा तवानेगु तथा रोपाईको लागि विशेष सहयोग गरेका भ्यागुतालाई सम्झी ब्यांचाजा नकेगु गरेको दखिन्छ । भ्यागुता वर्षाकालिन जलचर प्राणी हो । जो पानी तथा जमिन दुवैमा बस्न सक्ने उभयचर प्राणी पनि हो । रोपाईका लागि अति आवश्यक बर्षा हुनु पछाडी भ्यागुताको महत्वपूर्ण योगदान मात्र भएको छैन, खेतमा लाग्ने विभिन्न प्रकारका हानीकारक किराहरु खाई कृषि उत्पादनमा टेवा पु¥याई रहेको हुन्छ ।

भ्यागुताको यही गुणहरुलाई कदर गर्दै हाम्रा पुर्खाहरुले खेती गर्न जाने देखि नै भ्यागुताको कदर गर्दै आएको पाईन्छ । यता मध्येकालमा आईपुग्दा त भ्यागुताको गुणलाई नेपाल भाषा साहित्यमा समेत लिपीबद्ध गर्न पुगे । भक्तपुरको प्रसिद्ध राजा जितामित्र मल्लले नेपाल सम्वत् ७९२ मा रचना गरेको संगीत सम्बन्धी नेपालभाषाको ग्रन्थ संगीत भाषामा भ्यागुताको बारे उल्लेख छ । त्यस्तै भक्तपुरको अर्काे प्रसिद्ध राजा भूपतीन्द्र मल्लले भक्तपुरमा मनाईने प्राय सबै जात्रा चाडपर्वहरुका उल्लेख गरी नेपाल सम्वत ८१८ मा मालती चोक (हालको राष्ट्रिय कला संग्रहालयभित्र) मा राख्न लगाएको शिलापत्रमा स्पष्टसँग ब्याजाँ नकेगु उल्लेख द्ध । जहाँ ‘ तुली ताला क्वाक ती ब्यांजा नके” भनी नेवारहरुले गुन्ही पुन्हिको दिन गरिने एउटा संस्कार बारे उल्लेख गरेको छ । जुन विश्वका कुनै पनि जातजातीका नभई नेपाल मण्डलको नेवारहरुमा मात्र रहेको छ । आजको बदलिदो परिवेशमा ब्यांजा नकेगु जस्तो मौलिक संस्कृतिको बैज्ञानिक तथा तथ्यपरक सिहांवलोकन हुनुअत्यन्त जरुरी छ ।

यस बाहेक भ्यागुतोलाई बर्तमान शिक्षा प्रणालीले समेत मान्नु पर्ने जीवको रुपमा देखिन आउँछ । वैदिक कालमा अध्ययनको लागि पाठ्यपुस्तक नहुदाँ गुरुले प्रदान गरेको शिक्षा विद्यार्थीहरुले कण्ठस्थ पार्नु पर्दथ्यो । बास्तवमा वैदिक शिक्षण पद्धतिको आविष्कार नै भ्यागुताबाट भएको छ । जसरी बर्षा याममा एउटा ठुलो भ्यागुतो कराएपछि अरु सबै भ्यागुतो एउटै स्वर निकालेर कराउँछ । यसबाट नै शिक्षा लिई वैदिक कालमा गुरुबाट विद्यार्थीलाई शिक्षा दिने चलन बन्यो । यसलाई मनन गरी ब्राम्हण वर्गमा यही श्रावण शुक्ल पूर्णिमाका दिन श्रावणिक कर्म तथा उपाकर्म गर्ने चलन यद्यपी रहेको छ । तसर्थ आदिबासी नेवारहरुमा होइन सम्पूर्ण विद्यार्थीवर्गले पनि यस दिनको भ्यागुताको योगदानलाई सम्झनु उपयुक्त हुुन्छ ।

Leave A Reply

Your email address will not be published.