Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाद्वारा संस्कृतिकर्मी र कलाकार सम्मानित

0

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले यहाँका कला–संस्कृति, नाचगान, सम्पदा आफ्नै सम्पत्ति भएको हुँदा संरक्षण गरेर जीवन्तता दिनु अपरिहार्य भएको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा बिहीबार आयोजित सांस्कृतिक गुरूहरूको सम्मान, गाईजात्रा पर्व र चित्रकला प्रतियोगितामा उत्कृष्ट टोली र कलाकारलाई पुरस्कार वितरण, पथप्रदर्शक प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष रोहितले स्थानीय भाषा, नाचगान, कला, संस्कृति हाम्रो पहिचान भएको हुँदा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

कति पुरानो भाषा लोप भइसकेको र कति लोप हुन लागेको बेला आफ्नो भाषा र शब्दलाई जीवन्तता दिन पुराना र नयाँ सांस्कृतिक गुरू तथा जानकारहरूसँग सोधपुछ गरी जोगाउने अभियानमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो
यहाँका मठ, मन्दिर, सत्तल, पाटी–पौवाजस्ता सम्पदाहरूको संरक्षण गर्ने दायित्व हाम्रो हो, सम्पदाहरूको मर्मत सम्भार, जीर्णोद्धार गर्ने कामलाई सहज बनाउन डकर्मी, सिकर्मी र लोहकर्मीहरूको तालिम आवश्यक छ – अध्यक्ष रोहितले भन्नुभयो ।

नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले सरकारले देश र जनताको समस्या नबुझेको कारण जनताले दुःख पाइरहेको बताउनुभयो । देशमा निजी विद्यालय र निजी अस्पताल सञ्चालन यथावत हुने गरी सरकारले निःशुल्क शिक्षा र जनस्वास्थ्य अधिकार ऐन पारित गरी संविधानको मौलिक हकसम्बन्धी प्रावधानलाई उल्लङ्घन गरेको उल्लेख गर्दै सांसद सुवालले सरकारले कृषिमा ध्यान नदिएको हुँदा देश खाद्यान्नमा परनिर्भर भइरहेको औंल्याउनुभयो ।

विदेशमा भइरहेको युवा पलायन रोक्न सरकारले स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने विचार राख्दै उहाँले उपत्यकाका औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने आ.व. २०७२/७३ को सरकारी योजना अहिलेसम्म कार्यान्वयन नभएको बताउनुभयो । बलात्कारपछि बालिका निर्मला पन्तको हत्याका अपराधी विदेशी या सरकारभन्दा शक्तिशाली भएकै कारण अहिलेसम्म पत्ता नलागेको आशङ्का व्यक्त गर्दै उहाँले राज्यले अपराधीलाई संरक्षण गर्न नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘देश र जनताको हितमा काम नगर्ने सरकारको नेतृत्व गर्ने दल देश र जनताको पार्टी र सरकार होइन ।’’ उहाँले भूकम्प पीडित आठ लाखमध्ये एक हजारले मात्र सहुलियत व्याजमा ऋण पाएको हुँदा सरकारले यो नीतिलाई चालू राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सांसद सुवालले बुटवल–जितगढी नेपालको धरोहर भएको हुँदा त्यहाँको मणिमुकुण्ड सेन दरवार र ३ बिघा जङ्गल भारतीय गोर्खा सैनिकको पेन्सन वितरण गराउने नाममा भारतीय सेनाको कार्यालय राख्न नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।कार्यक्रमका सभापति एवं नगर प्रमुख सुनिल प्रजापतिले संस्कृति–सम्पदाको संरक्षण र सरसफाइ गरेर भक्तपुरलाई संसारमा चिनाउने काम भनपाले गरिरहेको बताउनुभयो । सम्पदाहरूको सबै निर्माण कार्य विदेशी र ठेक्कामा दिए हाम्रो औचित्यमाथि प्रश्न उठ्ने हुँदा उपत्यकालाई नै सांस्कृतिक केन्द्र बनाउनेतर्फ भनपाको प्रयास भइरहेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले सम्पदालाई मौलिक शैलीमै कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रत्येक वडाबाट दुई दुई जना गरी २० जना सांस्कृतिक गुरूहरूलाई नगद रू. १५ हजारसहित सम्मान गरिएको थियो ।गाईजात्रा पर्वको अवसरमा आयोजित परम्परागत र आधुनिक नाचगान तथा अन्य विधा, चित्रकलाका उत्कृष्ट टोली तथा व्यक्तिहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो । त्यस्तै सांस्कृतिक विधाका मूल्याड्कनकर्ताहरुलाई मायाको चिनो, स्थानीय पथप्रदर्शक तालिमका प्रशिक्षकहरुलाई सम्मान-पत्र र पथप्रदर्शक तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण गरिएको थियो ।कार्यक्रममा देवी नाच, लाखे नाच, हनुमान नाच, मयुर नाच देखाइएको थियो ।

Leave A Reply

Your email address will not be published.