Explore news and happenings at Bhaktapur

बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदद्वारा भक्तपुर नगर अवलोकन

२०७६ कार्तिक २६ गते, मंगलबार

0

नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलबार भक्तपुर नगरको अवलोकन गर्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र कार्यपालिका सदस्यको टोलीले भक्तपुर दरबार क्षेत्रको मुख्य प्रवेशद्धारमा महामहिम राष्ट्रपति हमिदलाई स्वागत गर्नुहुँदै भक्तपुर दरबार क्षेत्रमा अवस्थित सांस्कृतिक र पुरातात्विक महत्व बोकेका सम्पदाहरुको अवलोकन गराउनुभयो ।

भ्रमणका क्रममा महामहिम राष्ट्रपति हामिदले भक्तपुरको विश्व सम्पदामा सूचीकृत सम्पदाहरुको मौलिक विशेषता र यसमा प्राकृतिक विपत्तिले परेको प्रभावको विषयमा जिज्ञासा राख्नुभयो । यहाँका सांस्कृतिक पुरातात्विक र ऐतिहासिक सम्पदाहरुको जिज्ञासापूर्वक अवलोकन गर्नुभयो ।

भक्तपुर नपाले व्यवस्था गरेको माक प्याखं र देवी प्याखंको अत्यन्त रुचीपूर्वक अवलोकन गर्नुभयो र देवी प्याखंमा भएको शेरसिंह बंगलादेशको एउटा सांस्कृतिक नाचसँग समानता भएको विषयमा पनि बताउनुभयो ।

उहाँले यहाँको आर्थिक गतिविधि, पर्यटन, हस्तकला, परम्परागत कृषि पेशालगायतका विषयमा जिज्ञासा राख्दै ध्यानपूर्वक सुन्नुभयो र आजको पूर्णिमाको दिन स्थानीय दाफा भजनले प्रदर्शन गरेको अन्नको चित्रकला पनि अत्यन्त रुचिपूर्वक अवलोकन गर्नुभयो ।

महामहिम राष्ट्रपति हामिदले राष्ट्रिय कला संग्रहालय, स्वर्ण ढोका, पच्पन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, बहताल हुँदै टौमढी क्षेत्रको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत गर्नुभयो ।

प्रमुख सुनिल प्रजापतिले महामहिम राष्ट्रपति हमिदलाई ‘मयुरको झ्याल’ मायाको चिनोस्वरुप उपहार प्रदान गर्नुभएको थियो । चार दिने नेपालको औपचारिक भ्रमणमा रहनुभएका हमिदको भ्रमण टोलीमा ५२ सदस्य रहेका छन् ।

Leave A Reply

Your email address will not be published.