Explore news and happenings at Bhaktapur

एक्काइसौँ विविध भाषा साहित्य सम्मेलन सम्पन्न

मध्यपुर, १२ कार्तिक ।

0

‘भाषा, कला र संस्कृति जोगाऔँ, राष्ट्रिय भावना प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ मङ्गलबार मध्यपुरको तुलंननी टोलमा एक्काइसौँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम भयो ।
सम्मेलनको उद्घाटन सांस्कृतिक गुरु तेजकुमार कुन्छें प्रजापतिले गर्नुभयो ।

सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभामा भक्तपुर क्षेत्र नं १ का सांसद प्रेम सुवालले नेपाली नदीबाट भारतलाई विद्युत् उत्पादन गराई भारतमा बेच्न संरा अमेरिकासँग ऋण सहयोग लिनु देश हितविपरीत भएको बताउनुभयो ।
संरा अमेरिकी सहश्राब्दी सहकार्य कार्यक्रम परियोजना(एमसीसी)बाट ऋण सहायता लिई भारतलाई सस्तोमा विद्युत् बेच्न भैरहवामा बनेको अन्तरसिमाना विद्युत् प्रसारण लाइनले नेपालको हित नगर्ने उहाँको भनाइ छ ।
संरा अमेरिकाको हिन्द प्रशान्त रणनीति सैनिक गठबन्धन भएकोले असंलग्न देश नेपाल सो रणनीतिमा सहभागी बन्न नहुने सांसद सुुवालले बताउनुभयो ।

सरकारमा गएका शासक राजनीतिक दलहरूले इमानदारीका साथ जनताको हितमा काम नगरेको हुनाले आज देश कृषि उत्पादनमा परनिर्भर बन्दै गएको बारे चर्चा गर्दै उहाँले सत्तारुढ दलले नक्कली मोही बनाई सार्वजनिक जग्गा व्यक्तिको बनाएको हो भन्नुभयो ।
सांसद सुवालले सरकारले ठिमी–बोडे सडक, निकोसेराको सडक, नगरकोट सडक समयमै पुनःनिर्माण नगर्दा लामो समयदेखि जनता समस्यामा रहेको र सरकारले भ्रष्ट ठेकेदारकै संरक्षण गरिरहेको बताउनुभयो ।
उहाँले पुराना सहरको संरक्षणमा जोड दिनुपर्ने बताउँदै पुराना सहरको उचित बन्दोबस्त नगरी नयाँ सहरको विकास गर्न नहुने बताउनुभयो ।
देशको सन्तुलित विकास नहुँदा काठमाडौं उपत्यकामा फोहोर र प्रदूषणको समस्या र खानेपानीको अभाव भएको बताउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घर–घरमा ग्यास ल्याउने कुरा गर्ने सरकारले तिहारको लागि नेपाली जनतालाई आवश्यक अधिकांश सामान विदेशबाट आयात गरेको बताउनुभयो ।
उहाँले ‘कम्युनिस्ट’ दाबी गर्ने वर्तमान सरकार ठेकेदारको घेरामा रहेको बताउनुभयो ।
उपभोक्ता समितिमार्फत गरिने विकास निर्माण गुणस्तरीय र जनताको अपनत्व हुने अनुभव सुनाउँदै ठेकेदार पोस्न सरकारले ठेकेदारी प्रणालीलाई बलियो बनाउन चाहेको बताउनुभयो ।
सम्मेलनमा ठमेलस्थित कमलपोखरी संरक्षण अभियन्ता भागवतनरसिं प्रधानले २०५९ देखि नै राजधानीको केन्द्रमा रहेको सार्वजनिक सम्पदा संरक्षणको लागि काठमाडौँका सम्पदाप्रेमी जनता लागेको तर जनविरोधी सरकारहरूले सम्पदा नास्ने स्वार्थीहरूकै पक्ष लिँदा पोखरी संरक्षण चुनौतीपूर्ण बनेको बताउनुभयो ।

नेपाली सेनाका पूर्वकर्णेल प्रेमसिंह बस्न्यातले नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमण र आक्रमणबारे नेपाली जनता सचेत भई प्रतिरोध गर्नुपर्ने बताउनुभयो । उहाँले मध्यपुर थिमिको इतिहास र संस्कृतिका केही पक्षबारे चर्चा गर्नुभयो ।

इन्जिनियर राजदास श्रेष्ठले कृषि क्षेत्रलाई त्याग्न नहुने बताउनुभयो । कृषि क्षेत्रलाई छोड्दा देश क्रमशः परनिर्भर बन्दै जाने उहाँको भनाइ थियो ।
जनसरोकार समिति खोकनाका नेपाल डंगोलले विस्तृत योजना नै तयार नभई सरकारले नेपाल सरकारलाई अघि सारेर खोकना र बोङाका जनताको सम्पत्ति र संस्कृति म्हास्न खोजेको बताउनुभयो ।

साहित्य सम्मेलनमा लेखकहरू टेकबहादुर राना, ओम धौभडेल, सुन्दरराम श्रेष्ठ, सजीव श्रेष्ठ, वसन्त नकर्मी, प्रेम के निडरलगायतले आ–आफ्ना साहित्य प्रस्तुत गर्नुभएको थियो ।
शिक्षक आशाहरि प्रजापतिको सभापतित्वमा भएको सम्मेलनमा विविध भाषा साहित्य समाजका अध्यक्ष सूर्यराम था श्रेष्ठ, आयोजक समितिका सल्लाहकार राजकुमार प्रजापति, अध्यक्ष तुल्सीकृष्ण प्रजापति, कोषाध्यक्ष वीरकृष्ण प्रजापतिलगायतले बोल्नुभएको थियो ।
साहित्य सम्मेलनमा वाचित कविता विधामा प्रथम नासल श्रेष्ठ, द्वितीय सुनिता गाइसी, तृतीय श्यामकृष्ण तुछें र सान्त्वना शिवप्रसाद श्रेष्ठ र पद्मा खयरगोली हुनुभयो ।
मङ्गलबार बिहान विविध भाषा साहित्य समाजको आयोजनामा बोडेको ख्वपलाबाट सांस्कृतिक ¥याली भएको थियो । साहित्य सम्मेलनमा सांस्कृतिक ¥यालीका सहभागी विभिन्न टोलीहरूलाई प्रशंसापत्र वितरण गरिएको थियो ।
बेलुका सांस्कृतिक कार्यक्रम देखाइएको थियो ।

Leave A Reply

Your email address will not be published.