Explore news and happenings at Bhaktapur

भक्तपुर नपा वडा नं. १ मा आजबाट तीनदिने कौसी खेती तालिम सुरु

भक्तपुर, २०७६ कार्तिक ३ गते, आइतबार

0

भक्तपुर नगरपालिका वडा नं. १ द्वारा गठित कृषि समितिको आयोजनामा आइतबारदेखि सुरु भएको ३ दिने कौसी खेती तालिम आजदेखि सुरु भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले कम जग्गामा बढी उत्पादन गर्ने विभिन्न प्रविधिको विकास भइसकेको उदाहरणहरू प्रस्तुत गर्नुहुँदै महिलाहरूको श्रमशक्तिलाई अधिकत्तम उपयोग गर्न नगरपालिकाले सीपमूलक तालिमहरू सञ्चालनमा जोड दिइरहेको बताउनुभयो ।

समाज विकासको क्रममा महिलाहरू शक्तिशाली भएको बताउनुहुँदै समयक्रमसँगै महिलाहरूलाई ओझेलमा पार्ने, महिलाहरूलाई वस्तुसरह बेचबिखन गर्ने र बोक्सीको आरोपलगाउने जस्ता कार्यहरू हुँदै आएको बताउनुभयो । उहाँले महिलाहरूको आर्थिक समानताको निम्ति पनि भक्तपुर नगरपालिकाले महिलाकेन्द्रित विभिन्न सीपमूलक तालिमहरूको सञ्चालन गरिरहेको र सो तालिमले धनी–गरिब वगबीच, महिला–पुरुषबीचको विभेद स्वतः हट्दै जाने बताउनुभयो ।

समाजमा मुख देखाउन लायक नभएका र अनैतिक क्रियाकलापमा मुछिएका सांसद र जनप्रतिनिधिका कारण देशको बद्नाम भइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले व्यापक जनताको राजनैतिक चेतनास्तर उकास्नु नै नेपाल मजदुर किसान पार्टीको एकमात्र उद्देश्य भएको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिका समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको जिकिर गर्नुहुँदै नगरपालिकाले सञ्चालन गरिरहेको विभिन्न तालिमहरूको जानकारी गराउनुभयो ।

उहाँले विषादीरहित तरकारी उत्पादन गर्न र कौसीको जग्गालाई उपयोग गर्न नगरका सबै वडामा कौसी खेती तालिम सञ्चालन भइरहेको जानकारी गराउनुभयो ।

भक्तपुर नपाद्वारा गठित कृषि समितिका संयोजक राजकृष्ण गोराले स्वस्थ र सार्थक जीवन बाँच्न स्वास्थ्यबद्र्धक खानपिनमा जोड दिनुपर्ने र बाँझो जग्गा सदुपयोगको निम्ति कौसी खेती तालिमले सहयोगी भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

नेमकिपा वडा नं. १ का इन्चार्ज लक्ष्मीनारायण राजलवटले नेपालीहरू विदेशबाट आयात हुने विषादीयुक्त तरकारीहरू उपभोग गर्न बाध्य भइरहेको समयमा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको कौसी खेती तालिमले आफूलाई पुग्दो तरकारी आफ्नै बारीमा उत्पादन गर्न मद्दत पुग्ने बताउनुभयो ।

कौसी खेती तालिमका प्रशिक्षक सबिन ख्याजुले कृषकहरूलाई विषादी प्रयोग नगर्न उत्साहित गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै घर, पसल तथा संस्थाहरूबाट संकलन हुने फोहर व्यवस्थापन गर्न कुहिने फोहरबाट मल बनाई खेतीमा प्रयोग गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति एवम् वडा नं. १ कृषि समितिका अध्यक्ष पुण्यराम बाइजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।

 

 

 

Leave A Reply

Your email address will not be published.