Explore news and happenings at Bhaktapur

दत्तात्रय क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न विभिन्न बोटको विरुवाको गमलामा राखियो

२०७६ कार्तिक १ गते शुक्रबार ।

0

भक्तपुर नगरपालिकाको नियमित पाक्षिक सरसफाइअन्तर्गत शुक्रबार भक्तपुरको दत्तात्रय क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विभिन्न बोटको विरुवासहितको गमला राख्ने कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर सानो नगरपालिका भए पनि देशको राम्रो र व्यवस्थित नगरपालिकाको रुपमा विकास गर्ने लक्ष्य राखेको बताउनुहुँदै भक्तपुर महोत्सवको तयारी स्वरुप नगरमा ढुङ्गा छाप्ने, तार भूमिगत गर्ने लगायतका कार्य भइरहेको बताउनुभयो ।
उहाँले भक्तपुरमा प्रत्येक सम्पदा अद्धितीय भएकाले त्यसको संरक्षण र व्यवस्थापनमा नपाले ध्यान दिइरहेको भन्नुहुँदै नगरपालिकाले राखेको गमला र विरुवाको संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय वडावासीको पनि रहेको बताउनुभयो ।

विश्व सम्पदा क्षेत्रको सूचीमा सूचिकृत सम्पदास्थलहरुमा अव्यस्थित पार्किङ्ग निषेध गर्दै लाने, पर्यटकलाई सहज आवागमनको लागि आवश्यक व्यवस्थापर्न र भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य नगरपालिकाको रहेको प्रमुख प्रजापतिले बताउनुभयो ।

युनेस्कोको प्रतिनिधि मण्डलले भक्तपुरको सम्पदा अवलोकन पश्चात यहाँको सम्पदा संरक्षणको प्रशंसा गरेको बताउनुहुँदै नपाले गरिरहेको नियमित सरसफाई अरुलाई देखाउनको निम्ति नभई पर्यटकहरुको लागि घुम्नलायक सुन्दर नगर बनाउनको भएको जानकारी दिनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले पर्यटकीय क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न विभिन्न ठाउँहरुमा बोटविरुवासहितको गमला राख्ने कार्यको थालनी गर्नुभएको बताउनुहुँदै जनसंख्या वृद्धिका कारण हरियाली प्रवद्र्धन कार्यक्रमहरुको आवश्यकता रहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाद्वारा गठित वातावरण समितिका सदस्य तथा कार्यपालिका सदस्य सुनिता अवाल, भक्तपुर नपा वडा नं ९ का पूर्ववडाध्यक्ष कृष्णभक्त लवजु, वडा सदस्य इन्द्रबहादुर प्याथ, कार्यपालिका सदस्य छोरीमैया सुजखुले पनि बोल्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.