भक्तपुर क्यान्सर अस्पतालमा यसअघि भइरहेका अनियमितताका बारेमा कमै पत्रकारले मात्र चासो राखे । त्यहाँ एक जनताको सरकारका रूपमा रहेको भक्तपुर नगरपालिकाले समयोचित चासो राखेपछि भने धेरैले गलत सूचनाका आधारमा समाचार लेखे ।

भक्तपुर अस्पताल व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरूले गर्ने गरेका ज्यादति र अनियमितताले सीमा नाघेको थियो । उनीहरूले आफ्नो स्वार्थका लागि अस्पताललाई आवश्यक मेशिन र मेशिनरी पार्ट्स् किन्न महिनौं र वर्र्षौ लगाएका थिए । जबसम्म आफूहरूलाई कमिसन दिने र विदेश घुमाउने पार्टी भेंिदैनथ्यो वा तयार हुँदैनथ्यो अस्पतालमा अत्यावश्यक सामान खरिद हुँदैनथ्यो । अस्पताल होस् वा कुनै संस्थामा आवश्यक सामान खरिद गर्न वा कसैलाई ठेक्का दिन निम्नतम योग्यता वा गुणस्तर निर्धारण गरी टेण्डर आह्वान गर्ने सर्वव्यापी प्रक्रिया हो । तर नेपाल अर्बुद रोग निवारण संस्थाका तथाकथित अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा रहेको पूर्व व्यवस्थापन समितिले कहिल्यै त्यो प्रक्रिया आवश्यक ठानेन । सिटी स्क्यान मेशिन सञ्चालन होस् वा ल्याव सञ्चालन होस्, फार्मेसी चलाउने होस् वा सफाइ मजदुर राख्ने मामिलामा होस् बिनाटेण्डर ठूलो नाफा हुने गरी आफ्नो र आफन्तहरूका कम्पनी र संस्थाहरूलाई पारिरहेको सत्य कतै लुकेको छैन । तिनीहरूका अनियमितताविरुद्ध भक्तपुरका सचेत जनताले यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दिएको तथ्य धेरैलाई थाहा नहोला । नेपाल अर्बुद रोग निवारण संस्थाका इमानदार व्यक्तित्वहरूले त्यस्ता भ्रष्ट र कमिसनखोरहरूलाई संस्थाबाट अविलम्ब निकाल्नुपर्छ ।

अस्पतालमा बिरामी र बिरामीका आफन्तले सकीनसकी महँगो शुल्क तिर्न परिरहेको छ । तिरेको शुल्क वा रकमले अस्पताल विकासको लागि खर्च गरिएमा त कुनै गुनासो पनि हुने थिएन । अस्पतालको करोडौँ रुपैया सिधिने गरी अस्पताल व्यवस्थापन समितिका ती पूर्व पदाधिकारीहरूले अवलोकन भ्रमणका नाममा अनावश्यक रूपमा विभिन्न देशको शयर गरेका छन् । अस्पतालका कर्मचारी, चिकित्सक र नर्सहरूलाई नियमानुसार नियुक्ति, स्थायी र बढुवा नगरी व्यवस्थापनका पदाधिकारीहरूको चाकडी गर्न लगाउने र दासको रूपमा व्यवहार गर्ने गैरप्रजातान्त्रिक क्रियाकलाप हुँदै आएको थियो । भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेर वा व्यवस्थापन आफ्नो हातमा लिएर समयोचित कदम चालेको छ । भक्तपुर क्यान्सर अस्पताल कमिसनखोरहरूको हातबाट खोक्रो हुने सङ्कटबाट बचेको छ । त्यसमा अस्पतालका चिकित्सक, नर्स, कर्मचारी, मजदुर र भक्तपुरका विकासप्रेमी र न्यायप्रेमी जनताको साथ र समर्थन छ । अस्पताल सुचारु रूपमा चलिरहेको छ । अस्पतालले बिरामीलाई दिने सेवा सुविधामा कुनै कमी भएको छैन बरु बढ्दै जाने भएको छ ।

भक्तपुर नगरपालिकाले अस्पतालमा उपचार गर्न आउने बिरामी र बिरामी कुरुवा बस्ने बहुद्देश्यीय भवन बनाउँदैछ ।
भक्तपुर क्यान्सर अस्पताल कथित अर्बुद रोग निवारण संस्था एक्लैले बनाएको र चलाएको अस्पताल होइन । यो अस्पतालमा भक्तपुर नगरपालिका, तत्कालीन जिविस भक्तपुर, नेपाल सरकार, रोटरी क्लब, भक्तपुरका विभिन्न सङ्घसंस्था, स्थानीय विभिन्न पेशाका चन्दादाता जनतालगायतको सहायता थियो र रहेको छ । अस्पताल निश्चय नै गैरनाफामूलक हो तर यसको अर्थ बिरामीले चर्को शुल्क तिरेर कथित सेवा प्रदायक कम्पनीहरूलाई ठूलो नाफा दिने र त्यसको कमिसन पूर्व अध्यक्ष श्रेष्ठ, सदस्य विमल होडा र कोषाध्यक्ष कृष्णप्रसाद ताम्राकारलगायतलाई पु¥याउन दिन पक्कै पनि होइन ।

भक्तपुर नगरपालिका राजनीतिक पार्टी होइन । भनपाले चलाएका ख्वप सर्कलका कलेजहरूमा देशका सबैजसो जिल्लाका र विभिन्न राजनीतिक आस्थाका विद्यार्थीहरू पढिरहेका छन् र शिक्षकहरूले पढाइरहेका छन् । भनपाले चलाइरहेका जनस्वस्थ्य केन्द्र र सहरी क्लिनिकहरूमा राजनीतिक आस्थाका आधारमा भेदभाव कति पनि छैन, सबैले उपचार सेवा पाइरहेका छन् । त्यसैले यो अस्पतालले पनि बिरामीको सक्दो उपचार गर्नेेबाहेक अर्थोक गर्ने छैन । यसैलाई लिएर नेकपा वा नेपाली काङ्ग्रेस कुनै राजनीतिक दलले पनि आफ्नो स्वार्थको रोटी सेक्ने धूर्तता नगरे हुन्छ । भक्तपुरका जनतालाई सही र गलत सबै जानकारी छ ।

– संयोग क्षत्री र साथीहरू भक्तपुर ।

स्रोत – अनलाइन मजदुर