सम्पदाहरू पुनःनिर्माण गरिंदा अनुसन्धानलाई जोड दिनुपर्छ ः प्रमुख प्रजापति
भक्तपुर । २०७६ वैशाख १९ गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप इञ्जिनियरिङ कलेजको आयोजनामा सम्पन्न तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनमा ९ वटा देशका २५० जना स्वदेशी–विदेशीको सहभागिता रहेको र विपद व्यवस्थापनसम्बन्धी ६२ वटा कार्यपत्र प्रस्तुत भएको जानकारी गराउनुभयो । भूकम्प, डुबान, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोपपछि विपद व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै प्रमुख प्रजापतिले सम्पदाहरू पुनःनिर्माण वा जीर्णोद्धार गरिंदा अनुसन्धानलाई जोड दिनुपर्ने र मौलिक स्वरुपलाई प्रमुख प्राथमिकतामा राखिनुपर्ने सम्मेलनको निष्कर्ष रहेको बताउनुभयो ।
बुधबार भक्तपुर एफ.एम.को ‘साझा सरोकार’ कार्यक्रममा सञ्चारकर्मी उत्तम आलेसँग भएको कुराकानीमा प्रमुख प्रजापतिले नेपाल सरकारले भूकम्प पीडितलाई दिएको अनुदान अपुग भएको बताउनुहुँदै भक्तपुरका सांस्कृतिक सम्पदाहरू उल्लेख्य मात्रामा पुनःनिर्माण सकिएको र अझै केही सम्पदाहरू निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले नेमकिपाको ‘एक घर एक स्नातक’ योजनाले आज भक्तपुरलाई शिक्षाको उत्कृष्ट गन्तव्यस्थल को रुपमा परिचित गराउन सहयोगी भूमिका खेलेको बताउनुहुँदै शिक्षकहरूले इमानदारीपूर्वक अध्यापन गराएका कारण भक्तपुरको नतिजा उत्कृष्ट रहँदै आएको स्पष्ट पार्नुभयो । ख्वप विश्वविद्यालयको विधेयक पारित भएमा देशकै नमुना विश्वविद्यालयको रुपमा सञ्चालन गर्ने उद्देश्य नगरपालिकाको रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले आर्थिक रुपमा पछाडि परेका गरिब तथा जेहेन्दार विद्यार्थीको लागि सहुलियत दरमा रु. ५ लाखसम्मको शैक्षिक ऋणको व्यवस्था र राजनीतिशास्त्र, इतिहास, भूगोल, संस्कृति पढ्ने विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो ।
भक्तपुरको रानी पोखरी जनताले नै उपयोग गर्दै आएको ऐतिहासिक महत्व बोकेको पोखरी भएको उल्लेख गर्नुहुँदै उहाँले रानी पोखरी पुनःनिर्माण गर्न सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरिरहेको र प्राप्त प्रमाणको आधारमा पोखरीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गर्ने नगरपालिकाको योजना रहेको बताउनुभयो ।
तीन दशक पहिलेदेखि पानी सुकेको भक्तपुरको दुधपाटीमा अवस्थित भाजु पोखरीलाई पुनः जीवन दिने काम पनि भइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरका मूर्त र अमूर्त सम्पदाको संरक्षणमा नगरपालिकाले अग्रणी भूमिका खेल्ने बताउनुभयो ।