Explore news and happenings at Bhaktapur

बडा दशैं, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

भक्तपुर, २०८३ असोज २७ गते।

0
नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगरपालिका वडा नं। ४ बोलाछेँ समितिको आयोजनामा बडा दशैं, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ पुस्तालाई उचित मार्गनिर्देशन गर्न नसके कुलतमा फस्ने जोखिम रहने बताउँदै चाडपर्व मनाउँदा स्वास्थ्य र संस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। दशैं, तिहारलगायतका चाडपर्वमा स्वस्थ खानपानमा ध्यान दिनुपर्ने उल्लेख गर्दै धूमपान, मद्यपान तथा अत्यधिक चिल्लो र पिरो खानेकुराले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल आफैँले गर्नुपर्ने उहाँले बताउनुभयो।
नगरपालिकाले नागरिकलाई स्वस्थ र सक्रिय बनाउन विभिन्न वडामा व्यायामशालाको व्यवस्था गर्दै आएको जानकारी दिँदै उहाँले उपलब्ध व्यायामशालाको सदुपयोग गरी नियमित व्यायाम गर्न आग्रह गर्नुभयो। नसर्ने रोगको जोखिम कम गर्न व्यक्तिको जीवनशैली र खानपानको महत्त्वपूर्ण भूमिका रहने चर्चा गर्दै उहाँले तरकारी तथा फलफूल उत्पादनमा विषादीको अत्यधिक प्रयोगले पनि जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको बताउनुभयो।
दशैंलगायतका चाडपर्व मनाउँदा अनावश्यक तडकभडक नगरी आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले चाडपर्व मनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं। ४ का वडाध्यक्ष उपेन्द्र सुवालले नेपाल क्रान्तिकारी महिला संघले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै भक्तपुरको मौलिक संस्कृति संरक्षणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले परम्परागत बाजा र नाचहरू स्वास्थ्य, मनोरञ्जन तथा सांस्कृतिक पहिचानका दृष्टिले महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।
नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगर समितिका सचिव मञ्जु लाखाले नेपाल मजदुर किसान पार्टीले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमार्फत जनताको सेवा गर्दै आएको बताउनुभयो। महिला समूहहरूमा राजनीतिक चेतना अभिवृद्धि गर्नु आवश्यक रहेको उल्लेख गर्दै उहाँले नेपाल क्रान्तिकारी महिला संघले महिलाहरूको राजनीतिक तथा सांस्कृतिक चेतनास्तर उकास्न निरन्तर काम गर्दै आएको बताउनुभयो।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघ वडा नं। ४ बोलाछेँ समितिका अध्यक्ष कृष्णस्वरी दुवालले धन्यवाद ज्ञापन गर्दै उपस्थित सबैलाई बडा दशैं, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा उपप्राध्यापक हरिसुन्दर सुवाल र पूर्व जनप्रतिनिधि राजेन्द्र माकले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो। समितिका सदस्य रञ्जना सुवालले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

Leave A Reply

Your email address will not be published.