भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालन समितिका अध्यक्ष श्री सुनिल प्रजापतिले ख्वप कलेज अफ इन्जिनियरिङमा नवनियुक्त शिक्षक तथा कर्मचारीहरूलाई एक समारोहबीच नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको छ।
नवनियुक्त शिक्षक तथा कर्मचारीहरूलाई कलेज परिवारमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरू देशकै उदाहरणीय शैक्षिक संस्थाका रूपमा विकास हुँदै गएको बताउनुभयो। कलेज स्थापनाकालमा विभिन्न संघर्षहरू गर्नुपरे पनि शिक्षक, कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय समुदायको अथक प्रयासका कारण आज कलेज नमूना संस्थाका रूपमा स्थापित भएको उहाँको भनाइ थियो।
शिक्षक इमान्दार, असल र मेहनती भए विद्यार्थी पनि अनुशासित हुने उल्लेख गर्दै उहाँले सबैलाई आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो। विगतमा कलेजलाई कमजोर पार्ने प्रयासहरू भए पनि स्थायित्वका लागि अविचलित रूपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले स्पष्ट गर्नुभयो।
कार्यक्रममा कलेज सञ्चालन समितिका उपाध्यक्ष तथा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सबैको साथ र सहयोगकै कारण नगरपालिकाले हाल ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले कलेज सञ्चालन गर्ने पहिलो नगरपालिका भक्तपुर भएको उल्लेख गर्दै सबै कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरू अनुशासित र लगनशील रहेको बताउनुभयो।
उक्त कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माक तथा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवालले नवनियुक्त शिक्षक तथा कर्मचारीहरूलाई स्वागत गर्दै दुवै कलेज व्यक्तिगत लाभका लागि नभई समाजलाई बौद्धिक रूपमा सशक्त बनाउन स्थापना र सञ्चालन हुँदै आएको बताउनुभयो। उहाँहरूले कलेजको वर्तमान अवस्था र शैक्षिक गतिविधिबारे पनि चर्चा गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रजापतिले नवनियुक्त शिक्षक तथा कर्मचारीहरूलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको थियो। सो अवसरमा कलेज प्रशासन शाखाका प्रमुख सञ्जय मानन्धरले पनि नवनियुक्त शिक्षक तथा कर्मचारीहरूलाई स्वागत व्यक्त गर्नुभयो।
