नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले सहकारी संस्था गरिबहरुको आर्थिक स्तर उकास्नको निम्ति खोलिएको संस्था हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सम्पन्न प्रवचन कार्यक्रममा बोल्नुहुँदै उहाँले सहकारी संस्थाहरुले आर्थिक कारोबारमा मात्र सीमित नरही कृषि, स्वास्थ्य, गरिबलाई शिक्षामा छात्रवृत्ति, समय सापेक्ष तालिम लगायतका सामूहिक हितका लागि काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले सहकारीको रकम अपचलन गरी सर्वसाधारणको बचत रकम जोखिममा पार्नेहरु विरुद्ध ऐन बनाई सम्पत्ति जफत, तत्काल मुद्दा लगाउनुपर्नेमा जोड दिनुहुँदै सहकारी संस्थाहरुमा स्थानीय व्यक्तिहरुलेमात्र सञ्चालन गर्न पाउने नियम लागू गर्न सके बचत अपचलन हुनबाट जोगिने प्रष्ट पार्नुभयो । साथै सहकारी संस्थाहरुले समय सापक्ष अर्थशास्त्र र भाषासम्बन्धी तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर सहकारीको पैसा हिनामिना गर्नेहरुलाई कारवाही गरेको स्मरण गर्नुहुँदै समुदायको हित र सिंगो समाज उत्थानमा सहकारीको अहम् भूमिका रहने बताउनुभयो ।
उहाँले जनताले भविष्यको लागि भनेर जम्मा गरेको सानो सानो पूँजीलाई सहकारीहरुले अपचलन गर्न खोजेको हुँदा जनताको बचत रकम सुरक्षित गर्न नगरभित्र कार्यक्षेत्र नभएका सहकारीहरुलाई सिफारिस नगरिएको स्पष्ट पार्नुहुँदै त्यस्ता बहुउद्देश्यीय सहकारीहरुमा बढी समस्या देखिएको बताउनुभयो ।
भक्तपुर नपाले संकटग्रस्त सहकारी संस्थाहरुसँग समन्वय गरी नगरबासीहरुको बचत सुरक्षित गर्न प्रयास गरिरहेको बताउँदै सहकारीका सञ्चालकहरुले हरेक सदस्यलाई संस्थाको उद्देश्यबारे बताउने र सदस्यहरुले पनि सञ्चालकहरुबारे बुझेर मात्र कारोबार गर्नुपर्छ भन्नुभयो ।
उपप्रमुख रजनी जोशीले सहकारी संस्थाहरुले सहकारीको वित्तीय तथा आर्थिक अनुशासन, सहकारी सिद्धान्त र मूल्य मान्यतालाई मनन गर्दै सदस्यहरुको जीविकोपार्जन र कला कौशललाई उजागर गरी व्यवसायीकरणतर्पm अगाडि बढ्नुपर्ने बताउँदै सहकारी संस्थाहरुले अबका दिनमा बचतकर्ताहरुको बचत रकम अपचलन नहुने गरी संस्थालाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
भनपा २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नगरभित्रका सञ्चालनमा रहेका सहकारी संस्थाहरुको संक्षिप्त विवरण प्रस्तुत गर्दैे सहकारीहरुले संस्थामा रहेको शेयर पूँजी, जगेडा कोषलाई ध्यानमा राख्दै आदर निकेतन सञ्चालन गरी सामाजिक सेवा तथा विभिन्न उपलब्धीमूलक क्षेत्रमा लगानी गर्न सके समाज विकासमा टेवा पुग्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष कृष्णश्वरी प्रजापतिले सहकारी संघले स्थापना कालदेखिनै समुदायमा आधारित सहकारीहरुको हितको निम्ति काम गर्दै आएको प्रष्ट पार्दै बचत तथा ऋण सहकारी संस्थाहरुले आर्थिक कारोबारमा मात्र सीमित नरही सामुदायिक हितका लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके सहकारीको छवि राम्रो हुने विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा सहकारी अनुगमन समितिका हरिरत्न गोर्खाली र नारायण प्रसाद त्वानाबासुले पनि बोल्नुभयो ।