अपांगता दिवसको अवसरमा अपांगता भएकाहरुलाई न्यानो ज्याकेट र पोषिलो पिठो (सतु) वितरण तथा स्वास्थ्य शिविर सम्पन्न
भक्तपुर । २०८२ मंसिर १७
३४ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा अपांगता दिवस कार्यक्रम बुधबार भनपा वडा नं. १ कार्यालय परिसरमा सम्पन्न भयो ।
सोही अवसर पारेर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले नगरभित्रका अपांगता भएकाहरूलाई न्यानो ज्याकेट र पोषिलो पिठो (सतु) वितरण गर्नुका साथै ख्वप अस्पतालको प्राविधिक सहयोगमा अपांगता भएका व्यक्ति र परिवारहरूको लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले व्यक्तित्व विकासमा अगाडि बढ्न अपांगता भएकाहरु पनि योग्य र सक्षम हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा अपांगता भएकाहरुलाई प्राथमिकतामा राख्दै आएको बताउँदै उहाँले अपांगता भएकाहरुले पनि देश विदेशमा पनि उल्लेखनीय काम गरेको उदाहरण प्रस्तुत गर्नुभयो ।
उहाँले अभिभावकको साथ र सहयोगले अपांगता भएकाहरु शैक्षिक, सामाजिक रुपमा अगाडि बढ्न सक्ने बताउँदै अपांगता भएकाहरुको बीचमा पनि समानता आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा अपांगतासम्बन्धी अस्थायी समन्वय समितिका संयोजक रजनी जोशीले नगरभित्र ७०३ जना अपांगता भएकाहरु रहेको तथ्यांक प्रस्तुत गर्दै भक्तपुर नपाले प्रत्येक वर्ष अपांगता भएकाहरुको हक अधिकार सुनिश्चित गराई सामाजिक अस्तित्व कायम गराउन विविध गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले प्रत्येक वर्ष यो दिवसलाई विशेष ढंगले मनाउँदै आएको बताउँदै उहाँले अपांगता भएकाहरुको माग, आवश्यकता र समस्याबारे सम्बन्धित निकाय संवेदनशील हुनु जरुरी रहेको बताउनुभयो ।
अपांगतासम्बन्धी अस्थायी समन्वय समितिका सदस्य हिमालयश्वरलाल मूलले बालबालिकामा हुने अपांगता छिटो पहिचान भए त्यसको उपचार पनि सहज हुने बताउँदै
अपांगता भएकाहरुलाई आत्मबल बढाउने गतिविधिहरु सञ्चालन गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने अपांगता समितिका सदस्य श्यामकृष्ण खत्री र कार्यपालिका सदस्य रोशनमैँया सुवालले अपांगता दिवस मनाउनुको उद्देश्यमाथि प्रष्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाभित्र सञ्चालित अपांगताको क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
