Explore news and happenings at Bhaktapur

‘नेपालको शिक्षा विदेशको लागि सस्तो ज्यामी हुनुहुँदैन’

भक्तपुर । २०८२ मंसिर १६

0
भक्तपुर नगरपालिकाको आयोजनामा आज नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपलहरुको भेला सम्पन्न भयो ।
भेलामा नगर प्रमुख प्रजापतिले विद्यालयहरुले भौतिक संरचनामा भन्दा शिक्षाको गुणस्तरमा प्रतिस्पर्धा गर्न अग्रसर हुनुपर्ने बताउँदै भक्तपुरको शिक्षा राम्रो भएकै कारण ज्ञानविज्ञान र अनुसन्धानको केन्द्रको रुपमा विकास भइरहेको बताउनुभयो ।
परीक्षाले शैक्षिक उपलब्धी मापन गर्ने र समग्र शैक्षिक प्रक्रियाको विश्लेषण गर्ने बताउँदै उहाँले परीक्षा प्रणालीलाई व्यवस्थित बनाउनमा नगरपालिकाले जोड दिँदै आएको बताउनुभयो ।
राज्यले शिक्षामा गरेको लगानीअनुसार प्रतिफल पनि उपलब्धीपूर्ण बनाउने प्रयास शिक्षाकर्मीहरुबाट हुनुपर्ने बताउँदै प्रमुख प्रजापतिले ‘नेपालको शिक्षा विदेशको लागि सस्तो ज्यामी हुनुहुँदैन’ भन्नुभयो ।
नगरका विद्यार्थीहरुलाई शैक्षिक सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउन भक्तपुर नगरपालिकाले विद्यार्थी लक्षित विभिन्न गतिविधिलाई अगाडि बढाउँदै आएको बताउँदै भक्तपुरको शैक्षिक उन्नयनको लागि नगरका विद्यालयहरु योजनाबद्ध ढंगले सञ्चालन हुनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले विद्यार्थीको उत्तीर्ण प्रतिशत बढाउनेमा भन्दा पनि योग्य, संस्कारयुक्त र असल नागरिक तयार गर्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताउँदै योग्य शिक्षकबाट योग्य र अनुशासित विद्यार्थीहरु उत्पादन हुने बताउनुभयो ।
त्यस्तै भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नगरपालिकाको आयोजनामा मंसिर २५ गतेबाट सुरु हुने विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबारे विस्तृतमा जानकारी गराउँदै उक्त प्रतियोगितामा नगरका ९२ वटै विद्यालयको सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।
नगर शिक्षा शाखा भक्तपुरका प्रमुख साधुराम फुयालले प्रिन्सिपल भेलामार्फत नपाको शैक्षिक र खेलकुद नीतिबारे छलफल गर्न समय समयमा भेला कार्यक्रम आयोजना गर्दै आएको बताउँदै नगरपालिकाले विद्यालय अनुगमन सफ्टवेयरमार्फत गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाकाले ख्वपको पहिचान सन्दर्भ सामाग्री पुस्तकको रुपमा प्रकाशन गर्ने तयारी गरिरहेको बताउँदै परिमार्जित पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गर्न लागेको हुँदा सोहीअनुसार विद्यालयलाई तयारीको लागि अनुरोध गर्नुभयो । नपाको आयोजना हुन लागेको योमरी प्रतियोगिता र विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा पनि सक्रिय सहभागिताको लागि अनुरोध गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.