Explore news and happenings at Bhaktapur

क्वाठण्डौंमा समसामयिक विषयमा जानकारी सभा

भक्तपुर । २०८२ मंसिर १२

0
भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा आज नगरपालिकाबाट प्रवाहित सेवा र समसामयिक विषयमा जानकारी सभा सम्पन्न भयो ।
कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले समाजवादउन्मुख काममा जोड दिँदै जनतासँग हातेमालो गर्दै अगाडि बढिरहेको बताउनुभयो ।
पुर्खाले सिर्जेका सम्पत्तिलाई संरक्षण गर्दै नयाँ पुस्तालाई पुस्तान्तरण गर्दै नगरपालिकाका सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार जनताकै सहयोगमा अगाडि बढाउँदै आएको बताउनुभयो ।
नगरपालिकाका गतिविधिहरुलाई पारदर्शी ढंगले जनतामाझ प्रस्तुत गर्दै आएको बताउँदै उहाँले नेमकिपाको सिद्धान्तअनुसार भक्तपुर नपाका जनप्रतिनिधिले जनताको सेवा गर्दै आएको बताउनुभयो ।
अग्रजको योगदानलाई नगरपालिकाले सँधै सम्मान गर्ने बताउँदै उहाँले सिद्धान्त र व्यवहारमा फरक ढंगले काम गर्ने राजनीतिक पार्टीहरुको अस्तित्व विस्तारै हराउँदै जाने बताउनुभयो ।
युवाहरुलाई स्वरोजगार बनाउन नगरपालिकाले हाल हेयर कटिङ, सिलाई, पाक शिक्षा, टेलिभिजनसम्बन्धी क्षमता अभिवृद्धि तालिमहरु सञ्चालन गरिरहेको बताउँदै हातमा सीप भएका व्यक्तिहरु कहिल्यै बेरोजगार नहुने बताउनुभयो ।
नगरपालिकाले कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गरी कुहिने फोहोरबाट मल उत्पादन गरी जनतालाई सहुलियत दरमा वितरण गर्दै आएको बताउँदै उहाँले सार्वजनिक र पर्ति जग्गा ओगटेर बनाइएका संरचनाहरु ढिलो चाडो सरकारकै स्वामित्वमा आउने बताउनुभयो ।
राजनीतिलाई खेलाचीको विषय बनाउनु हुँदैन भन्दै उहाँले राजनीति देश जनताको सेवामा केन्द्रित हुनुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले वडाको विकास निर्माण गतिविधिबारे अवगत गराउँदै भक्तपुर नपा वडा नं. १० धेरै जनसंख्या भएको ठूलो क्षेत्रफल ओगटेको वडा भएको बताउनुभयो । उहाँले वडामा धेरै फल्चाहरु रहेको र ती फल्चा पुनःनिर्माणमा जोड दिँदै आएको बताउँदै नपाले पर्ति जग्गा संरक्षणमा पनि आवश्यक पहल गर्दै आइरहेको बताउनुभयो ।
नेमकिपा १० वडाका इन्चार्ज लक्ष्मीप्रसाद चवालले युवाहरुलाई विदेशिनबाट रोक्न सकेन भने देशमा ठूलो संकट निम्तिने बताउँदै युवाहरुलाई राजनीतिक रुपमा संगठित पार्नु आजको आवश्यकता हो भन्नुभयो ।
नेक्राकिसंघ भक्तपुर जिल्ला अध्यक्ष गंगाराम ज्याख्वले नेमकिपाका अग्रजको संघर्षको फल आज भक्तपुरबासीले उपभोग गरिरहेको बताउँदै नेमकिपाले किसानहरुको हकहितमा गरेको विभिन्न आन्दोलनको परिणामस्वरुप आज भक्तपुरका किसानहरु सबै क्षेत्रमा अगाडि बढिरहेको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ले ख्वप अस्पतालको सेवा प्रवाह र आगामी योजनाहरुबारे स्पष्ट पार्दै ख्वप अस्पताल जनताको अस्पतालको रुपमा अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य कृष्णनारायण दुमरु र जितेन्द्र मुनंकर्मीले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.