Explore news and happenings at Bhaktapur

साँस्कृतिक बाजा प्रतियोगिताको लागि तयारी सुरु

भक्तपुर, ८ मङ्सिर ।

0
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको आतिथ्यमा साँस्कृतिक गुरुहरूको भेला सोमबार सम्पन्न भयो ।
नगरपालिकाको सभाकक्षमा भएको उक्त कार्यक्रममा उपप्रमुख जोशीले भक्तपुर नगरको पहिचानको रूपमा रहेको मौलिक बाजाहरूको संरक्षण र जीवन्तता दिने उद्देश्यअनुसार नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रअनुसार नै हरेक वर्ष सांस्कृतिक बाजाहरूको प्रतियोगिता गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो मौलिक बाजा, जात्रा, संस्कार, संस्कृतिप्रति नयाँ पुस्तालाई आकर्षित गर्न भनपा निरन्तर लागिरहनेछ, यस कार्यमा भक्तपुरवासीको साथ र सहयोग हुने अपेक्षा गर्दछु ।”
भनपाले शिक्षा, स्वास्थ्य, सरसफाइका साथै सम्पदा संरक्षणलगायत समग्र क्षेत्रको विकास गर्दै नमुना नगर बनाउने उद्देश्यसहित कार्य गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
 भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नयाँ पुस्तालाई बाजाप्रति उत्साहित गर्न र पुस्तान्तरण गर्न बाजा प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
वडाध्यक्ष कवांले भन्नुभयो, “आफूसँगसँगै अरूलाई पनि बाजा सिक्न उत्प्रेरित गर्न सके अझ राम्रो हुनेछ । भनपाले लोपोन्मुख बाजाहरूको संरक्षण र सम्बर्द्धन गर्न समयसापेक्ष रूपमा छलफल गरी आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको छ ।”
वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विगतका वर्षहरू धाँ, बाँसुरी, धिमे, गुँलाबाजालगायतका बाजा प्रतियोगिता भनपाको आयोजनामा भइसकेको र यस वर्ष नयाँ बाजाको प्रतियोगिताको तयारी गर्न छलफल आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा उपस्थित सांस्कृतिक गुरुहरूले नगरपालिकाले बाजा प्रतियोगिता गरिरहनु सराहनीय भएको र विगतमा वर्षमा नगरिएको लालाखीं, नौ बाजा, दाफा भजनको प्रतियोगिता गर्न सकिने सुझाव दिनुभयो ।
उहाँहरूले मौलिक बाजाका बोल र गीतलाई लिपिबद्ध गरी सुरक्षित गर्नुपर्ने आवश्यकता औ‌ंल्याउनुभयो ।

Leave A Reply

Your email address will not be published.