Explore news and happenings at Bhaktapur

“जनताको भावना या अभिमत बुझ्न पनि निर्वाचन आवश्यक छ”

भक्तपुर, ६ मङ्सिर ।

0
 “जनताको भावना या अभिमत बुझ्न पनि निर्वाचन आवश्यक छ र निर्वाचनमा भाग लिनुपर्छ । पहिले धेरै सरकार बने । कसैले पनि राम्रो काम गरेनन् । संसद् पुनःस्थापना भएर उही सरकार बन्यो भने काम हुन्छ भन्ने विश्वास कसरी गर्ने ?”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले नेपालभाषा साहित्य तःमुंज्याद्वारा शनिबार आयोजित पुरस्कार वितरण तथा मायाको चिनो वितरण कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
राजनीतिक कार्यकर्ताहरू विभिन्न जिल्लामा गएर विभिन्न जनजातिका जनतामाझ पुगेर जनताको सेवा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पैसा बाँडेर, लोभलालच देखाएर होइन दलको सिद्धान्त र विचार जनतामाझ पु¥याएर जनतासँग भोट लिनुपर्ने बताउनुभयो ।
पैसा बाँडेर जितेका सांसद या जनप्रतिनिधिहरूले जनताको भावनाअनुसार सेवा नगरी निर्वाचनमा भएको खर्च उठाउन अनेक भ्रष्टाचार र अनियमितता गर्ने औँल्याउँदै उहाँले भन्नुभयो, “राजनीति एक क्षण, एक समयको निम्ति होइन लामो समयसम्म गरिरहनुपर्छ । महिलालाई राजनीतिकरूपमा प्रशिक्षित गर्न सके सन्तानहरू पनि प्रशिक्षित हुनेछन् ।”
देशमै अध्ययन गर्ने वातावरण र रोजगारीको बन्दोबस्त गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विदेशमा पढ्न गए पनि आफ्नो ज्ञान, अनुभव र सीप स्वदेशमै खर्चिनुपर्छ भन्नुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले सरकारमा पुगेकाहरू को को लेण्डुप दोर्जे हुन् भनी नेमकिपाले प्रश्न उठाउँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १९४७ को गोर्खा भर्ती र नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि खारेजीको विषय पनि नेमकिपाले उठाउँदै आएको हो । अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता नेपालको हितविपरीत भएको विषय पनि नेमकिपाले उठाउँदै छ ।”
“सरकारमा गएका दलहरूको आर्थिक विषय सार्वजनिक संस्थान निजीकरणको नाममा विदेशीलाई बिक्री गर्दै छ । सरकारहरूले ३०–३५ वर्षयता ११ वटा बढी सार्वजनिक संस्थान निजीकरणको नाममा बिक्री गरे । वर्तमान सरकारले पनि ११ ओटा सार्वजनिक संस्थान निजीकरण गर्ने बतायो । सरकारमा गएका दलहरूको विदेश मामिला विदेशी पुँजी ल्याउने र देशलाई नवउपनिवेश बनाउने भयो”, उहाँले थप्नुभयो ।
पार्टी अध्यक्ष बिजुक्छेँेको नेतृत्वमा २०१९–२० सालयता नेमकिपाले भ्रष्टाचारविरोधी आन्दोलन अघि बढाएको सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “२००७ सालको आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमालगायत सहिद र २०४६ सालको जनआन्दोलनमा राजकुमार श्रेष्ठ, कृष्णराम दुवाल, हरिकृष्ण भुजुलगायत युवाहरू सहिद हुनुभयो । परिवर्तनको नेतृत्व सिद्धान्त र विचारले गर्ने हो । नेपालमा सामन्तवादविरोधी आन्दोलनपछि अहिले पुँजीवादी सरकारहरू बने । उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने समाजवादी विचारले पुँजीवादी सरकारलाई उल्टाउनु अग्रगमन हो । नेपालमा नेका र एमाले तथा माओवादीले समाजवादको नारा दिई पुँजीवादी सरकार बनाए । नेपालीलाई देशभित्र रोजगारी दिनु पर्दछ, वैदेशिक रोजगारी पठाउनु उचित होइन ।”
सार्वजनिक सम्पत्तिमा आगजनीभन्दा पनि भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण हुने र ठुला भ्रष्टाचारी एवम् महिला बलात्कारपछि हत्यालगायत मानव अधिकारको गम्भीर उल्लङ्घन गर्नेहरूलाई मृत्युदण्ड समेतको सजाय हुने सरकारको अध्यादेशमा उल्लेख हुनु जरूरी भएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “निर्वाचनमा पैसा, सामान बाँड्ने र भोज खुवाउनेहरूको उम्मेदवारी खारेज हुने कानुनी व्यवस्थासमेतको अध्यादेश सरकारबाट जारी हुनुपर्दछ । सरकारमा गएर घोषणापत्रअनुसार काम नगरेका प्रतिनिधिहरूलाई फिर्ता बोलाउने र चुनावमा समेत उठ्न नदिने व्यवस्था पनि अध्यादेशमा हुनु आवश्यक छ । फ्रान्समा जनताविरूद्ध अत्याचार गरेका नेपोलियन परिवारलाई चुनावमा उठ्न नदिने व्यवस्था गरिएको थियो ।”
न्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी र उच्च अधिकारीहरू सम्बन्धित क्षेत्रबाट निर्वाचन गर्ने कानुनी व्यवस्थाले सुशासन कायममा मद्दत पु¥याउनेछ । सन् १९१२ मा रूसमा बोल्सेभिकहरूले यो व्यवस्थाको लागि आवाज उठाएका थिए, उहाँले थप्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “तत्कालीन प्रधानमन्त्री केपी ओलीले गएको भदौ २६ गते हेटौँडाको सुपारीटारस्थित सैनिक व्यारेकमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापतिसँगको छलफलमा नयाँ प्रधानमन्त्री नियुक्तिको सम्मति र सिफारिस गरेको हुँदा अहिले संसद् पुनःस्थापनाको विषय उठाएको सान्दर्भिक देखिएन । नेकाभित्र पनि संसद् पुनःस्थापनाको विषय उठेको सार्वजनिक भयो । तत्काललाई ताजा जनादेशको लागि निर्वाचन नै उपयुक्त निकास हो ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधान र कानुनको परिधिभित्र रहेर जनतासामु गरेको प्रतिबद्धताअनुसार भनपाले काम गरिरहेको बताउनुभयो ।
आर्थिकरूपमा कमजोर भएका विद्यार्थीलाई शैक्षिक ऋण दिएर उच्च शिक्षा हासिल गर्ने अवसर भनपाले प्रदान गरिरहेको उल्लेख गर्दै रोजगारीको निम्ति युवाहरूलाई विभिन्न रोजगारमूलक तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।
किसानहरूको हितको निम्ति प्रतिकिलो रू. १० को हिसाबले प्राङ्गारिक मल वितरण गरिरहेको उल्लेख गर्दै उहाँले स्थानीय जनताको श्रमदान, आर्थिक सहयोग र स्थानीय स्रोत साधनको अधिक प्रयोग गरी यहाँका असङ्ख्य सम्पदाहरूको पुनःनिर्माण, जीर्णोद्धार र मर्मत सम्भार गरिरहेको बताउनुभयो ।
नयाँ नयाँ कलेज स्थापना गरी ख्वप विश्वविद्यालय सञ्चालन गर्न लागिपरेको उल्लेख गर्दै उहाँले जनताको स्वास्थ्योपचार गर्न ३६५ दिन नै ख्वप अस्पताल सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले ख्वप अस्पतालमा अक्सिजन र रगत निःशुल्क प्रदान गरिरहेको स्पष्ट पार्नुभयो ।
वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले हालको सरकारको कार्यशैलीप्रति व्यङ्ग्य गर्दै र जीवन दर्शन दिने तथा जनताको भोक मेटाउने असल कार्यकर्ताको आवश्यकता बोध गराउँदै दुईटा कविता वाचन गर्नुभयो ।
सर्जन डा. सरोज धितालले असल शासकले जनताको असन्तोष थुपारेर होइन समयमै सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै माग सम्बोधन नहुँदा विस्फोट हुने र विस्फोटले देशकै सम्पत्ति क्षति हुने बताउनुभयो ।
व्यक्तिगत स्वार्थ छोडेर जनताको सेवा गर्ने देशभक्त नेताको आवश्यकता भएको स्पष्ट पार्दै उहाँले सरकारले सिङ्गो देशको निम्ति काम गर्नुपर्ने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबजारको सभापतित्वमा भएको उक्त कार्यक्रममा कवयित्री सुलोचना मानन्धरले ‘मेरो कविता’ शीर्षकको कविता वाचन गर्नुभएको थियो भने गायिका सरस्वती मानन्धरले गीत गाउनुभयो ।
४५ औँ नेपालभाषा साहित्य तःमुंज्याका आयोजक समितिका अध्यक्ष रवीन्द्र खर्बुजाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
नेपाल संवत् ११४६ को अवसरमा आयोजित भिन्तुना ¥यालीमा सहभागी टोली, मूल्याङ्कन समितिका सदस्य तथा नृत्य, नाटक र ख्याल विधामा प्रस्तुत उत्कृष्ट टोलीलाई पदक तथा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा वागीश्वरी मावि, प्रभात इङ्गलिस स्कूल, हिमालयन ग्लोरी इङ्गलिस स्कूल, आदर्श आजाद मावि, बासु मावि, गणेश मावि भार्वाचो, बाल विकास इङ्गलिस स्कूलका विद्यार्थी टोलीले नृत्य र लोकेश्वर साकोसको बाजा टोलीले बाँसुरीका धुन प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.