भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजनामा नगरपालिकाको सेवाप्रवाह र समसामयिक विषयमा आयोजित जानकारी सभा भक्तपुरको सूर्यमढी टोलमा बिहीबार सम्पन्न भयो ।
सभामा बोल्दै नगर प्रमुख प्रजापतिले नगरको शैक्षिक, स्वास्थ्य, विकास निर्माणलगायतका गतिविधिरुको जानकारी जनसभामार्फत दिने उद्द्ेश्यले कार्यक्रमको आयोजना गरिएको बताउँदै नगरको सन्तुलित विकासमा जनताको योगदान पनि महत्वपूर्ण रहेको बताउनुभयो ।भक्तपुर नपाले नपाका गतिविधिहरु पारदर्शि ढंगले सार्वजनिक गर्दै आएको बताउँदै उहाँले जनताको एक मनको एकताले भक्तपुरलाई आदर्श नगरको रुपमा विकास गर्न सहज भएको बताउनुभयो ।
भक्तपुरलाई संसारकै उत्कृष्ट नगरको रुपमा विकास गर्ने प्रयत्न गरिरहेको बताउँदै उहाँले विदेशी सहयोगविना नै भक्तपुरले आत्मनिर्भर ढंगले यहाँको विकास गरिरहेको बताउनुभयो ।
राजनीति पक्षपात, गुण्डागर्दी र ध्वंसात्मक गतिविधि गर्ने नभई जनताको इमानदारीपूर्वक सेवा गर्ने क्षेत्र भएको बताउँदै उहाँले जनताको साथ र सहयोगले भक्तपुरलाई उदाहरणीय नगरको रुपमा स्थापित गर्न सफल भएको बताउनुभयो ।
देको मिवा इतापाके आयोजनालाई छिटो भन्दा छिटो सम्पन्न गर्ने ढंगले आयोजनाले काम गर्दै आएको बताउँदै उहाँले आयोजनाविरोधी गतिविधि गर्नेहरुबाट जनता सचेत हुनुपर्ने र जनप्रतिनिधिको अपमान गर्नु भनेको जनताको पनि अपमान हो भन्नुभयो ।
भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सम्बन्धन दिने विषयमा पनि राजनीतिक चलखेल भइरहेको स्पष्ट पार्दै उहाँले भक्तपुर नगरपालिकाबाट सञ्चालित शैक्षिक संस्थाहरु र ख्वप अस्पताल स्थानीय तहबाट सञ्चालित उत्कृष्ट संस्थाहरु भएको बताउनुभयो ।
अन्तरिम सरकारले चुनावलाई शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गर्न सके मात्र देश स्थिर रहने बताउँदै उहाँले देशलाई दीर्घकालीन असर पुग्ने काम अन्तरिम सरकारले गर्न नहुने स्पष्ट पार्नुभयो ।
नेमकिपाले किसानहरुको मोहियानी हक सुनिश्चित गरेको स्मरण गर्दै उहाँले किसानको हक हितको निम्ति नपाले निरन्तर आवाज उठाउँदै आएको र किसानहरुलाई राजनैतिक रुपले संगठित पार्ने काम पनि गर्दै आएको बताउनुभयो ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नगरपालिकाले नगरको भौतिक विकाससँगै जनताको राजनैतिक र सांस्कृतिक स्तर उकास्ने काम गर्दै आएको बताउँदै नगरको सुरक्षालाई ध्यानमा राखी ठाउँ ठाउँमा सीसी क्यामेरा जडानमा जोड दिँदै आएको बताउनुभयो । भक्तपुर नपाले सञ्चालन गरेको आवास योजनाले नगरलाई सुन्दर र व्यवस्थित बनाएको बताउँदै उहाँले देको मिवा इतापाके आवास योजना तुलनात्मक हिसाबले अन्य आयोजनाभन्दा व्यवस्थित रहेको बताउनुभयो ।

भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले नगरपालिकाले जनताको सल्लाह र सुझावअनुसार नगरका गतिविधि अगाडि बढाउँदै आएके बताउँदै लिबाली आवास क्षेत्रमा खानेपानी समस्या समाधानको लागि वडाले विशेष पहल गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेक्राकिसंघ भक्तपुर जिल्ला समितिका अध्यक्ष गंगाराम ज्याख्व, नेमकिपा ९ का पार्टी इन्चार्ज कृष्णभक्त लवजूले नेमकिपाले जनताको हितमा गरिरहेको कामबारे अवगत गराउनुभयो ।
त्यस्तै ख्वप इ. कलेजका प्राचार्य इ. सुजन माक र ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले कलेज र अस्पतालको सेवा प्रवाहबारे अवगत गराउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य छोरीमैंया सजखू र स्थानीय रविन्द्रप्रसाद कुसीले पनि बोल्नुभएको थियो ।
