तेस्रो जुनियर फुटसल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम
२०८२ कार्तिक २७
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा संस्थागत विद्यालय संघ नेपाल (इसान) केन्द्रीय समितिको आयोजनामा इसान आबद्ध विद्यालयका विद्यार्थीहरको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्दै शारीरिक प्रतिभा छनोट गर्ने उद्देश्यले कार्तिक २५, २६ र २७ गते सम्पन्न तेस्रो जुनियर फुटसल प्रतियोगिताको समापन कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भयो । प्रतियोगितामा सूर्यदिप इ.स्कूल प्रथम, सिद्धि दास स्कूल द्धितीय, लिशा इ. स्कूल र प्रभात इ. स्कूल तृतीय भएका थिए ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले विद्यार्थीहरुको शिक्षा र खेलकुदमा संलग्नताले सफलता र समृद्धि हासिल गर्ने बताउँदै खेलकुदले विद्यार्थीहरुलाई शारीरिक, मानसिक र बौद्धिक रुपमा क्रियाशील र अनुशासित बनाउँछ भन्नुभयो ।भक्तपुर नगरपालिकाले २०८२ मंसिर २५ गतेदेखि विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्ने तयारी गरिरहेको बताउँदै उक्त प्रतियोगितामा ९२ वटै विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले एक विद्यालय एक खेलको अवधारणा लिएर भक्तपुर नपाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी यसको विकासमा विशेष जोड दिँदै आएको बताउँदै विद्यार्थीको निरन्तरको प्रयासले उसलाई सफलता हासिल गराउने बताउनुभयो ।
कार्यक्रमका सभापति इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले इसानले इसान आबद्ध विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुमा जोड दिँदै आएको बताउँदै विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट आफ्नो शरीरलाई स्वस्थ बनाई बौद्धिक रुपमा अब्बल हुने अवसर पनि यसबाट प्राप्त हुने बताउनुभयो ।
इसान भक्तपुरका जिल्ला अध्यक्ष कृष्णराम त्वानाबासुले इसानअन्तर्गतका विद्यार्थीहरुको क्रियाशीलताले इसानको गरिमा बढाएको छ भन्दै खेलकुदमा जित्दा दम्भ राख्ने र हार्दा निराश हुने होइन, सबै गतिविधि सिकाइको एउटा भाग हो भन्ने हिसाबले विद्यार्थीहरु अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
उक्त कार्यक्रममा प्रमुख प्रजापतिलगायतले प्रतियोगिताका विजेता तथा सहभागी विद्यार्थीहरुलाई शिल्ड, प्रमाणपत्र तथा मायाको चिनो वितरण गर्नुभएको थियो ।




