नगर प्रमुख प्रजापति र जलेश्वर नपाप्रमुख सुरेश साह सोनारबीच भेट
महोत्तरी । २०८२ कार्तिक १९, बुधबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र महोत्तरी जिल्ला जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारबीच आज जलेश्वरमा भेटघाट भयो । नगर प्रमुख प्रजापतिसहितको प्रतिनिधिमण्डललाई प्रमुख सोनारले खादा ओढाई जलेश्वर नगरपालिकामा स्वागत गर्नुभयो । भेटमा दुई नगरप्रमुखबीच भक्तपुर र जलेश्वरको सांस्कृतिक पर्यटन प्रवद्र्धन र सेवा प्रवाहबारे अनुभव आदानप्रदान भयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले न्यानो स्वागत तथा आतिथ्यताको लागि धन्यवादज्ञापन गर्दै जलेश्वर नगरपालिकाको सरसफाइ, पोखरी व्यवस्थापन विगतको तुलनामा सुधार भएको आफुले अनुभव गरेको बताउँदै आर्थिक रुपले सक्षम भएमात्रै नगरको विकास गर्न सहज हुने बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर पनि धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले अत्यन्त सुन्दर र आकर्षक नगर भएको बताउँदै जनताले तिरेको कर र पर्यटकहरुबाट केही सेवा शुल्क वापत उठेको रकम पालिकाको आन्तरिक श्रोतबाट पर्यटन, शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रको काम गर्दै आएको बताउनुभयो ।प्रमुख सोनारले स्थानीय तह अधिकार सम्पन्न हुन सके मात्र नगरको विकास द्रुत गतिमा अगाडि बढ्ने बताउँदै महोत्तरी जिल्लाको सदरमुकामको रुपमा रहेको जलेश्वर नपाको स्थापना २०३९ मा भएको बताउनुभयो ।
जनसंख्या ४० हजारको हाराहारीमा रहेको र हाल १२ वडा विभाजित जलेश्वर नपामा खासै ठूलो व्यापारिक कारोबार नरहेको बताउँदै उहाँले जलेश्वर मन्दिर सिंगो जनकपुर भेगकै प्रसिद्ध तीर्थस्थलको रुपमा प्रसिद्ध रहेको बताउनुभयो ।
भेटपश्चात दुई नगर प्रमुखबीच उपहार र मायाको चिनो आदानप्रदान भयो ।
उक्त भेटमा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, कार्यपालिका सदस्य रोशनमैंया सुवाल र जलेश्वर नपाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।



