‘आर्थिक अवस्था कमजोर भएको परिवारका सन्तानहरुको उच्च शिक्षाको लागि भक्तपुर नगरपालिका अभिभावक बन्छ । नगरपालिकाले नगरवासी विद्यार्थीलाई उच्च शिक्षाका लागि शैैक्षिक ऋण प्रदान गर्न १७ करोड रुपैया र नगरपालिका अन्तर्गतका कलेजहरुमा वाषर््िाक साढे ४ करोड रुपैया खर्च गरिरहेको छ । नयाँ पुस्ताको उज्ज्वल भविष्यका लागि सदैव भक्तपुर नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्छ ।’
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार आयोजित नयाँ पुस्ताका विद्यार्थीहरुको भेलामा उपर्युक्त धारणा व्यक्त गर्नुभएको हो । भनपा ९ नं. वडा कार्यालयको आयोजनामा नपाबाट शैक्षिक ऋण प्राप्त गरेका वडावासी विद्यार्थी र अभिभावकहरुको भेला तथा मार्गनिर्देशन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले शैक्षिक ऋणबाट अध्ययन पूरा गरेका विद्यार्थीहरुले क्रमशः ऋण चुक्ता गरिरहेको र हालसम्म करिब साढे ३ करोड रुपैया फिर्ता आएको समेत जानकारी दिनुभयो । उहाँले भक्तपुरका जनता इमान्दार र अनुशासित रहेको सन्देश देशभरि गइरहेको चर्चा गर्दै अग्रज किसान कार्यकर्ताहरुको कडा मेहनत र परिश्रमकै कारण नयाँ पुस्ताले शिक्षा र स्वास्थ्य उपचारको सेवा प्राप्त गरेको बताउनुभयो ।उहाँले नयाँ पुस्तालाई अग्रजप्रति सम्मान गर्ने संस्कारसहितको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै समाजवादी व्यवस्थामा देश र समाजप्रति जिम्मेवार हुने र इमान्दारिपूर्वक जनताको सेवा गर्ने उच्च संस्कार सिकाइने बताउनुभयो ।
प्रमुख प्रजापतिले एनजिओ–आइएनजिओमार्फत विदेशी शक्तिराष्ट्रहरुको स्वार्थअनुकूलको सरकार गठन भएको र देशको सार्वभौमिकता कमजोर बनिरहेको अवस्थामा एक एक गर्दै देशघाती निर्णय गराउन खोजेको उल्लेख गर्दै नयाँ पुस्ता देश जोगाउन सक्षम बन्नुपर्छ भन्नुभयो ।
वडा नं. ९ का अध्यक्ष रविन्द्र ज्याख्वले नगरपालिकाको शैक्षिक ऋण प्राप्त गर्ने प्रकृयाबारे जानकारी दिनुभयो । उहाँले नगरवासीहरुको करबाट उठेको रकम नै विद्यार्थीहरुले ऋणस्वरुप पाइरहेको उल्लेख गर्दै नगरवासीहरुको भावनाअनुसार नयाँ पुस्ता अनुशासित र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।स्थानीय विद्यार्थी अगुवा सुजी हेङ्गवजूले जेनजी पुस्तामा आलोचनात्मक दृष्टिकोणको विकास हुनुपर्ने बताउनुभयो । आन्दोलनको नाममा जेनजी पुस्तालाई अगाडि सारेर स्वार्थ समूहको घुसपैठका कारण धेरै युवाहरुको ज्यान जानुका साथै सार्वजनिक सम्पतिमाथि आगजनी भएको चर्चा गर्दै उहाँले राजनैतिक सचेतता र संगठित शक्तिविनाको संघर्ष बलिदानमा टुंगिने र उपलब्धीहीन हुने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य छोरीमैया सुजखू र वडा सदस्य इन्द्रबहादुर प्याथले पनि बोल्नुभयो । सहभागी विद्यार्थी र अभिभावकहरुबाट नगरपालिकाले प्रदान गरेको शैक्षिक ऋणको कारण उच्च शिक्षा हासिल गर्ने अवसर प्राप्त भएकोमा धन्यवाद ज्ञापन गर्दै नगरपालिका र नगरवासीहरुका लागि आवश्यकता अनुसार योगदान गर्न चाहेको धारणा व्यक्त भएको आयोजकले बताएको छ । नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्वबोध गराउने गतिविधिहरु गरिरहनुपर्नेमा विद्यार्थीहरुको जोड थियो ।