बासु माविका अवकाशप्राप्त शिक्षक प्रेमकुमार मगरको बधाई तथा बिदाइ कार्यक्रम
भक्तपुर । २०८२ असोज ३१

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउन भक्तपुरका विद्यालय र शिक्षकहरुको भूमिका उल्लेखनीय रहेको बताउनुभयो ।
बासु माध्यमिक विद्यालयबाट अनिवार्य अवकाश प्राप्त लगनशील, कर्तव्यनिष्ठ शिक्षक प्रेमकुमार मगरको बिदाइ कार्यक्रममा बोल्दै उहाँले ३० वर्षसम्म भक्तपुरको शैक्षिक विकासमा अनवरत रुपमा पुर्याउनुभएको योगदान र सेवा सदा स्मरणीय रहने बताउनुभयो ।
शिक्षण पेशा आफैमा मर्यादित र सम्मानित पेशा भएको बताउँदै उहाँले अवकाश प्राप्त शिक्षकहरुले आफ्नो शैक्षिक जीवनको भोगाई र अनुभूतिलाई लिपिबद्ध गरी नयाँ पुस्तालाई मार्गनिर्देश गर्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले राज्यले कानुनी रुपमा अवकाश प्राप्त भनी बिदा गरे पनि अनुभवी शिक्षकहरुलाई पुनः विशेषज्ञको रुपमा राख्न सकिने बताउँदै उहाँले शिक्षकहरुले विद्यार्थीहरुलाई किताबी ज्ञान सँगसँगै व्यवहारिक ज्ञान पनि प्रदान गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।कार्यक्रममा बासु माविका प्रधानाध्यापक रविलाल प्रधानले शिक्षक प्रेमकुमार मगर बासु माविका नेपाली शिक्षकको रुपमा लामो समय अध्यापनरत रहेको बताउँदै उहाँ स्पष्ट वक्ता, सरल व्यवहार र सहयोगी भावना भएको व्यक्तित्वको रुपमा चिनिनुहुने बताउनुभयो । विद्यालयको शैक्षिक प्रगतिमा उहाँले पुर्याउनुभएको योगदानको लागि धन्यवादज्ञापन गर्दै प्रअ प्रधानले आगामी जीवनलाई सामाजिक गतिविधिमा क्रियाशील बनाउन आग्रह गर्नुभयो ।
अवकाश प्राप्त शिक्षक प्रेमकुमार मगरले बासु माविमा आफ्नो ३० वर्षे शैक्षिक अनुभव सुनाउँदै बासु माविका सबल पक्षमाथि प्रकाश पार्नुभयो । बासु माविलाई भक्तपुर नगरपालिकाले गरेको साथ र सहयोगको पनि स्मरण गर्दै उहाँले विद्यालयले सामाजिक सम्बन्धलाई राम्रो बनाउँदै विद्यालयको प्रगति गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा बासु माविका सहायक प्रअ राजकुमार ह्यौंमिखाले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका सदस्य गणेशप्रसाद सुवाल, बासु मावि इन्चार्ज रामकुमार निरौला र प्रावि इन्चार्ज विष्णुप्रसाद दुमरुले शिक्षक मगरको शैक्षिक विशेषता र योगदानबारे प्रष्ट पार्नुभयो ।
नगर प्रमुख प्रजापतिले अवकाश प्राप्त शिक्षक मगरलाई दोसल्ला ओढाएर, सम्मान पत्र र मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउन भक्तपुरका विद्यालय र शिक्षकहरुको भूमिका उल्लेखनीय