भक्तपुर नगरपालिकाको आयोजनामा भएको सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक–शिक्षिकाहरुलाई ६ दिने भलिबल प्रशिक्षक तालिमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भलिबल नेपालको राष्ट्रिय खेल भएको बताउँदै भक्तपुर नगरपालिकाले विद्यालयका शिक्षकहरुलाई तालिम दिई विद्यार्थीको बौद्धिक र मानसिक विकासमा टेवा पु¥याउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
जेनजी आन्दोलन पछि देश राजनैतिक संकटमा पुगेको र देशको अवस्था झन् झन् जटिल बन्दै गएको बताउँदै उहाँले विदेशी सहयोग देशलाई घातक छ भन्ने कुरा देशको राजनीतिक घटनाक्रमले प्रष्ट बनाउँदै लगेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले तालिम आयोजना गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै तालिमलाई जीवनउपयोगी बनाउने प्रयास शिक्षकहरुबाट हुन जरुरी रहेको बताउनुभयो ।
नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष गौतमप्रसाद लासिवाले नेपालमा भलिबल खेलको लोकप्रियता दिन प्रतिदिन बढिरहेको बताउँदै भलिबलको विकासमा सरकार भने उदासीन रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा खेलकुद समितिका सदस्यद्वय उपेन्द्र सुवाल र रञ्जना त्वातीले पनि बोल्नुभएको थियो । भलिबल प्रशिक्षक तालिममा नगरभित्रका २८ वटा विद्यालयका ३२ जना शिक्षकहरुको सहभागिता रहेको थियो । नगर प्रमुख प्रजापतिले सहभागी शिक्षकहरुलाई ट्रयाक सुट वितरण गर्नुभएको थियो ।










